संयुक्त राष्ट्र स्थायी मञ्चमा सहभागी हुन मन्त्री मोदी अमेरिका प्रस्थान
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् ।
संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा आयोजित आदिवासी मुद्दाहरूमा संयुक्त राष्ट्र स्थायी मञ्चको २२ औँ सत्रमा सहभागी हुन मन्त्री मोदी अमेरिका प्रस्थान गरेका हुन् ।
कतार एयरवेजको उडानबाट मन्त्री मोदी नेतृत्वको टोली दोहा हुँदै अमेरिका पुग्नेछ ।
यो सत्र वैशाख ०४ गतेबाट सुरु हुँदैछ । सत्रमा मन्त्री मोदीले नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यतालिका रहेको बताइएको छ । सत्र २८ अप्रिल २०२३ सम्म सञ्चालन हुनेछ ।
सत्रमा आदिवासी जनजाति, मानव स्वास्थ्य, ग्रह, क्षेत्रीय स्वास्थ्य र जलवायु परिवर्तन लगायतका सम्बन्धमा बृहत्तर छलफल हुनेछ ।
मन्त्री मोदीसँगै भ्रमण दलमा थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, आयोगका सदस्यहरू सुबोधसिंह थारु, भोलाराम चौधरी, डा. उमा शंकर प्रसाद चौधरी, आदिवासी जनजाति आयोगका सदस्य सूर्य गुरुङलगायत सहभागी छन् ।