आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
महासंघ चुनाव

महासंघको चुनावमा उम्मेदवारहरूको राजनीतिक ‘कनेक्सन’

महासंघको चुनावमा राजनीतिक चलखेल स्वाभाविक – पूर्वअध्यक्ष प्रधान
आइतबार, २६ चैत २०७९, १० : ०७
आइतबार, २६ चैत २०७९

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को चुनावमा उद्योगी–व्यवसायीहरू ३ समूहमा बाँडिएर भिड्दैछन् । ‘वेटिङ प्रेसिडेन्ट’ अर्थात् वरिष्ठ उपाध्यक्षका लागि यतिबेला चुनावी मैदानमा आ–आफ्नो समूह बनाएर ३ व्यवसायी होमिएका हुन् ।

व्यवसायीहरू अन्जान श्रेष्ठ, रामचन्द्र संघई र उमेशलाल श्रेष्ठ प्यानलसहित वरिष्ठ उपाध्यक्षको दौडमा छन् । महासंघमा अध्यक्ष पदका लागि प्रत्यक्ष चुनाव नहुँदा र वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने प्रावधान हुँदा यही पदमा चुनाव केन्द्रित हुन्छ ।

जिल्लानगरको दौडधुप सकाएर सबै उम्मेदवार संघीय राजधानी काठमाडौँमा केन्द्रित बनिरहेका छन् । तीनै जना उम्मेदवारले आ–आफ्नो सम्पर्क कार्यालय नै खोलेर चुनावी मैदानमा उत्रिसकेका छन् । तर, उद्योग वाणिज्य महासंघको चुनावमा महासंघमा आबद्ध व्यवसायीको भोटले मात्रै चुनाव जित्ने अवस्था छैन । यसका लागि सत्ता समीकरण र प्रमुख प्रतिपक्षीसँगै अन्य राजनीतिक दलको नेतृत्वको समेत सहयोग चाहिन्छ ।

महासंघमा आबद्ध व्यवसायी प्रत्यक्षरुपमा दलका कार्यकर्ता नबने पनि राजनीतिक झुकाव भने राख्छन् । यही कारण, महासंघको चुनावमा राजनीतिक दलहरूको राम्रो प्रभाव पर्छ । खासगरी, महासंघको चुनावमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी (केन्द्र)को राम्रो प्रभाव रहँदै आएको छ ।

यसपटक नेकपा एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समेत आफ्नो प्रभाव देखाउने प्रयास गरिरहेको छ । तराई–मधेसका राजनीतिक दलको समेत क्षेत्रीयस्तरको प्रभाव हुने गर्छ । 

पूर्व अध्यक्ष महेशलाल प्रधान महासंघको चुनावमा राजनीतिक दलको प्रभाव स्वाभाविक भएको बताउँछन् । सरकारपछिको सबैभन्दा धेरै सञ्जाल भएको मानिने महासंघको चुनावमा राजनीतिक प्रभाव पर्ने प्रधानको भनाई छ । वि.सं. २०४४ देखि २०५० सम्म महासंघको नेतृत्व हाँकेका उनी हाल ८३ वर्ष भइसकेका छन् ।

‘महासंघजस्तो ठुलो व्यावसायिक छाता संगठनको चुनावमा राजनीतिक कनेक्सन नभएमा मजा नै हुन्न,’ प्रधान थप्छन्, ‘देशभर सबैभन्दा ठुलो नेटवर्क भएको, ठुलो व्यावसायिक सञ्जाल र देश–विदेशमा राम्रो प्रभाव रहेको महासंघको चुनावमा राजनीतिक दलले अप्रत्यक्षरुपमा राम्रै चासो देखाउँछन् ।’

महासंघको केन्द्रीय सदस्य पदमा निर्वाचित हुनका लागि कुनै मापदण्ड छैन । अर्थात् कुनै पनि राजनीतिक दलका कार्यकर्ता वा नेता समेत महासंघको केन्द्रीय सदस्य पदमा चुनिन सक्छन् । तर, कोषाध्यक्ष, उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष तथा अध्यक्ष बन्न राजनीतिक दलको सदस्य नभएको हुनुपर्ने व्यवस्था छ । यही कारण, ती पदको निर्वाचनमा होमिएका व्यवसायीहरू प्रत्यक्ष राजनीतिमा संलग्न छैनन् । यद्यपि, उनीहरू अप्रत्यक्षरुपमा उनीहरू छुट्टा–छुट्टै राजनीतिक आस्था र झुकाव राख्छन् । आ–आफ्नो राजनीतिक झुकावअनुसार नै महासंघको वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षको दौडमा रहेकाहरू विभिन्न दलसँग नजिक छन् ।

वरिष्ठ उपाध्यक्षको दौडमा रहेका अन्जान श्रेष्ठलाई नेपाली कांग्रेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको सहयोग रहेको व्यवसायीहरू बताउँछन् । हाल वस्तुगततर्फको उपाध्यक्ष रहेका अन्जान श्रेष्ठले यसअघि २०७७ सालमा भएको निर्वाचनमा समेत आफ्नो राजनीतिक प्रभावको स्वाद चाखिसकेका छन् । यस्तै, यसपटकको निर्वाचनमा समेत कांग्रेस महामन्त्रीद्वयको साथले राम्रै फलिफाप हुने आङ्कलन यो टिमले गरेको छ । महासंघमा आबद्ध कांग्रेसनिकट व्यवसायीहरूसँग थापा र शर्माको राम्रै सम्बन्ध छ । यही सम्बन्धको लाभ चैत २९ गते हासिल गर्ने गरी अन्जान टिम होमर्वकमा लागेको छ ।

अन्जान टिमबाट जिल्लानगर उपाध्यक्षमा अरुण सुमार्गी, वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधान र एसोसिएट उपाध्यक्षमा भरत आचार्य छन् । अरुण सुमार्गी व्यवसायी अजय सुमार्गीका भाइ हुन् । व्यवसायी अरुण सुमार्गी प्रधानमन्त्री तथा नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नजिक व्यवसायी हुन् । अजयकै भाइ भएका कारण अरुणलाई माओवादी खेमाको राम्रो साथ रहने देखिएको छ । यसका साथै, सुमार्गी जेसीज नेपालका राष्ट्रिय उपाध्यक्ष समेत हुन् । यतातर्फबाट समेत उनलाई चुनावमा लाभ हुने आङ्कलन गरिएको छ ।

यस्तै, अन्जान टिमबाट उपाध्यक्षमा चुनाव उठेका मनिषलाल प्रधान पूर्व अध्यक्ष महेशलाल प्रधानको छोरा हुन् । महेशलाल प्रधान पूर्वराजा वीरेन्द्रका पालामा उद्योग, वाणिज्य मन्त्री बनिसकेका व्यक्ती हुन् । तर, महेशलाल प्रधान राजनीतिकरुपमा सक्रिय छैनन् । यस्तै, उनका छोरा मनिषलाल प्रधानसमेत प्रत्यक्ष राजनीतिमा संलग्न छैनन् । यसबाहेक, यो टिमबाट उठेका भरत आचार्यको बारेमा समेत आङ्कलन गर्न नसकिने स्थिति छ । 

वरिष्ठ उपाध्यक्षका अर्का प्रत्याशी उमेशलाल प्रधान कम्युनिस्ट नेता पुष्पलाल श्रेष्ठ र कम्युनिस्ट नेतृ सहाना प्रधानका छोरा हुन् । उमेशलाल श्रेष्ठ प्रत्यक्ष राजनीतिमा नरहे पनि उनलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको राम्रो साथ छ । वर्तमान स्थितिमा सबै दल एकातर्फ हुँदा एमाले अर्कोतर्फ छ । यसकारण, उमेशलाल श्रेष्ठलाई सिङ्गो एमाले व्यवसायीको साथ रहने देखिन्छ । यद्यपि, एमालेका कार्यकर्ता समेत रहेका व्यवसायीहरू अन्जान समूहको टिममा समेत देखिन्छन् । पुष्पलाल र सहानाको छोरा हुनुबाहेक उमेशलाललाई पूर्व अध्यक्ष चण्डीराज ढकालको राम्रो साथ छ ।

चण्डीराज ढकाल महासंघमा प्रभावशाली नेताका रूपमा परिचित छन् । यस्तै, ढकाल नेपाली कांग्रेसनिकट व्यवसायी समेत हुन् । तर, पछिल्लो समय ढकालको प्रभाव खस्कँदो अवस्थामा रहेको यसअघिको निर्वाचनमा उनकै क्याम्पबाट चुनाव लडेको व्यवसायीले ल्याएको मतभारले नै पुष्टि गर्छ ।

यसैगरी, उमेशलाल श्रेष्ठ समूहबाट वस्तुगत उपाध्यक्षमा चण्डीराज ढकालकै कान्छो भाइ हेमराज ढकाल छन् । चण्डीराज ढकालको भाइ हुनुबाहेक हेमराजकी दिदी झापाबाट नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत हुन् । यस्तै, चण्डी ढकालकै माइलो भाइ समेत यही टिमबाट महासंघको चुनावमा केन्द्रीय सदस्यको भिडन्तमा छन् ।

यस्तै, यही समूहबाट चुनाव लडिरहेका दिनेश श्रेष्ठ वर्तमान जिल्लानगरतर्फका उपाध्यक्ष समेत हुन् । महासंघ निकट उद्योगी व्यवसायीले बैंक ब्याजदरविरुद्धको आन्दोलन चर्काउँदा श्रेष्ठले नै महासंघकोतर्फबाट त्यसको नेतृत्व गरेका थिए । यसबाहेक श्रेष्ठ नेपाली कांग्रेससँग नजिक रहेको व्यवसायीको रुपमा महासंघमा विश्लेषण हुने गर्छ ।

एसोसिएटतर्फबाट चुनाव लडिरहेका भरत आचार्य अन्जान समूहका समेत साझा उम्मेदवार हुन् । एमालेनिकट भएकै कारण यो समूहलाई नेकपा एसको भने सहयोग नहुने आङ्कलन चुनावी मैदानमा भइरहेको छ । यद्यपि, नेकपा एस निकट व्यवसायीले कुन टिमलाई सहयोग गर्छ भन्नेबारे व्यवसायीहरू निर्क्योल भइसकेका छैनन् ।

वरिष्ठ उपाध्यक्षका अर्का प्रत्याशी रामचन्द्र संघईले नेपाली कांग्रेसको संस्थापक पक्षको साथ पाएको बताइन्छ । राजनीतिमा प्रत्यक्ष संलग्नता नरहे पनि महासंघको चुनावकै लागि संस्थापन पक्षका शेरबहादुर देउवा र आरजु राणा संघईलाई जिताउन लागिपरेको व्यवसायीहरू नै बताउँछन् । राणासँगको छलफलमा रहेका कारण नै संघईले अन्य प्रतिस्पर्धी भन्दा ढिलो गरी टिम निर्माण गरेको तथा सबैभन्दा पहिलो उम्मेदवारी दर्ता गराएका हुन् ।

अर्थमन्त्री डा. प्रकाशशरण महत देउवा–आरजु क्याम्पकै नेता हुन् । डा. महत अर्थमन्त्री बनेपछिको संघई चुनावी जोडघटाउमा लागेको प्यानलमा आबद्ध व्यवसायीको भनाई छ । संघई क्याम्पबाट जिल्लानगर उपाध्यक्षमा लडेका शुरकृष्ण वैद्य नेपाली कांग्रेसको समानुपातिक सूचीका व्यवसायी हुन् ।

वैद्य बागमती प्रेदश समानुपातिक सूचीमा सबैभन्दा अघि रहेको नाम हो । ‘वैद्यलाई प्राथमिकताका साथ समानुपातिक सूचीमा राखिएको थियो,’ एक व्यवसायीले भने, ‘नेपाली कांग्रेसको समानुपातिक भोट अलि धेरै आएको भए वैद्य प्रदेश सांसद बन्थे ।’

यस्तै, वस्तुगततर्फ उपाध्यक्ष उम्मेदवार रहेका शकुन्तला हिराचन महासंघका पूर्व कोषाध्यक्ष हुन् । यसबाहेक, उनी नेपाली कांग्रेस निकट व्यवसायी मानिए पनि प्रत्यक्ष राजनीतिमा संलग्न छैनन् । यस्तै, संघई प्यानलबाट उपाध्यक्ष उम्मेदवार बनेकी ज्योत्सना श्रेष्ठको समेत खुलारुपमा राजनीतिक संलग्नता देखिँदैन ।

उद्योग संगठन मोरङका पूर्वअध्यक्ष समेत रहेका सीएनआई प्रदेश १ का अध्यक्ष भीम घिमिरे महासंघमा राजनीतिक चलखेल व्यापक रहेको बताउँछन् । विगत २ दशकसम्म महासंघको राजनीति नजिकबाट नियालेको बताउँदै घिमिरेले थपे, ‘महासंघमा चुनाव जित्न उम्मेदवारहरूले सकेको गर्छन् ।’ राजनीतिक दलले आफ्नै निकट व्यवसायी महासंघको नेतृत्वमा देख्न चाहन्छन् । महासंघको नेतृत्वमा आफूनिकट व्यवसायी पुगेमा त्यसको लाभ–हानि समेत राम्रै हुने घिमिरे बताउँछन् । यस्तै, व्यवसायी समेत चुनावमा पैसासँगै राजनीतिक पहुँच, कर्मचारी र बहालवाल मन्त्रीलाई समेत प्रयोग गर्ने गरेका छन् ।

‘राजनीतिक दलका नेताहरूको मात्र नभई सचिव, सह–सचिव र बाहालवाला मन्त्री नै प्रयोग हुन्छन्,’ घिमिरे भन्छन्, ‘चुनावमा फलानोलाई भोट है भनेर फकाउँदै र धम्कीपूर्ण फोन आउँछन् । यसबाहेक वरिष्ठ उपाध्यक्षको चुनाव जित्न करोडौँ खर्चसमेत हुन्छ ।’ घिमिरेबाहेक महासंघको राजनीतिलाई नजिकबाट नियालेका व्यवसायीहरू समेत चुनाव जित्न राजनीतिक पहुँच राम्रै चाहिने स्वीकार्छन् । राजनीतिक सहयोगबिना चुनावै जित्न नसकिने जस्तो बनिसकेको उनीहरूको तर्क छ ।

‘राजनीतिक र कर्मचारी संयन्त्रको प्रयोग बिना महासंघको चुनाव जित्न गाह्रो छ,’ एक व्यवसायीले रातोपाटीसँग भने, ‘उम्मेद्वारहरु स्वयम् नै आफूलाई फलानो नेताको साथ र सहयोग छ भन्छन् ।’ यसले विचारधारा मिल्ने नेताहरूको मनोभावना जित्ने प्रयासका रुपमा राजनीतिक नेताहरूको संलग्नता बारे ‘सो–अफ’ हुन्छ । तर, महासंघको एसोसिएट केन्द्रीय सदस्यमा चुनाव उठेका रामशरण थपलिया राजनीतिक संलग्नताबारे स्वीकार्दैनन् । ‘केन्द्रीय सदस्यसम्मको पदमा उठ्न कुनै विधानले रोक्दैन,’ थपलिया भन्छन्, ‘तर, पदाधिकारी बन्नका लागि कुनै पनि राजनीतिक दलको सदस्यता हुनुहुँदैन ।’ यसबाहेक, अनुमानका भरमा गरिने आँकलनलाई अन्तिम सत्य मान्न नहुने बताउँदै भने, ‘वरिष्ठ उपाध्यक्षहरूको उम्मेदवारले आफ्नो प्यानल घोषणामा राजनीतिक दलका नेता ल्याउँदैनन् । दलका नेता आए भने चाहिँ प्रत्यक्ष संलग्नता मानिन्छ ।’

त्रिपक्षीय भिडन्त, दोस्रो चरणमा जान सक्ने

यसैबीच यही चैत २९ गते काठमाडौँमा हुने महासंघको चुनावमा त्रिपक्षीय भिडन्त पक्कापक्की जस्तै भएको छ । यही २७ गतेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय बाँकी छ । तर, अहिलेसम्मको चुनावी दौडधुपले यो सम्भावना न्यून रहेको देखाउँछ । महासंघको चुनाव जित्न कम्तीमा ५१ प्रतिशत मत ल्याउनै पर्छ । यसकारण, त्रिपक्षीय भिडन्त हुँदा एउटै उम्मेदवारले पहिलो चरणमै ५१ प्रतिशत मत ल्याउन सम्भावना न्यून रहेको उम्मेद्वारहरु नै बताउँछन् । तर, उपाध्यक्ष र केन्द्रीय सदस्य पदको निर्वाचन भने पहिलो चरणमै सकिने तीन वटै समूहको निष्कर्ष छ ।

वरिष्ठ उपाध्यक्ष पदको निर्वाचनमा एकै व्यवसायीले ५१ प्रतिशत मत नल्याएमा दोस्रो चरणको चुनाव हुन्छ । जसमा, पहिलो र दोस्रो सर्वाधिक मत ल्याउने व्यवसायीबीच भिडन्त हुन्छ । महासंघको चुनाव दोस्रो चरणमा पुगेमा यो पहिलो इतिहास बन्नेछ । चुनाव दोस्रो चरणमा पुगेमा समेत राजनीतिक चलखेल ठूलै हुने स्वयम् उम्मेदवारहरु स्वीकार्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप