आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कविता

सुखको महाव्याधि

शनिबार, ०२ वैशाख २०८०, ०९ : ४१
शनिबार, ०२ वैशाख २०८०


कहाँ कहाँ खोजिन मैले 
त्यो बेला 
अंगार भरिएको थियो 
सायद 
मेरो अन्तस चेतनामा
कसलाई सोधिन मैले 
यात्रा भयो टाढा टाढाको
खेर गए सबै प्रयासहरू

कतै भड्किएको थियो मेरो मन
बरालिएको थियो मेरो हृदय
कहिले गम्भीर भएर सोचेँ 
कहिले सबैसँग विरही भएर बसेँ 
बिस्तारै बिस्तारै 
सास भित्र पस्दा पनि  
पलकभर सास रोकिदा पनि
धीमा धीमा 
मेरो नाकलाई 
अदृश्य स्पर्श गर्ने
सास बाहिर निस्कँदा पनि
अकारण खित्काउन थालेको छु अचेल
खुल्ने गरेको छ सुखको दैलो
दुनियाँ भरकै खुसी छु म अहिले

वास्तवमा 
म डुब्दै डुब्दै पनि पार पाएँ
जब मैले आफ्नै डुङ्गा पाएँ
तर तिमी
तर्दा तर्दै पनि डुब्दैछौँ
किनकि 
गुमनाम छ तिम्रो आफ्नै हृदय
म 
निस्पट्ट अँध्यारोमा पनि
रोशनी देख्छु
तिमी 
झलमल झलमल
रोशनीमा पनि अँध्यारो खोज्छौ
तिमी 
यी सुन्दर घमाइला दिनलाई पनि 
पट्यार लाग्दा लामा लामा 
रातका बीचमा राख्छौ

औँसीको रातमा पनि 
टलटल टलटल जून देख्छु
थाहा छैन मलाई
म छु कि छैन  
जब सोच्छु
म छु
आफैलाई अर्थहीन पाउँछु
जब सोच्छु 
म छैन 
आफैलाई अमूल्य पाउँछु
जब खजाना खोजेँ 
सुख भोग्नेको
उपाय पाएँ 
अनि लुटाएँ आफैले आफैलाई 
तर
खुल्न सकेन तिम्रो मनको दैलो
जति कोसिस गर्दा पनि 
खोज्दै गयो तिमी खोज्दै गयो
भेटेनौ कतै तिमीले
असफल भयौ तिमी भेट्टाउन
म आफैले आफैलाई पढाएँ
म आफैले आफैलाई सिकाएँ
गुरु पनि म आफै
शिष्य पनि म आफै
मुर्छित चेतनाको लामो यात्रापछि
आज पो बल्ल ब्युझेँ म
एउटा नयाँ जीवन बनेर
आफ्नै प्रेम बनेर,
आउँदै जाँदै गरेको यो सास 
मेरो स्वर्ग हो 
तप्प तप्प अकारण बर्सिने 
यी आँसु
मेरा प्रिय सखी हुन्
मन्द मन्द चलिरहेको 
शीतल हावाको झोक्कासँग
मद्होस हुँदै म प्रेमिल बात गर्छु, 

तर
तिमीलाई डाहा लाग्न सक्छ 
तिमीलाई लोभ लाग्न सक्छ
सुख त मेरो एक निर्णय हो
सुख त मेरै चुनाव हो
तिमीलाई थाहा नहुन सक्छ
मलाई
सुखको सङ्क्रामक रोगले 
गाँजेको छ
अमिट छ यो महाव्याधि
यो मेरो मोज हो
अखण्ड छ मेरो सुख
किनकि मेरो जित 
तिमीमा निर्भर छैन
मेरो सुख 
तिम्रो वशमा छैन
वर्षात्को प्रत्येक बुँदाले स्पर्श गर्दा 
म खित्खिताउँछु
हर्षविभोर हुँदै 
बेहद सुखी हुन्छु
कसैले मलाई सोधे
तिमी भन्नेछौ ऊ त गयो
म मुस्कुराउँदै भन्नेछु
म त यहीँ छु 
त्यो त मेरो शरीर हो
तिमीले बनाएको चितामा जलिरहेछ
शरीर त मेरो खोल थियो 
म त अमर कवचभित्र थिएँ
न जलाउन सक्छ चिताले
न नासिन सक्छ 
हेर त, 
तिम्रो गणित गलत भयो
तर
उत्तीर्ण भएँ म
मेरो आह्वान छ तिमीलाई
रोशनी जगाऊ आफूभित्र 
कोसिस गरेर हेर
एक सन्नाटा भरेर हेर
तिमी पनि
तृप्त बन्न सक्छौ 
तिमी पनि 
सुखको महाव्याधिमा
लपेटिन सक्छौ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

महेश फुयाँल
महेश फुयाँल
लेखकबाट थप