आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ओमानसँगको अभ्यास खेलमा नेपाल ५ विकेटले विजयी

शनिबार, ०२ वैशाख २०८०, २० : १६
शनिबार, ०२ वैशाख २०८०

काठमाडौँ । एसीसी प्रिमियर कपअघि आयोजना भएको अभ्यास खेलमा नेपालले ओमानलाई ५ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा नेपालले ओमानलाई ५ विकेटले पराजित गर्दै प्रतियोगिता अघि मनोबल बटुलेको हो । मंगलबारबाट मूलपानी र कीर्तिपुर मैदानमा १० टोलीले एसीसी प्रिमियर कप  खेल्दैछन् । सोही प्रतियोगिताका लागि नेपालले अभ्यास खेल खेलेको हो । ओमानले निर्धारित ५० ओभरमा खेल्दै नेपाल सामु प्रस्तुत गरेका २ सय ४७ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो ।

ओमानले दिएको लक्ष्य भेटाउँदै जित निकाल्न अर्जुन साउद, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी निकै महत्त्वपूर्ण रह्यो । ओपनर साउदले ६७ तथा कप्तान रोहितकुमार पौडेलले ५८ रन बनाउने क्रममा रिटायर हर्ट भएका थिए । दीपेन्द्रसिंह ऐरी ५९ रनमा आउट भएका थिए । कप्तान रोहितले ५८ रनमा रिटायर्ट हर्ट हुँदै कुशल मल्ललाई मौका दिए पनि ८ रन भन्दा जोड्न सकेनन् । नेपालका लागि ओपनरका रूपमा मैदान प्रवेश गरेका देव खनाल १० रनमा आउट भएका थिए । नेपालको पाँच विकेट निकाल्ने क्रममा ओमानका लागि कप्तान जिशान मकसुदले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको ओमानले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४६ रन बनाएको थियो । ओमानका लागि शोएब खानले १ सय १० रनको अविजित शतकीय इनिङ खेले । ओपनर जतिन्दरसिंह ४२ रन जोड्ने क्रममा पवेलियन फकिँदा अर्का ओपनर कश्याप प्रजापति१६ रनमा आउट भए । मोहम्मद नदिमले २४ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको स्कोर गर्न सकेनन् । नेपालका लागि किशोर महतोले ३ तथा प्रतिश जी.सी र सूर्य तामाङले समान २÷२ विकेट लिए ।

सोमवारबाट आयोजना हुने प्रतियोगिता एसीसी प्रिमियर कपमा नेपाल र ओमान एकै समूहमा छन् । नेपालले मलेसियासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल सम्मिलित समूह ए मा ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन् । यस्तै समूह बी मा संयुक्त अरब इमिरेट्स (युएई), हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । १० टोली सहभागी प्रतियोगिताको उपाधि जित्ने टोलीले एसिया कपमा भारत र पाकिस्तान खेल्ने मौका पाउनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप