आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कविता

म अटल सिंह

शनिबार, ०२ वैशाख २०८०, ०९ : ४६
शनिबार, ०२ वैशाख २०८०

मेरो अस्तित्वको
सिङ्गो फौज लिएर
म अटल सिंह
यहाँ उभिइसकेको छु 
लाजेहाङ ढलेछ,
सहिद घोषणा गर्नू
नत्र विराट, वैभवको
मेरो राज्य पुनर्स्थापित गरेर
प्रथम सहिद घोषणा गर्नेछु ।

लाजेहाङ ढलेर के भो ?
हजारौँ, लाखौँ लाजेहाङ लिएर
म अटल सिंह
फौजसहित यहाँ उभिइसकेको छु ।

हिजो अस्तिसम्म २०७ वर्ष अघि,
अस्तिसम्म यो चौदण्डीगढी
अस्तिसम्म यो हतुवागढी
अस्तिसम्म यो विजयपुर किल्ला
यो विराट किराती वैभवको नगर
विराटनगर
सभ्यता र पहिचान
रगतको भल र आँसुको तलाउ बनाएर
जङ्गदेव नर नारायणी शाह
बहादुर शमसेर उर्फ पृथ्वीनारायण शाह
पहिचान मेटाएर
माटो जोड्यो
मन जोडेन, जोड्न बाँकी थियो 
मैले उसलाई माटो छोडेँ
माटो जोडिस् 
अब मन जोड भनेको थिएँ 
म त युद्व हारिहालेँ
मरिहालेँ
त्यो काम बाँकी नै रछ 

मैले उसलाई माटो दिएको हुँ
पहिचान सभ्यता मेटाउन दिएको थिइनँ
भावना जोड्ने शर्तमा भूगोल दिएको थिएँ
सभ्यता मेटाउन दिएको थिइनँ
पहिचान मेटाउन दिएको थिइनँ ।

आठ लिम्बुवान,  
अनि पल्लो किरातसँग त 
युद्व नै लडेन
सेनलाई राजा नमान्नु
मलाई राजा मान्नु
‘जिमीभूमि खायन पायन 
हकदाक तेरै भो’ 
भनेर नर नारायणी
श्री ३ चक्रपाणिको लिखतमा
तेत्तीसकोटी देवीदेवताको 
कसम खाएर किपट दिएकै हो
लालमोहर लगाएकै हो
आज किन धोका भयो ?

आज म अटल सिंह उठिसके
मृत्यूबाट बौरिसके
सुन्दै छु बुद्विकर्ण उठ्दैछ
कामदत्त पनि उठिसक्यो
सबै थुम र गढीका पल्लो किरात
आठ लिम्बुवान उठिसक्यो
वल्लो किरात 
सुनुवार, सुरेल, जिरेल, हायु 
थामी, आठपहरिया 
थुम र गढीबाट सबै उठिसके
हामी किरातीका दर सन्तान
यो मेरो पूर्खाको यलाखोम त 
काठमाडौं पो भएछ
ठँहिटी, नारायणहिटी, 
च्यासलको माटो उस्तै छ
जहाँ मेरो गुजिउपो हजुरबुवा
च्याप्जु पुरिएको कङ्काल अझै छ ।
आज यो जिमीभूमि 
माग्न आएको होइन म,
मैले नर नारायणी शाह बहादुर
तिमीहरूले चिन्ने नाम 
उर्फ पृथ्वीनारायण शाहलाई
माटो दिएको हुँ
हारेको हुँ
छाडेका हुँ
उसलाई मैले माटो दिएको हुँ
पहिचान सभ्यता, 
मेटाउन दिएको थिइनँ ।

तिमीहरूले नबिर्स
किरात सभ्यतामा
हाम्रो जिमिभूमिमा
क्षेत्री, बाहुन पनि थिए भनेर
उनीहरू जातले क्षेत्री, बाहुन
सभ्यताले किराती थिए भनेर
उनीहरूकै वंश नर नारायणी 
पश्चिमबाट आई
हामी सबैमाथि
युद्ध गर्यो
नर नारायणीको शाह राज्यमा
उनीहरू हामीसँगै भएकै कारण
अधिकारबाट सधैँ पछि राख्यो ।
 
प्रथम महाराज यलामबा
दोस्रो महाराज पेलाम
क्रमशः
महाराज मेलाम
महाराज हुमती
महाराज कङ्क
महाराज दास्ती
महाराज स्वनन्द
महाराज फुङ्को
महाराज थुङ्को
महाराज मुगम
महाराज खिम्बु
जितेगस्ती 
यही यलाखोमका राजा हुन् ।

अहिले राजा मान्दैन रैछ
राष्ट्रपति भनेको सुन्छु
ठीक छ,
अहिले यलाखोम
काठमाडौँ भनेको सुन्छु
ठीक छ
म राजा अटल सिंह
राजा नमान तिमीहरू
ठीक छ
तर सभ्यता पहिचान हारेको थिइनँ
छाडेको थिइनँ
यो किन बिस्र्यो ?
यो किन छाडेउ ?
यो ठीक हैन ।

यदि तिमीहरूले 
सभ्यता पहिचान मेटाएर
राष्टिय एकता 
बचाइ राख्नुपर्छ भने
आजदेखि छाडिदेऊ 
यदि पहिचान सभ्यता माग्दा 
जातिवादी देख्छन् भने
आजदेखि जातिवादी नै सहि
जातिवादी हौं ।
यदि किरात सभ्यता 
पहिचानको प्रदेश माग्दा 
देश टुक्रन्छ भन्छन् भने
किरात देश बनाऊ
युद्ध लड 
मर्न तयार होऊ 
अश्रुग्याँस, ढुङ्गा, लाठी 
खान तयार होऊ
आखिर तिमी युद्व नै नलडे पनि
एकदिन मर्ने नै छौ 
अकालमा मर्ने छौ र
आज लाठी खाएर 
मर्न तयार होऊ ।
     कि त गर
कि त मर
तर कायर हुने धृष्टता नगर
सम्झौता गर्ने दुष्साहस नगर
मेरो अस्तित्वको
सिङ्गो फौज लिएर
म अटल सिंह
यहाँ उभिइसकेको छु ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मिलनकान्छा किराती
मिलनकान्छा किराती
लेखकबाट थप