सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
ढकमक्क फूलले मनमोहक बन्यो अलकापुरी नगरी (फोटो फिचर)

ढकमक्क फूलले मनमोहक बन्यो अलकापुरी नगरी (फोटो फिचर)

शनिबार, ०२ वैशाख २०८०

आदिकवि भानुभक्त आचार्यले ‘अलकापुरी कान्तिपुरी नगरी’ कविता त्यसै लेखेका थिएनन् । उनले कान्तिपुर अर्थात अहिलेको काठमाडौँप्रति मोहित भएरै त्यो कविता लेखेका थिए । हो, त्यो कान्तिपुरले फेरि जवानीको रूप देखाएको छ । 

वसन्त ऋतुमा अलकापुरी नगरी ढकमक्क छ । धुवाँलो र प्रदूषण त छँदैछ तर त्यसमा वसन्त ऋतुका आगमनसँगै रङ्गीचङ्गी फूल र हरियालीले सङ्घीय राजधानी काठमाडौँलाई मनमोहक बनाएको छ । काठमाडौँ उपत्यकाका सडक किनारमा फुलेका फूलहरूले जो कोहीलाई पनि मोहित पार्छ । 

डाँडाकाँडा चहुर हरिया देखिए पालुवाले ।

बोकी ल्यायो बकुल वनको वास मिठो हावाले ।।

डाकी मौरी मधुर रसमा लेक पाक्यो गुहेँली ।

गोठालाले वन वन डुली हाल्न थाल्यो सुसेली ।।

राष्ट्रकवि स्व. माधवप्रसाद घिमिरेको यो वैशाख कविताको अंशले काठमाडौँको वैशाखको फूल फूलको सहरलाई चरितार्थ गर्छ । नदीका किनार, सडकका छेउ, घरका प्रवेश द्वार, मठ मन्दिर जताततै फूल फूलले ढाकेको छ ।

वसन्त ऋतु अर्थात् वनस्पतिहरूले काँचुली फेर्ने ऋतु । शिशिर र गृष्मबीचको यो ऋतुलाई ऋतुराज पनि भनिन्छ । काठमाडौँका सडक र किनारमा सवारी र पैदल यात्रुलाई मोहित पार्दै ढकमक्क फूल फुलेका छन् । 

अधिकांश वनस्पतिहरूले पाउला फेर्ने भएकाले यो ऋतु हरियाली त हुन्छ नै ढकमक्क फुलेको फूलहरूले झनै सौन्दर्य बढाउँछ । वसन्त ऋतुको सुरुवात भएसँगै यतिखेर राजधानी पनि परिवर्तन भएको भान हुन्छ । सडकको वरिपरि रहेको चेरी र आरु ढकमक्क फुलेर सडकको सौन्दर्यता बढाएको छ । 

राजधानी काठमाडौँका सडक पेटीमा फुलेका चेरी र आरु फूलको दृश्यले कम आनन्द महसुस हुँदैन । सडकमा हिँड्ने यात्रु लोभ लाग्दा फूलहरूसँग रमाइरहेका हुन्छन् । काठमाडौँका सडकहरूमा यति बेला विभिन्न प्रजातिका फूलहरू फुलेका छन् । यसले पदयात्रीलाई थप आनन्दित बनाएको छ । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका यी मनमोहक तस्बिरहरू :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया