पत्थरको रजस्वला
देवता ठानेर शिरमा रगत चढाएँ
द्वीप बालेँ
ताकि जीवन रंगीन होस् भनेर
तर तिमी पत्थर रहेछौ,
पत्थर तिमी महान् छौ ।
मुर्दाहरूको शौचालयमा
मार्बल बनेर टल्किन पनि जान्ने
सिंगमरमर बनेर
दरबारको भित्ताहरूमा
झल्किन पनि जान्ने
बिस्तारा मुनिको भुईँमा
टायल बनेर सजिन पनि जान्ने
सल्किन पनि जान्ने
पल्किन पनि जान्ने
अरे वाह,
पत्थर तिमी महान् छौ ।
तिमी गाउँमा,
घरको छानो बन्न पनि सक्छौ
सहरमा,
महलको खम्बा बन्न पनि सक्छौ
कतै झाडी अनि गल्लीहरूमा
मूर्ति बन्न सक्छौ मन्दिरहरूमा
पहिरो ल्याउन सक्छौ कसैको घरमा
वाह पत्थर तिमीलाई सलाम छ,
तिमी महान् छौ ।
न जन्मिनुको तिमीलाई अर्थ छ
न जन्माइनुको,
न बाँच्नुको लाज छ तिमीलाई
न बचाउनुको।
कुल्चिदा पनि दुख्दैन तिमीलाई
मूर्तिका लागि कुद्दा पनि दुख्दैन
न आकारको महसुस हुन्छ तिमीलाई
न चोटको,
यति सहन सक्ने त
फुल हुनु पर्थ्यो नि
किन पत्थर बनेको ?
चिहानमा भेटिँदा पनि चोखो तिमी
बिहानमा भेटिँदा पनि चोखो
वाह पत्थर तिमी महान् छौ ।
मन्दिरले बहिष्कार गर्दा पनि शुद्ध
मुर्दाले स्वागत गर्दा पनि शुद्ध
मलाई थाहा छ,
म हिँड्ने बाटो पनि पत्थरले बनेको छ
तिमीलाई कुल्चिनु पर्छ भनेर
म त्यो बाटो कहिले हिँडिन
तिमीलाई दुख्छ भनेर
पैतला कहिले भुईँमा राखिन
किनकि
तिमी त्यही महान् पत्थर हौ
जसको रजस्वला हुँदा,
म अत्तालिएको थिएँ
रोकिँदा म छटपटिएको थिएँ ।
तिमी त निर्जीव न पर्यो
बस् पर्खाल बनेर
उभिन सक्छौ मेरो छातीमाथि
तर भर्याङ बनेर
चढ्न सक्दैनौ मेरो मस्तिष्कमाथि
ठोकिन सक्छौ किनारमा
अविरल नदीका छालहरूसँग
तर बग्न सक्दैनौ
पुल बनेर मेरो मुटुमाथि
मेरी पत्थर,
धेरै चिसिएको छ मन
तताउन सक्दैनौ तिमी
जलेर आगो बने पनि
हुन त तिम्रो सुन्ने कान छैन
हेर्ने आँखा छैन
तर पनि भन्छु,
अन्तिम पटक
रोकिने र भेटिनेको भर राख
ठोकिने र मेटिनेको डर राख
पत्थर तिमीलाई सलाम
तिमी महान् छौ ।
तिमी महान् छौ ।।
हालः न्यूयोर्क