आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मकवानपुरमा राजश्व सङ्कलनमा गिरावट

शनिबार, २५ चैत २०७९, २१ : ०५
शनिबार, २५ चैत २०७९

मकवानपुर । देशमा कायम रहेको आर्थिक सङ्कटका कारण सरकारको राजश्व सङ्कलनमा पनि गिरावट आएको छ । देशको मुख्य आयस्रोतको रूपमा रहेको राजश्व सङ्कलनमा आर्थिक सङ्कटका कारण समस्या देखिएको हो । सोही कारण सरकारको विभिन्न स्थानमा रहेको राजश्व सङ्कलन कार्यालयले सोचे अनुसार राजश्व सङ्कलन गर्न सकेका छैन ।

आर्थिक सङ्कटका कारण चालु आर्थिक वर्षमा आन्तरिक राजश्व कार्यालय मकवानपुरको राजश्व सङ्कलनमा गिरावट आएको छ । कार्यालयले चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्ममा निर्धारण गरेको लक्ष्य भन्दा कम राजश्व सङ्कलन गरेको हो ।

विगत वर्षहरूको तुलनामा मकवानपुरका विभिन्न व्यावसायिक प्रतिष्ठान र उद्योगहरूले दाखिला गर्दै आएको राजश्वमा गिरावट आएको आन्तरिक राजश्व कार्यालय हेटौँडाले जनाएको छ । कार्यालयले चालू आर्थिक २०७९/०८० को दोस्रो चौमासिक अर्थात् फागुन मसान्तसम्म ४ अर्ब ४ करोड ३८ लाख रुपैयाँ मात्र राजश्व सङ्कलन गरेको आन्तरिक राजश्व कार्यालय हेटौँडाका सूचना अधिकारी अवधेशकुमार यादवले जानकारी दिए ।

कार्यालयले चालु आर्थिक वर्षका लागि राजश्व सङ्कलनको लक्ष्य ७ अर्ब ५० करोड निर्धारण गरेको थियो । कार्यालय लक्ष्य अनुसार राजश्व सङ्कलन गर्न आर्थिक वर्षको अन्तिम चौमासिक अर्थात् (४ महिना भित्र) करिब ४ अर्ब रुपैयाँ राजश्व सङ्कलन गर्नु पर्ने हुन्छ । उनका अनुसार कार्यालयले राजश्व सङ्कलनको लक्ष्य पुरा गर्न आगामी असार मसान्तसम्ममा ३ अर्ब ९६ करोड रुपैयाँ भन्दा बढी रकम सङ्कलन गर्नुपर्ने हुन्छ ।

कार्यालयले चालू आर्थिक वर्षको दोस्रो चौमासिक अर्थात् फागुन मसान्तसम्म ४ अर्ब ३५ करोड ९ लाख ४० हजार रुपैयाँ राजश्व सङ्कलनको लक्ष्य लिएको भए पनि ९२.९४ प्रतिशत (४ अर्ब ४ करोड ३८ लाख रुपैयाँ) सङ्कलन भएको सूचना अधिकारी यादवले बताए । उक्त समयावधिमा कार्यालयले लक्ष्य भन्दा ७ प्रतिशत बढीले राजश्व सङ्कलनमा गिरावट आएको उनको भनाई छ ।

कार्यालयले चालू आर्थिक वर्षको फागुन महिनामा मात्र ५२ करोड ८८ लाख ७१ हजार रुपैयाँ राजश्व सङ्कलनको लक्ष्य लिएको भए पनि ५० करोड ६३ लाख ८७ हजार रुपैयाँ अर्थात् ९५.७५ प्रतिशत राजश्व सङ्कलन गर्न सफल भएको सूचना अधिकारी यादवले बताए । कार्यालयले फागुन मसान्तमा मात्र लक्ष्य भन्दा ४ प्रतिशत भन्दा बढीले राजश्व सङ्कलनमा असफलता व्यहोरेको छ ।

कार्यालयले अन्तःशुल्क र व्याजकर शीर्षकमा मात्र लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गर्न सकेको छ भने अन्य सम्पूर्ण शीर्षकमा लक्ष्य पूरा गर्न सकेको छैन । कार्यालयले आर्थिक वर्षको सुरुवातदेखि फागुन मसान्तसम्मको अवधिमा आयकरबापत ५८ करोड ५९ लाख (७६.५५ प्रतिशत), घरबहाल करवापत १ करोड ३ लाख (४३.७१ प्रतिशत), व्याजकरवापत ४ करोड ७३ लाख रुपैयाँ (१०५.३५ प्रतिशत) राजश्व सङ्कलन गरेको छ भने मूल्य अभिवृद्धि करतर्फ ६० करोड १६ लाख (७७.४२ प्रतिशत), अन्तःशुल्कतर्फ २ करोड ३८ लाख (१०२.८९ प्रतिशत), स्वास्थ्य करतर्फ ४२ करोड १४ लाख (९८.१० प्रतिशत), शिक्षाकारतर्फ ४ हजार रुपैयाँ मात्रै सङ्कलन गरेको कार्यालयले जनाएको छ ।

विगत तीन वर्षको राजश्व सङ्कलनको तथ्याङ्क हेर्दा कार्यालयले कोरोना सङ्क्रमण भित्रिएको वर्षपछि दोस्रो पटक लक्ष्यभन्दा कम राजश्व सङ्कलन गरेको हो । कार्यालयले कोरोना संक्रमणको जोखिमका कारण उद्योग व्यवसाय ठप्प हुँदा लक्ष्य भन्दा १८ प्रतिशत भन्दा बढी राजश्व गुमाएको थियो । उक्त वर्ष कार्यालयले ८२ प्रतिशत मात्र राजश्व सङ्कलन गरेको थियो । कोरोना सङ्क्रमणका कारण कार्यालयले आर्थिक वर्ष २०७६/०७७ मा ४ अर्ब ८८ करोड ७२ लाख रुपैयाँ (८२.१४ प्रतिशत) राजश्व सङ्कलन गरेको थियो । उक्त वर्ष कार्यालयले ५ अर्ब ८२ करोड ८५ लाख राजश्व सङ्कलनको लक्ष्य लिएको थियो ।

कोरोना सङ्क्रमणको दोस्रो वर्षमा कार्यालयले लक्ष्य भन्दा करिब ११ प्रतिशत बढी राजश्व सङ्कलन गरेको थियो । कोरोना सङ्क्रमणको जोखिमका बिच केही समय व्यवसायहरू बन्द गर्नुपर्ने परिस्थिति रहँदाको बखत पनि कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा ११०.९६ प्रतिशत राजश्व सङ्कलन गरेको थियो । उक्त वर्ष कार्यालयले ५ अर्ब ९९ करोड १४ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको थियो । सो वर्षका लागि कार्यालयले ५ अर्ब ३९ करोड ९५ लाख रुपैयाँ राजश्व सङ्कलनको लक्ष्य लिएको थियो ।

कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा पनि लक्ष्य भन्दा १० प्रतिशत बढी राजश्व सङ्कलन गरेको थियो । कार्यालयले उक्त वर्ष ११०.११ प्रतिशत बढी राजश्व सङ्कलन गरेको थियो । सो वर्ष ५ अर्ब ७० करोड ९ लाख राजश्व सङ्कलनको लक्ष्य लिएकोमा ६ अर्ब २७ करोड ७४ लाख रुपैयाँ राजश्व रकम सङ्कलन गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप