यो व्यवस्थामाथि संकट आएको हो भने प्रधानमन्त्रीले संसदमा आएर भन्नुपर्यो : ठाकुर गैरे
काठमाडौँ । राजनीतिक व्यवस्थामाथि संकट आएको भनेर प्रधानमन्त्रीले बोलेको कुरामाथि प्रतिनिधिसभा बैठकमा एमाले सांसद ठाकुर गैरेले टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्रीले यो व्यवस्था संकटमा पर्यो, उल्टिन लाग्यो भनेर के सन्देश दिन खोज्नुभएको हो भन्दै प्रश्न गरे ।
आइतबारको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले भने– ‘यो सार्वभौम सदन चलिरहेको बेलामा यो व्यवस्थामाथि संकट आएको हो भने सदनमा प्रधानमन्त्री आउनुपर्यो, सदनलाई जानकारी गराउनुपर्यो । सदन सूचीत हुनुपर्यो कसले यो व्यवस्था उल्टाउन खोजीरहेको छ ? के कारणले संकट पैदा भएको हो ? ती सबै चुनौतीहरुलाई सामना गर्न संसद तयार हुनुपर्छ । प्रधानमन्त्रीले त्यो जानकारी सदनमा गराउनुपर्छ ।’
प्रधानमन्त्री प्रचण्डले नयाँ वर्षको दिन शुभकामना दिने क्रममा पार्टी कार्यालयमा उनले अहिलेको राजनीतिक व्यवस्था संकटमा परेको बताएका थिए ।