आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ट्रम्पद्वारा आफ्ना वकिलमाथि ६५ अर्बको मुद्दा दायर

भने- विश्वास तोडे, काेहेनले नै पोर्न स्टारलाई मौन बस्न पैसा दिए

बिहीबार, ३० चैत २०७९, ११ : ५७
बिहीबार, ३० चैत २०७९

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्व वकिल माइकल कोहेनविरुद्ध ५०० मिलियन डलर (६५ अर्ब नेपाली रुपैयाँ) को मुद्दा दायर गरेका छन् ।

कोहेनमाथि आफ्ना क्लाइन्टको विश्वास तोडेको र ‘द ट्रम्प अर्गनाइजेसन’ सँगको गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप लगाइएको छ ।

ट्रम्पकाअनुसार कोहेनले आफ्नो क्लाइन्टको हितमा काम गर्नु पर्ने वकिलको कर्तव्य उल्लङ्घन गरे ।

कोहेनका प्रवक्ता तथा वकिल ल्यानी डेभिसले बीबीसीसँगको कुराकानीमा भने, ‘म आफ्ना क्लाइन्ट विरुद्धको मुद्दा असफल हुनेमा विश्वस्त छु ।’

वास्तवमा, कोहेन पूर्व राष्ट्रपति ट्रम्पविरुद्ध लागेको पोर्न स्टार मुद्दामा मुख्य साक्षी हुन् । कोहेनले जुरीका अगाडि यस्ता थुप्रै जानकारी दिए, जसको आधारमा ट्रम्पविरुद्ध न्यूयोर्कको म्यानहट्टन अदालतमा ३४ वटा आरोप लगाइयो ।

न्युयोर्क टाइम्सको रिपोर्ट अनुसार कानुन विशेषज्ञ एलेन सी यारोसेफस्की भने ट्रम्पले कोहेनलाई दबाब दिन यो मुद्दा दायर गरेको बताउँछन् । 

कोहेन सन् २०१८ मा जेल गइसकेका छन्

यसअघि सन् २०१८ मा कोहेनलाई चुनावी अभियानमा प्रयोग हुने रकमको दुरुपयोग गरेको आरोपमा दोषी ठहर गरिएको थियो । उनी तीन वर्ष जेल परे । जरिवाना पनि तिर्नुपरेको थियो । जेलबाट बाहिर आएपछि उनी ट्रम्पका आलोचकमा गणना हुन थाले ।

कोहेनले एक दशकभन्दा बढी समयसम्म ट्रम्पको वकिलको रूपमा काम गरेका थिए । उनी ट्रम्प अर्गनाइजेसनका उपाध्यक्ष पनि थिए र उनलाई प्रायः ट्रम्पको फिक्सर समेत भन्ने गरिन्थ्यो । 

कोहेनका वकिल डेभिसले बीबीसीलाई भनेका छन्, ‘ट्रम्पले पुनः एक पटक  माइकल कोहेन विरुद्ध उत्पीडन र धम्कीको रूपमा न्यायिक प्रणालीको प्रयोग र दुरुपयोग गरेको देखिन्छ ।’

‘कस्तो देखिन्छ भने ट्रम्प आफ्नो बढ्दो कानुनी खतराहरूबाट डराएका छन् र अन्य सम्भावित साक्षीहरूलाई सन्देश पठाउने प्रयास गरिरहेका छन्, जसले उनीविरुद्ध अभिआयोजकहरूसँग सहकार्य गरिरहेका छन् ।’

ट्रम्पले आफूलाई निर्दोष भनेका थिए

ट्रम्पमाथि पोर्न स्टार स्टोर्मी डेनियललाई पैसा दिएर चुप बनाएको र चुनावी अभियानका बेला व्यापारिक अभिलेखमा हेराफेरी गरेको मुद्दा चलिरहेको छ । अदालतमा ट्रम्पले आफूलाई निर्दोष बताउँदै भनेका थिए, ‘मैले कुनै अपराध गरेको छैन ।’

म्यानह्याटन अदालतले ट्रम्पको जमानत वा गिरफ्तारीमा कुनै निर्णय सुनाएको थिएन । यो मुद्दाको अर्को सुनुवाइ ४ डिसेम्बरमा हुनेछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप