आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तनहुँमा गोविन्दलाई भोट माग्दै प्रदीपले भने–नयाँ भन्नेको पनि भ्रष्टाचारी रूप देखिसक्यौं

मङ्गलबार, २८ चैत २०७९, २१ : ३९
मङ्गलबार, २८ चैत २०७९

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद प्रदीप पौडेलले यो देशमा अब कसैले पनि भ्रष्टाचार मुक्त छु भन्न नसक्ने बताएका छन् । वैशाख १० को उपनिर्वाचनमा कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई मत माग्न तनहुँको सुकौरा पुगेर पौडेलले भ्रष्टाचार मुक्त छु भन्न कसैले नसक्ने बताए । 

‘पुराना भएका कारणले कतिपय कुराको जिम्मेवारी कांग्रेस  लिनुपर्छ । तर नयाँ हुँ भन्नेहरुले पनि आफ्नो रूप देखाइसक्नुभयो,’ पौडेलले भने, ‘अब भ्रष्टाचारबाट मुक्त छु भन्न कसैले पनि सक्ने स्थिति छैन ।’ 

उनले मतदाताहरूलाई सचेत भएर मतदान गर्न आह्वान गरे । मतदाताहरूलाई उम्मेदवारको गहिराइमा पुगेर वास्तविकता बुझ्न अनुरोध समेत गरेका छन् । ‘देशको समस्या समाधान गर्न ठुला राजनीतिक दलहरूले नै लिनुपर्छ । उनीहरुले नै सही बाटो निर्माण गर्न सक्नुपर्छ,’ पौडेलले भने । 

वैशाख १० को उपनिर्वाचन मध्यावधि निर्वाचन जस्तो भएको पौडेलले सुनाए । ‘यो चुनावमा देशका तीन वटै क्षेत्रमा उपनिर्वाचन हुँदै छ । तीन वटै क्षेत्र जित्यो भनेपनि, त्यो पार्टी ठूलो हुने अवस्था छैन । अहिले संसदमा जो ठूलो छ । यसलाई जित्ने अवस्था पनि हुँदैन । सरकारको गणित फेरिन सक्ने अवस्था पनि छैन,’ पौडेलले भने, ‘तर, यो निर्वाचनले संसद् गणित नफेरेपनि बाहिर सन्देश ठूलो दिन्छ ।’

निर्वाचनमा गम्भीर भएर मत हाल्न पौडेलको मतदातासँग अनुरोध छ । ‘निर्वाचन आफैमा प्रतिस्पर्धी भएपनि मतदाताले उम्मेदवारको बारेमा बढी जानेर मात्र मतदान गर्नुपर्ने हुन्छ । उम्मेदवार र कुन राजनीतिक दलले अगाडि  सारेको हो त्यो ख्याल गर्नुपर्छ,’ पौडेलले भने । 

पौडेले स्वर्णिम वाग्लेले पार्टी छाडेर गएपनि केही गर्न नसक्ने इंगित गरेका छन् । पौडेले भने, ‘साथीहरु पार्टी छोडेर जानुभएको छ । कांग्रेसमा समस्या थियो भने समाधान गर्न साथीहरु किन सक्नुभएन । कांग्रेसलाई परिष्कृत गर्न नसक्नेहरुले देश बनाउन सक्छन् ?’ 

भट्टराईलाई नै भोट किन भन्ने प्रश्नमा पौडेलले पद नपाउँदा पनि विकासका कार्यक्रममा जोडिएको नेता भएको बताए ।  ‘पद नपाउँदा पनि पानी ल्याउने र बाटो बनाउने अभियानमा लाग्नुभएको छ । उहाँको यो लगाभ हो । उहाँसँग सहकार्य गरेर काम गर्न म पनि साथ दिन्छु ।’ पौडेलले सत्ता गठबन्धन पाँच वर्षसम्म जाने सुनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप