आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

अब लोसपा र जसपा मिल्नुपर्छ : केशव झा

‘राजेन्द्र महतोजी गठबन्धनको निर्णय स्वीकार गर्दै ब्याक हुनुभयो’
मङ्गलबार, २८ चैत २०७९, १८ : १४
मङ्गलबार, २८ चैत २०७९

लामो समय पानी बाराबारको अवस्थामा रहेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी एक ठाउँमा उभिएको छ । उपेन्द्र यादवलाई बारा–२ मा हुन लागेको उपनिर्वाचनमा जिताउन लोसपा लागिपरेको छ । त्यसका लागि लोसपाले कमाण्डर नै खटाएको छ । जबकि सप्तरी–२ मा उपेन्द्र यादवलाई हराउनका लागि लोसपाले सबै शक्ति लगाएको थियो ।

सप्तरी–२ मा उपेन्द्र यादवलाई हराउन भूमिका खेलेको लोसपाले बारा–२ मा तिनै उपेन्द्रलाई जिताउन किन मरिहत्ते गरेको जस्ता विषयमा लोसपा कार्यकारिणी सदस्य केशव झासँग रातोपाटीले संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंशः

एक डेढ वर्षदेखि बोलचाल समेत बन्द रहेको लोसपा र जसपाबिच यो उपनिर्वाचनमा कसरी सहकार्य भयो ? के जादु चल्यो त्यस्तो ?

सबै कुरा समय र परिस्थितिले गराउने हो । विगतका घटनाहरुलाई सम्झिनु भयो भने मधेसमा जबजब आवश्यकता पर्‍यो, यी दुई शक्ति मिलेकै हो । कहिलेकाहीँ मनमुटाव र बोलचाल बन्द हुनु सामान्य कुरा हो । एउटा परिवारमा रहेका भाइभाइबिच त बोलचाल बन्द हुन्छ भने यो त पार्टी हो । तर हामी जहिल्यै संवादमै थियौं । जसपाबाट अलग भएदेखि नै विभिन्न परिस्थितिमा हामीबिच सल्लाह हुन्थ्यो नै । त्यो मिडियामा नदेखिएको मात्र हो । जसपाबाट लोसपा अलग भइसकेपछि फेरि बिचमा एकताका लागि प्रयास भएको थियो । दुई पक्षको बिचमा अनौपचारिक संवाद पनि भएको थियो । त्यसपछि स्थानीय चुनाव, प्रतिनिधिसभाको चुनावमा पनि हामीले सहकार्यका लागि छलफल गरेका थियौं । मिल्न सकिएन, त्यो बेग्लै कुरा हो तर हाम्रो संवाद र छलफल कहिल्यै बन्द भएको थिएन ।

प्रतिनिधिसभा चुनावमा जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको बिचमा कार्यदल बनाउने प्रयास पनि भएको थियो । विभिन्न कारणले सम्भव भएन ।

जसपामा हुँदा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोलगायत थुप्रैै नेतालाई उपेन्द्र यादवले कारवाही गरेर पार्टीबाट निस्किन बाध्य बनाउनु भएको थियो तर आज त्यही उपेन्द्र यादवलाई चुनाव जिताउन कमाण्डर नै खटाउनु भएको छ । कहाँबाट भयो यस्तो चमत्कार ?

राजनीतिमा कोही पनि स्थायी शत्रु वा मित्र हुँदैन । जसपा विभाजनको समय एउटा परिस्थिति थियो । त्यहाँ कसको दोष थियो–थिएन, त्यो अहिले छाडिदिनुस् तर अहिलेको परिस्थितिले हामीलाई मिल्न भनेको छ । हामी पाँच दलीय गठबन्धनमा छौं । गठबन्धनले जे निर्णय गर्‍यो, त्यसलाई मानेर हामी अगाडि बढेका छौं । हामीले उपेन्द्र यादवलाई जिताउनु पर्छ भनि केन्द्रबाटै कमाण्डर खटाएका छौं । जसपाका कार्यकारिणी सदस्य रहनु भएका जितेन्द्र सोनलले आफ्नो मोर्चा सम्हालिसक्नु भएको छ । हामी उपेन्द्र यादवलाई जिताउन लागिपरेका छौं ।

गठबन्धनमा त सीके राउतको पार्टी पनि छ नि, तर उपेन्द्र यादवलाई मात्र किन सहयोग त ?

हो, उहाँ १० दलीय गठबन्धनमध्ये एउटा दलको नेतृत्व गर्नुहुन्छ । तर सत्ता गठबन्धनले उहाँको पार्टीको बारेमा कुनै निर्णय गरेन । बरु जनमत पार्टीलाई बारा–२ मा उम्मेदवारी नदिन आग्रह गरिएको थियो । तर उहाँले मान्नु भएन । त्यसपछि गठबन्धनले उपेन्द्र यादवजीलाई साझा उम्मेदवार बनायो । हामीले पनि उपेन्द्र यादवको पक्षमा समर्थन जनायौं ।

रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति, सीके राउत नेतृत्वको जनमत पार्टी र तपाईहरुको पार्टी लोसपाबिच पनि गठबन्धन बनेको छ, त्यो गठबन्धनबाट साझा उम्मेदवार किन बनाउन सक्नुभएन त ?

गठबन्धनभित्र पनि कहीँ गठबन्धन हुन्छ त ? कहीँ पनि त्यस्तो हुँदैन । एउटा कुनै विशेष उद्देश्यले तीन दलको गठबन्धन बनेको होला, त्यो छुट्टै कुरा हो । त्यो हामीलाई जानकारी भएन । तर सरकार निर्माणदेखि लिएर चुनावलगायतका विषयमा कांग्रेस, माओवादी, लोसपालगायतका दलहरुको गठबन्धन छ । अरु कुनै गठबन्धन छ भने मलाई थाहा छैन । मलाई लाग्छ, तपाईले भनेको तीन दलको गठबन्धन उपराष्ट्रपति निर्वाचनका लागि बनेको थियो । त्यतिबेला सत्ता गठबन्धनले उपराष्ट्रपतिको विषयमा टुङ्गो लगाएको थिएन । सत्ता गठबन्धनको तर्फबाट उपराष्ट्रपतिका लागि साझा उम्मेदवार टुङ्गो नलागेका कारण लोसपा, जनमत र उन्मुक्ति पार्टीबिच साझा उम्मेदवार बनाउन सायद गठबन्धन बनेको थियो । तर पछि सत्ता गठबन्धनले रामसहाय यादवलाई आफ्नो साझा उम्मेदवार बनाएपछि हामीले पनि सोही अनुसार समर्थन गर्‍यौं । अर्थात्, एउटै उद्देश्य लिएर गठबन्धनभित्र गठबन्धन बनाउनु हुँदैन भने हाम्रो मान्यता हो ।

सप्तरी–२ मा मंसिर ४ गतेको चुनावमा लोसपाले सीके राउतलाई सघाएको थियो । अहिले उपनिर्वाचनमा उपेन्द्र यादवलाई सघाइरहनु भएको छ । पाँच महिनामै यस्तो परिवर्तन कसरी ?

तपाईलाई कसले भन्यो कि मंसिर ४ गतेको चुनावमा हामीले सीके राउतलाई सघाएका थियौं ? तपाईलाई थाहा होला कि जेपी ठाकुर हाम्रो उम्मेदवार हुनुहुन्थ्यो त्यहाँ । उपेन्द्र यादव र सीके राउतसँग उहाँले प्रतिस्पर्धा गरिरहनु भएको थियो । चुनाव हार्नुभयो, त्यो बेग्लै कुरा हो तर त्यो चुनावमा हामीले आफ्नो उम्मेदवार उठाएका थियौं । कसैलाई समर्थन थिएन ।

पाँच दलीय गठबन्धनबाट जेपी ठाकुरलाई उम्मेदवार बनाए पनि सीके राउत विजयी भए, तपाईंहरुकै उम्मेदवारसमेत पराजित भए । यसको मतलब तपाईहरुको मत सीके राउतमा गएको थियो भन्नेहरु पनि छन्् नि ?

होइन, यो गलत कुरा हो । हाम्रो मत कहीँ गएको थिएन । सीके राउतले सप्तरी–२ बाट जित्नुमा धेरै फ्याक्टरले काम गरेको थियो । त्यसका धेरै कुरा बाहिर पनि आइसकेको छ । तर मंसिर ४ गतेको जस्तो परिस्थिति अहिले छैन । पाँच महिना अगाडिको चुनाव हेरेका मतदाताले यस पटकको चुनावमा पक्कै पनि ध्यान पुर्‍याउँछन् जस्तो लाग्छ ।

तपाईंको विचारमा सीके राउतले उम्मेदवार बनाएको शिवचन्द्र कुशवाहा बारा–२ मा जित्दैनन् ?

जित्नु हुन्न । पहिलो कुरा त जनमत पार्टीको त्यहाँ संगठन छैन । यसअघिको चुनावमा शिवचन्द्र कुशवाहाले दोस्रो स्थान ल्याउनु भएको थियो । त्यो कांग्रेस, माओवादी, नेकपा (एस) र लोसपाको मत थियो । शिवचन्द्र कुशवाहाको एक्लैको मत थिएन । शिवचन्द्र कुशवाहा एक्लै जनमतमा जानु भएको छ । पार्टी प्रवेश गर्ने दिन एक जना पनि उहाँको साथमा नेता तथा कार्यकर्ता थिएनन् । रिपोर्टर्स क्लवमा भएको कार्यक्रममा उहाँ एक्लै जानु भएको छ ।

बारा–२ मा जसपाको आफ्नो संगठन पनि राम्रो छ । संगठनको हिसाबले कांग्रेस त्यहाँ एक नम्बरको पार्टी हो भने दोस्रोमा जसपा र तेस्रोमा लोसपा छ । कांग्रेस, लोसपा र माओवादीले पनि जसपालाई नै साथ दिइसकेपछि उपेन्द्र यादवले जित्ने लगभग निश्चितजस्तै देखिएको छ ।

जनमतको संगठन छैन भन्नुभयो तर क्षेत्रमा त्यत्रो मान्छे कहाँबाट आए त ?

सीके राउत पार्टीको अध्यक्ष हुनुहुन्छ । उहाँले एक दिन पनि त्यो क्षेत्र छोड्नु भएको छैन । शिवचन्द्र कुशवाहाको अत्तोपत्तो हुँदैन तर सीके राउत घरघर कुदिरहनु भएको छ । अध्यक्षले नै त्यहाँ डेरा जमाइसकेपछि बर्दियादेखि झापासम्मका कार्यकर्ता त्यहाँ बसिरहेका छन् । नपत्याए सीके राउतको फोटो छापिएको टोपी लगाएर हिँड्नेहरुलाई एकपटक सोध्नुस्, कहाँबाट आउनु भएको हो भनेर । अनि के जवाफ आउँछ, आफैँ थाहा पाउनु हुन्छ ।

प्रचार प्रसारका लागि जिल्ला जिल्लाबाट नेता तथा कार्यकर्ता बोलाएका छन् । प्रचारप्रसार तथा भिडभाडका लागि मान्छे देखाउन सकिन्छ तर मत त बारा–२ का जनताले नै खसाउने हो नि ।

सीके राउत र उपेन्द्र यादवबिच के दुश्मनी छ जसले उपेन्द्र यादव जहाँ गएपनि सीके राउत नछाड्ने अवस्थामा पुग्नु भएको छ ?

सीके राउतको स्कुलिङ त्यस्तै छ । उहाँ चरम अवसरवादी नेता हुनुहुन्छ । जनतालाई आश्वासन र प्रतिवद्धता बाँड्नमा माहिर हुनुुहुन्छ । उहाँमा जनतालाई भ्रममा पारेर भिड जम्मा गर्ने क्षमता छ । उहाँले चुनावका समयमा सप्तरीका जनतासँग कस्ता कस्ता प्रतिवद्धता जनाउनुभयो, एकपटक गएर त्यहाँ सोध्नुस् । तर अहिले सीके राउतले विभिन्न बहाना बनाएर त्यसबाट पन्छिने गरिरहनु भएको छ ।

अहिले त्यस्तै आश्वासन बारा–२ पनि उहाँले बाँडिरहनु भएको छ । बारा–२ का जनतालाई भ्रमित गर्ने काम उहाँले गरिरहनु भएको छ । स्पष्ट कुरा गर्ने हो भने सीके राउतमा राजनीतिक संस्कारको अभाव छ । जनतालाई उत्तेजित बनाउन जस्तोसुकै स्तरमा झर्नुहुन्छ उहाँ । उहाँको भाषणमा गाली गलौज हुन्छ । उहाँले जातीवाद र परिवारवादको राजनीति पनि सुरु गर्नुभएको छ । चुनाव सकिने बित्तिकै जसरी आफ्ना परिवारका सदस्य, आफन्तलाई काखी च्याप्नु भयो, त्यसले उहाँ कस्तो परिवारवादी हुनुहुन्छ भने पुष्टि हुन्छ । चुनावमा जातीवादको नारा लगाएर सबभन्दा बढी जातीयताको राजनीति उहाँले नै गर्दै आउनुभएको छ ।

लोसपा र जसपाको यो सम्बन्ध कति टिकाउ हुन्छ ?

हामी चाहन्छौं कि लोसपा र जसपाबिच कार्यगत एकता होस् । पार्टी एकता नै हुनुपर्छ भनेर भन्दिनँ तर कार्यगत एकता हुनुपर्छ । जबजब यी दुई शक्ति अलग हुन्छन्, मधेस कमजोर हुन्छ । जब यी शक्ति मिल्छन्, अनि मधेस बलियो हुन्छ । त्यसैले मधेसमा यी शक्ति मिल्नुपर्छ भन्ने पक्षमा हामी छौं । त्यसका लागि हामीले प्रयास पनि गरिरहेका छौं । मधेसमा जेजति उपलब्धि भएका छन्, यी दुई शक्ति मिलेरमात्र प्राप्त भएको छ । अझै धेरै कुरा प्राप्त गर्न बाँकी छ । त्यसका लागि यी दुई शक्ति मिल्नुपर्छ ।

अन्त्यमा एउटा कुरा भन्नुस् न, बारा–२ मा तपाईको पार्टीबाट राजेन्द्र महतो पनि चुनाव लड्ने भन्नुभएको थियो तर उहाँ एकाएक ब्याक हुनुभयो, किन ?

हो, हाम्रो पार्टीका आदरणीय नेता राजेन्द्र महतो पनि चुनाव लड्ने मनस्थितिमा पुग्नुभएको थियो । उहाँले त्यो कुरा त्यतिबेला गर्नुभएको थियो, जतिबेला गठबन्धनले साझा उम्मेदवारको घोषणा गरेको थिएन । जब गठबन्धनले साझा उम्मेदवारको रुपमा उपेन्द्र यादवको नाम घोषणा गर्‍यो, अनि राजेन्द्र महतोजी गठबन्धनको निर्णय स्वीकार गर्दै चुनाव नलड्ने निर्णयमा पुग्नुभयो जस्तो लाग्छ । पार्टीले पनि गठबन्धनले साझा उम्मेदवार बनाएकालाई नै समर्थन गर्‍यो । अर्थात् राजेन्द्र महतोजी पनि पार्टीको निर्णयलाई स्वीकार गर्दै चुनावबाट पछाडि हट्नु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप