आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अन्तर्क्रिया

भारतीय निर्देशक डा. चन्द्रप्रकाश द्विवेदीसँग ‘चाणक्य’को चर्चा

‘मूल भारतीय परम्परा धेरै खुला थियो, अचेल प्रेमी–प्रेमिका खुला बगैँचामा घुम्दा विरोध जताइन्छ’
आइतबार, २६ चैत २०७९, ०९ : ०७
आइतबार, २६ चैत २०७९

धर्म, संस्कार, संस्कृति र सिमानाले जोडिएका दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउन फिल्म कस्तो माध्यम बन्न सक्ला ? हामीकहाँ यस्तो बहस आम रूपमा भएको पाइँदैन ।  

१९ चैतको साँँझ ललितपुरको कोपुन्डोलस्थित होटल हिमालयमा भारतका प्रसिद्ध निर्देशक, अभिनेता तथा स्क्रिप्ट राइटर डा. चन्द्रप्रकाश द्विवेदीसँग अन्तर्क्रियात्मक कार्यक्रम गरियो । ‘स्वामी विवेकानन्द कल्चरल सेन्टर’ काठमाडौंको निम्तोमा नेपाल आएका द्विवेदीसँगको अन्तर्क्रिया उनको पेसागत अनुभव र खासगरी ‘आचार्य चाणक्य’माथि केन्द्रित रह्यो । 

कार्यक्रममा द्विवेदीको स्वागतमा नेपाली अभिनेता राजेश हमालले मन्तव्य राखेका थिए । अंग्रेजीमा राखेको उनको मन्तव्यमा एउटा शब्द परेको थियो– ‘सफ्ट डिप्लोमेसी’ । 

rajesh hamal (1)

उनले द्विवेदीको कामको चर्चा गरिसकेपछि भनेका थिए, ‘हामीले मुम्बईका कलाकारलाई चासो दिन्छौँ । साधारणतः हाम्रो धर्म, संस्कृति, भाषा एकै खालका छन् । यस्तै कुराले दुई देशलाई जोडेको छ । यसलाई हामी ‘सफ्ट डिप्लोमेसी’ भन्न सक्छौँ । मानिस मानिसबीच सम्बन्धलाई बलियो बनाउन संस्कृतिले निकै ठूलो भूमिका निर्वाह गर्छ । राजनीतिभन्दा विपरीत ढंगले कला मन–मुटु, भावनाबाट सिर्जित हुन्छ । केही कुराले तपाईंको मन–मुटुलाई छोएको छ भने त्यो तपाईंबाट निकाल्न धेरै गाह्रो हुन्छ ।’

द्विवेदीले आफ्नो आउँदो फिल्मका लागि नेपालमा अडिसन लिने घोषणा गरे, नेपालबाट केही कलाकार बम्बई लिएर जाने पनि प्रण गरे ।

अन्तर्क्रिया कार्यक्रम बीच–बीचमा भिडियो क्लिप देखाउँदै अगाडि बढेको थियो । कार्यक्रमको अन्ततिर, भारतीय फिल्ममा नेपाली कलाकारले निभाएको भूमिका, भारतीय गायक–गायिकाले नेपाली गीत गाएको आदि भिडियो क्लिप प्रस्तुत गरियो । क्लिप देखाउनुअघि कार्यक्रममा उपस्थित मनिषा कोइरालाकी आमाका लागि तालीले सम्मान गरियो । 

कार्यक्रममा अभिनेता भोला सापकोटा (जसले हिन्दी चलचित्र बर्फीमा अभिनय गरेका छन्), अभिनेत्री सुरक्षा पन्त, नेपाल आइडल रवि ओड लगायतको नाम लिइएको थियो । औपचारिक कार्यक्रम गर्दा खासगरी कलाकारलाई सम्मान गर्ने, दुई देशको मित्रता प्रस्ट्याउने भारतीय शैली प्रशंसनीय लाग्छ । 

भिडियो क्लिप देखाएपछि द्विवेदीलाई सोधियो– फिल्मका माध्यमबाट नेपाल–भारतको प्रगाढ सम्बन्धलाई थप मजबुत बनाउन कसरी सकिएला, सँगसँगै नेपालको पर्यटन विकासका लागि थप के गर्न सकिएला ? 

यस प्रश्नको जवाफ दिने क्रममा द्विवेदीले आफ्नो आउँदो फिल्मका लागि नेपालमा अडिसन लिने घोषणा गरे, नेपालबाट केही कलाकार बम्बई लिएर जाने पनि प्रण गरे ।

chandra prakash dwedi (1)

‘चाणक्य’मा केन्द्रित बहस

खासगरी नेपाल र भारतमा ‘किङ मेकर’ (नेता जन्माउने) र अर्थशास्त्रको प्रसंग उठ्दा आचार्य चाणक्यको नाम लिने गरिन्छ । मौर्य साम्राज्यका संस्थापक चन्द्रगुप्तका गुरु आचार्य चाणक्यले लेखेको कौटलीय अर्थशास्त्र र चाणक्यनीति विश्वप्रसिद्ध छन् । 

हेमचन्द्रले लेखेको ‘अभिधानचिन्तामणि’मा उल्लेख भए अनुसार, आचार्य चाणक्यका नाम निम्न छन्– वात्स्यायन, मल्लनाग, कुटल, चाणक्य द्रामिल, पक्षिलस्वामी, विष्णुगुप्त र अंगुल ।  

डाक्टर (चिकित्सा) पढेर डाइरेक्टर (चलचित्र निर्देशक) बन्न पुगेका द्विवेदीको निर्देशन, अभिनय र लेखन रहेको चाणक्य सिरिज (सन् १९९१) चर्चित छ । यसपछि उनले सन् १९९६ मा ‘मृत्युञ्जय’ (सिरिज), सन् १९९७ मा ‘एक और महाभारत’ (सिरिज), सन् २००३ मा ‘पिन्जर’ (फिल्म), सन् २०१२ मा ‘उपनिषद् गंगा’ (सिरिज), सन् २०१४ ‘जेड प्लस’ (फिल्म), सन् २०१८ मा ‘मोहल्ला अस्सी’ (फिल्म), सन् २०१९ मा ‘सुराज्य संहिता’ (सिरिज) र सन् २०२२ मा सम्राट पृथ्वीराज (फिल्म) निर्देशन गरे । उनका अधिकांश काम प्राचीन कथा र इतिहासमा आधारित छन् ।

अखण्ड भारतका निर्माता आचार्य चाणक्यमै बढी केन्द्रित रहेर अगाडि बढेको आइतबारको अन्तर्क्रिया भारत विभाजनको कथा समेटेको फिल्म ‘पिन्जर’सम्म पुग्यो । 

अन्तर्क्रिया आचार्य चाणक्यकै बारेमा बढी केन्द्रित रह्यो । चाणक्यलाई कुटिल र महान् दुवै मान्नेहरू छन् । चाणक्यका विषयमा केही विरोधाभास पनि छन् ।

द्विवेदीलाई कार्यक्रमको सुरुवातमा सोधिएको थियो– तपाईंंको बाल्यकाल कस्तो रह्यो, पारिवारिक पृष्ठभूमि कस्तो थियो ?

राजस्थानमा जन्मेर महाराष्ट्रबाट पढाइ अगाडि बढाएका द्विवेदीले आफ्नो बाल्यकाल र पारिवारिक पृष्ठभूमिको चर्चा गरे । उनका पिता संस्कृतका प्राध्यापक थिए, यसले गर्दा बाल्यकालमै संस्कृत साहित्यका पुस्तक छुन र छाम्न उनका लागि सहज थियो । ‘लघुसिद्धान्त कौमुदी, कालिदासका नाटक, कठोपनिषद् आदि मैले बाल्यकालमा देखेको थिएँ । यी किताब पढेको पनि थिएँ, तर सम्झन सकिरहेको थिइनँ,’ उनले भने, ‘मलाई घरदेखि नै साहित्य पढ्ने वातावरण थियो । अर्कोतिर मैले स्कुलबाट भागी–भागी सिनेमा हेर्थें । बाल्यकालमा स्कुलबाट भागेर परेस रावल अभिनीत नाटक पनि हेरेको थिएँ ।’ 

कार्यक्रम अघि नै उनलाई भनिएको रहेछ, यी यी भिडियो क्लिप देखाइँदैछ । उनले भनेछन्– तपाईं मेरो खराब काम नेपाली दर्शकलाई देखाउँदै हुनुहुन्छ ? उनी भन्दै थिए, ‘म त्यसभन्दा धेरै अघि गइसकेको छु ।’ आफ्ना कामको भिडियो क्लिप आउँदा उनले हेरेनन्, सुनिरहे । 

अन्तर्क्रिया आचार्य चाणक्यकै बारेमा बढी केन्द्रित रह्यो । चाणक्यलाई कुटिल र महान् दुवै मान्नेहरू छन् । चाणक्यका विषयमा केही विरोधाभास पनि छन् । यही पृष्ठभूमिसहित द्विवेदीलाई सोधियो– तपाईंले चाणक्यलाई नायक कसरी बनाउनुभयो ? 

चाणक्यले भारतलाई राजनीतिक रूपमा जोडेको चर्चासहित द्विवेदीले भने, ‘आज हामीले राजनीतिक र सांस्कृतिक भारतको जस्तो कल्पना गर्छौं, यसमा जनकका रूपमा धेरै ऋषि छन्, जसमध्ये चाणक्य पनि एक हुन् । त्यसैले हामीले उनलाई ऋषि मान्छौँ, कुटिल मान्छौँ । किनकि उनले कार्यसिद्धिमा विश्वास गर्थे ।’ 

chandra prakash dwedi (3)

चाणक्यको पहिलो शृंखला वा पहिलो दृश्य नै वसन्त उत्सवबाट सुरु भएको छ । द्विवेदीलाई सोधिन्छ– हाम्रो संस्कृतिमा वसन्त ऋतु र वसन्त उत्सवको के महत्त्व छ ?

उनले भने, ‘तपाईंहरूलाई थाहा छ, मदन को हुन् ? मदन कामदेव हुन् । अचेल प्रेमी–प्रेमिका खुला बगैँचामा घुम्दा विरोध जताइन्छ र यस्ता गतिविधिलाई भारतीय परम्परा मानिँदैन । परन्तु, मूल भारतीय परम्परा धेरै नै खुला थियो । वसन्त उत्सव त्यसैको एक स्वरूप हो । जसलाई मदनोत्सव पनि भनिन्छ ।’

भरतनाट्यममा उल्लेख छ– चार वेद स्त्री र शूद्रलाई सुनाउन योग्य नभएकाले पाँचौँ वेद सृष्टि गरियो, जुन वेद धर्म, अर्थ, कीर्ति, कारक र उपदेशले समेत युक्त छ । 

मानिसले यो गर्दिनँ, त्यो गर्दिनँ भनी प्रण गरे पनि त्यसलाई कामदेवले तोडिदिने उनको विश्वास थियो । उनले कामसूत्रको समेत चर्चा गर्दै भने, ‘मानिसको प्रण तोडिदिने काम कामदेवले हाम्रा देवीदेउता सबैसँग गरे । वसन्त उत्सव यति सुन्दर हुन्थ्यो, त्यसको भोलिपल्ट प्रेमी–प्रेमिकाले आफ्ना मित्रलाई आफूले गएको रात आफ्नो साथीसँग के के गरेँ भनी बताउँथे । यसमाथि लेखिएका निकै कविता छन् ।’ 

उनका अनुसार, नङको अलग–अगल आकार बनाइएको हुन्थ्यो । प्रेमिकाले आफ्नी संगीहरूलाई बताउँथे– हेर, मेरो प्रेमी कति रसिक छ । उसले कसरी–कसरी ममा नङको छाप छाडेको छ । ‘आज हामीलाई यो अश्लील लाग्न सक्छ,’ द्विवेदीले भने, ‘तर, यो शृंगार हो । भारतमा वसन्त उत्सवलाई लिएर अद्भुत परम्परा छन् । भन्नुको तात्पर्य यही हो कि जुन कुरा आम रूपमा छुट हुँदैन, त्यो छुट वसन्त उत्सवमा मिल्छ ।’ 

यसपछि द्विवेदीलाई चार पुरुषार्थ (धर्म, अर्थ, काम र मोक्ष)को सम्बन्धमा सोधिन्छ । कामको विषयमा कुरा सुरु गर्नुअघि उनी भन्छन्– ‘यहाँ राजेशजी (अभिनेता राजेश हमाल) बस्नुभएको छ... ।’

IMG_7174

दर्शक दीर्घाको अघिल्लो खण्डमा बसेका हमालबाट ठट्ट्यौलो पारामा आफूलाई ‘काम’सँग नजोड्न आग्रह गरेजस्तो सुनियो, (उनले माइकबिना बोलेकाले भन्न खोजेको प्रस्ट सुनिँदैन) । हमालको बोलीसँगै हाँसोले हल गुञ्जायमान भयो ।

यसपछि द्विवेदीले प्रसंग बदल्दै नाट्यशास्त्र र नाट्य विधा प्रारम्भको चर्चा गरे । उनका अनुसार, मानव इन्द्रीयलाई वशमा राख्न इन्द्रलाई यस्तो शास्त्र आवश्यक पर्छ, जसबाट मानिसलाई केही उद्बोधन गर्न वा सिकाउन सकियोस् र मनोरञ्जन पनि होस् । यसका लागि उनी ब्रह्मलाई भेट्न जान्छन् । ब्रह्मले देवासुर संग्राम, अमृतमन्थन नाटक देउताहरूलाई मञ्चन गर्न दिए । ‘तर, स्टेज फेयर (मञ्च भय)का कारण देवताहरूले यस नाटक मञ्चन गर्न मानेनन्,’ द्विवेदीले भने, ‘भरतमुनिका सय पुत्रले सबैभन्दा पहिले यस नाटकलाई मञ्चनका लागि तयार गरे । भरतमुनिले यस नाटकलाई ब्रह्मजीकै अगाडि मञ्चन गरेका थिए । तर यो नाटक देखेर ब्रह्म उदास भए । ब्रह्मले भने– यो नाटकमा रस छैन । किनभने त्यसमा एक पनि महिला कलाकार थिएनन् । स्त्री नभएको नाटकमा रस हुँदैन । ब्रह्मले नाटक खेलाउनका लागि २४ अप्सरा दिए, नाटकमा नाचगान पनि समेट्न भने ।’

यद्यपि, भरतनाट्यममा उल्लेख छ– चार वेद स्त्री र शूद्रलाई सुनाउन योग्य नभएकाले पाँचौँ वेद सृष्टि गरियो, जुन वेद धर्म, अर्थ, कीर्ति, कारक र उपदेशले समेत युक्त छ । 

चाणक्यनीति र अर्थशास्त्रले शूद्र र स्त्रीलाई विभेद गर्नेतर्फ भने अन्तर्क्रिया गरिएन । चाणक्यनीति र अर्थशास्त्रका धेरै कुरा मननयोग्य छन्, यद्यपि यसले वर्ण–व्यवस्थाको पनि वकालत गर्छ, जसले ब्राह्मणलाई माथि र शूद्र र महिलालाई पिँधमा राख्छ ।

चाणक्यनीतिमा एउटा श्लोक छ– स्त्रीहरू दानले, हजारौँ व्रत, उपासना, तीर्थयात्रा गर्दा पनि शुद्ध हुँदैनन् । नारीहरू आफ्ना पतिको चरणजलले शुद्ध हुन्छन् । 

यद्यपि द्विवेदीले चाणक्य सिरिजलाई सामाजिक न्यायको कोणबाट पनि पस्केका छन् । 

सिरिजमा एउटा दृश्य छ– केटाकेटीहरू राजा र मन्त्रीहरू बनेर खेलिरहेका हुन्छन् । राजा भएको पात्रले भन्छ– मेरो राज्यमा कोही मगध, कोही मालव, कोही पाञ्चाल, कोही कुरु, कोही लिच्छवि छैनन् । ...मेरो दृष्टिमा सबै एक हुन्, सबै भारतीय हुन् । 

यहीनेँर सम्राटको जय होस् भन्दै आइपुगेका विष्णुगुप्त (चाणक्य)ले त्यस बालकको नाम र गुरुको बारेमा सोध्छन् । बालकले आफ्नो नाम चन्द्रगुप्त भएको र आफू हीन कुलको भएकाले गुरु थाप्न नपाएको बताउँछ । उसले भन्छ– ‘पढ्न खोज्दा मलाई सबैले दुत्कारे । आफ्नो दैलोमा उभिन पनि दिएनन् । मैले भनेको थिएँ– म दैलोदेखि परै बसेर पाठ सुन्नेछु । तर सबै ठाउँमा मैले अपमान भोग्नुप¥यो ।’ 

विष्णुगुप्तले भन्छन्, ‘चन्द्रगुप्त ! तिमीभित्र धेरै सम्भावना छन्, मैले तिनलाई नष्ट हुन दिने छैन, आजदेखि तिम्रो गुरु म हुँ ।’ 

नेपाल र भारतमा वर्ण व्यवस्थामा आधारित जातीय भेदभाव तथा छुवाछुत विद्यमान छ । यसको जगमा हाम्रो धर्मशास्त्र नै आउँछन् । एउटा प्रसिद्ध निर्देशक, जसले यिनै विषयमा काम गर्दै आएका छन्, उनीसँग वर्ण–व्यवस्थाले सिर्जना गरेका विभेदमाथि अन्तर्क्रिया गर्न सामाजिक न्यायका हिसाबले अपेक्षाकृत हो, तर त्यसो हुन सकेन ।  

अन्तर्क्रियाकै बीचमा चाणक्य सिरिजको अर्को भिडियो क्लिप देखाइयो । जसमा चाणक्यको संवाद छ– ‘पराजित राष्ट्र तबसम्म पराजित हुँदैन, जबसम्म उसले आफ्नो सांस्कृतिक मूल्यको रक्षा गर्न सक्छ ।’ 

अनि, द्विवेदीलाई सोधियो– कुनै पनि देश वा समाजमा भाषा र संस्कृतिको के महत्त्व छ ? भाषाको साथ संस्कार र विम्ब जोडिने उनको भनाइ रह्यो । 

लाग्छ र भनिन्छ पनि– भारतमा भाषा र संस्कृतिलाई पौराणिक कथामा आधारित सिरियलले नै बचाइरहनेछ ।  

भाषा र संस्कृतिको कुरा गर्दै जाँदा द्विवेदीले भनेका थिए– ‘स्तुति गान गर्ने व्यक्ति ब्राह्मण हो । स्तुति मुखबाट गरिन्छ, यसैले ब्राह्मणको उत्पत्ति मुखबाट भयो ।’

नेपाल र भारतको हिन्दू समाजमा ब्राह्मणलाई यसरी नै ‘शिर’मा राखिने हुँदा विभेद हट्न सकेको छैन । हिजो पौराणिक कथाले विज्ञानको कसीमा पुष्टि नहुने र मानिसबीच विभेद सिर्जना गर्ने जे–जति कथा रचेको छ, त्यसलाई लिएर यस्ता बहस हुँदा विज्ञानमा आधारित तर्ककै अपेक्षा रहन्छ । नेपाल र भारतमा यस्तो किसिमको बहस कमै पाइन्छ । बौद्धिक वर्गले भन्न सक्नुपर्छ– शास्त्र अनुसार ब्राह्मण पद पाउने भनेको ज्ञान र तपले हो, जन्मले होइन, यस्तो भ्रममा कोही नपरौँ । 

चाणक्यका भनाइलाई लिएर अनेक समाचार वा सामग्री सामाजिक सञ्जालमा आउँछन् । चाणक्यको नाममा झुट कुरा आइरहेकोप्रति द्विवेदीको आपत्ति थियो । ‘यदि तपाईं यी पाँच चिज प्रयोग गर्नुहुन्छ भने तपाईंलाई प्रेमिकाले कहिल्यै छाड्नेछैनन्– चाणक्य । यस्तो कहाँ लेखिएको छ ?’ उनले भने । 

चाणक्य सिरिजको गुरु–शिष्य संवादको एक भिडियो क्लिप देखाएर उनलाई सोधियो– अचेल गुरु र शिष्यबीचको नातामा केही परिवर्तन देखिएको छ । गुरु र शिष्यबीचको घनिष्ठ सम्बन्धले राष्ट्र, संस्कृति र समाजमाथि कस्तो परिणाम ल्याउँछ ?

यसको जवाफमा उनले ब्राह्मण र आचार्य परम्पराको चर्चा गरे । उनले भने, ‘आचार्यले त्यो अन्न ग्रहण गर्नू, जुन अन्न चराको चुच्चोले हान्दा बोटबाट भुइँमा खसेको छ । यो सम्भव भएन भने, एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा खसेको अन्न उठाएर जीविका गर्नू । बिहानदेखि साँझसम्म यस्तो समाप्त हुनुपर्छ, घरमा राख्नु हुँदैन । यसरी जीवन निर्वाह गर्ने परम्परा अझै पनि जीवित छ ।’

नेपाल र भारतको चलचित्रीय सम्बन्धमा ‘सफ्ट डिप्लोमेसी’को विशेष अर्थ छ । 

सन् १९५४ मा सत्यकेतु विद्यालंकारद्वारा लिखित ऐतिहासिक उपन्यास ‘आचार्य विष्णुगुप्त चाणक्य’को प्रस्तावनामा उल्लेख छ– ‘भारतको शास्त्रशक्ति र शस्त्रशक्तिको पुनरुद्धार गर्ने महान् आचार्य चाणक्यको वस्तुतः भारतीय इतिहासमा अद्वितीय स्थान छ ।’ 

अन्तर्क्रियामा द्विवेदीलाई सोधिन्छ– शस्त्र र शास्त्रको जुन सम्बन्ध छ, त्यसलाई कसरी सम्झाउनुहुन्छ ?

पहिले शास्त्र र शस्त्रको अलग भूमिका रहेको र अहिले शास्त्रलाई नै शस्त्र बनाउनुपर्ने द्विवेदीको भनाइ रह्यो । ‘जब जब हामी सभ्य हुँदै जान्छौँ, हामीले हाम्रो हतियार बदल्छौँ । पहिले मानिस पत्थरले लड्थ्यो । क्रमशः फलाम, बन्दुक, तोप आदिको आविष्कार ग¥यो,’ उनले भने, ‘तर सबैभन्दा ठूलो अस्त्र जसलाई हाम्रो समाजले स्वीकृति दिएको छ, त्यो हो शास्त्र ।’

सभ्यता नष्ट गर्ने शस्त्रलाई शास्त्रले विरोध गर्ने उनको आसय थियो । ‘यद्यपि परीक्षा वा विश्लेषणबिना गीता वा वेदलाई पनि मान्न हुँदैन,’ उनले भने । 

प्राचीन कथामा आधारित टेलिभिजन सिरियल बनाउँदा बनाउँदै उनले फिचर फिल्म हात हालेका थिए । अन्तर्क्रियामा उनलाई सोधियो– टेलिभिजन सिरिजबाट ठूलो पर्दामा आउन तपाईंलाई केले प्रेरित ग¥यो ? 

यस प्रश्नको जवाफ दिने क्रममा उनले भने, ‘ठूलो पर्दामा जाने मेरो इच्छा थियो । मैले सहादत हसन मन्टोको फिल्म बनाउन चाहन्थेँ । मन्टोको जीवन निकै इक्साइटेड थियो ।’

भारत–पाकिस्तानको विभाजनपछि मन्टो भारतबाट पाकिस्तान जान्छन् र भारत फर्कनन् सक्दैनन् । यसमै फिल्म बनाउने सोचेर यात्रा थालेका उनी अन्ततः अम्रिता प्रितमको उपन्यास ‘पिन्जर’मा पुगे । ‘मैले सहादत हसनको बारेमा फिल्म बनाउने पनि सोचेको थिएँ तर पिन्जर बनाएपछि यति गाली सुनेँ, मैले तय गरेँ– केही समयका लागि मैले यसमाथि फिल्म बनाउँदिनँ ।’

०००

नेपाल र भारतको चलचित्रीय सम्बन्धमा ‘सफ्ट डिप्लोमेसी’को विशेष अर्थ छ ।  फिल्मका माध्यमबाट सामाजिक न्यायको बहस गर्न, चलचित्रको बजार बढाउन र छायांकन क्षेत्रमा सहकार्य गर्न हामी (दुई देश) एकै ठाउँमा उभिन सक्ने प्रशस्त आधार छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप