आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
नवनियुक्त परराष्ट्रमन्त्री

विद्यार्थी राजनीतिबाट उदाएका एनपीलाई परराष्ट्रको कमाण्ड

परराष्ट्रमन्त्री साउद सामु के के छन् चुनौती ?
आइतबार, ०३ वैशाख २०८०, १७ : १५
आइतबार, ०३ वैशाख २०८०

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता नारायणप्रकाश (एनपी) साउद परराष्ट्रमन्त्री बनेका छन् । सुदूरपश्चिमबाट कांग्रेस सभापति शेरबहादुर देउवाको उत्ताधिकारीका रुपमा हेरिएका साउद तेस्रो पटक मन्त्री बनेका छन् । चैत १७ गते नै साउदको नाम कांग्रेसबाट मन्त्री बन्नेको सूचीमा थियो ।

सभापति देउवाले साउदलाई मन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष नाम सिफारिस गरेका थिए । तर कांग्रेसकै शेखर कोइराला– गगन थापा समूहले भागबण्डामा विमति राखेर मन्त्रीको नाम दिन अस्वीकार गरेपछि कांग्रेसबाट उपप्रधान तथा रक्षामन्त्रीमा पूर्णबहादुर खड्का, अर्थमन्त्रीमा प्रकाशशरण महत, उद्योग, वाणिज्य तथा आपूर्तिमा रमेश रिजाल र सहरी विकास मन्त्रीमा सीता गुरुङमात्र नियुक्त भए ।

कांग्रेसबाट बाँकी ४ मन्त्री र एक राज्यमन्त्रीको नियुक्ति रोकियो । प्रधानमन्त्रीको आसन्न भारत भ्रमणलाई लक्षित गरी साउदलाई परराष्ट्र मन्त्री बनाइएको छ । कांग्रेसबाट बाँकी मन्त्री उपनिर्वाचनपछि नियुक्त हुने बुझिएको छ । सरकारबाट जनमत पार्टी बाहिरिएकाले कांग्रेसले ९ मन्त्री र एक राज्यमन्त्री पाउने कांग्रेस नेताहरु बताउँछन् ।

कांग्रेसको भागमा परेका कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीकै काँधमा छ  । जनमतका अब्दुल खानले राजीनामा दिएको खानेपानी मन्त्रालय पनि लिने कांग्रेसको तयारी छ ।

को हुन् परराष्ट्रमन्त्री साउद ?

२०२० साल साउन १५ मा डडेल्धुराको भागेश्वर गाउँपालिकामा जन्मिएका साउद सानै उमेरमा राजनीतिमा होमिए । डडेल्धुरामा जन्मिए पनि उनको राजनीतिक यात्रा नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) मार्फत कञ्चनपुरबाट सुरु भयो ।

साउद २०३६ मा कञ्चनपुरको महेन्द्रनगर माध्यमिक विद्यालयको नेपाल विद्यार्थी संघको इकाइ सचिव भए । विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध हटेपछि २०३६ मै सिद्धनाथ विज्ञान क्याम्पसको स्ववियु सचिवमा चुनिए । २०४१ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य बनेका उनी २०४८ मा केन्द्रीय सभापति बन्न सफल भए ।

np saud

२६ वर्षको उमेरमा नेविसंघको निर्वाचित सभापति बने । ०५९ मा वर्तमान सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस विभाजित भएर बनेको कांग्रेस (प्रजातान्त्रिक) मा उनी केन्द्रीय सदस्य भए । कांग्रेस प्रजातान्त्रिकको ११ औँ महाधिवेशनमा पनि केन्द्रीय सदस्य बनेका साउद ०६४ मा कांग्रेस र कांग्रेस प्रजातान्त्रिकबीच एकता हुँदा पनि केन्द्रीय सदस्यकै रूपमा रहे ।

एकीकरणपछिको १२ औँ र १३ औँ महाधिवेशनमा पनि उनी केन्द्रीय सदस्य निर्वाचित भए । १४ औं महाधिवेशमा उपसभापतिका प्रबल दाबेदार मानिएका साउदलाई दोस्रो पटक देउवालाई सभापति बनाउने योजना सफल पार्न उपसभापतिमा उम्मेदवारी दिने आफ्नो योजनाबाट ‘ब्याक’ हुनु परेको थियो ।

शेखर कोइराला खेमाले उपसभापतिको उम्मेदवार बन्न गरेको प्रस्ताव अस्वीकार गरेर उनी केन्द्रीय सदस्यमात्र लडे । ३५ जना खुला केन्द्रीय सदस्यमा उनी दोस्रो सर्वाधिक मत ल्याउन सफल भए । अहिले उनी कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्यसमेत छन् ।

संसदीय राजनीतिमा पनि खारिएका नेता हुन् साउद । २०५१ सालको मध्यावधि निर्वाचनमा चुनावी प्रतिस्पर्धा गरेका उनी ०५६ सालको आम निर्वाचनमा कञ्चनपुर– १ बाट निर्वाचित भए । ०५७ मा शिक्षा राज्यमन्त्री पनि बने । ०६४ मा भएको पहिलो संविधानसभा निर्वाचन परिणाम साउदको पक्षमा रहेन । ०७० को चुनावमा कञ्चनपुर–२ बाट सांसद भएका साउद सुशील कोइराला नेतृत्वको सरकारमा सिँचाइ मन्त्री बने । ०७४ को आम निर्वाचनमा भने उनी वाम गठबन्धनसँग पराजित भए ।

उनी गत आम चुनावमा कञ्चनपुर–२ बाट निर्वाचित भए । सभापति देउवाले महत्त्वपूर्ण मानिने परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिएर साउदलाई प्रचण्ड नेतृत्वको सरकारमा पठाएका छन् ।

के छन् परराष्ट्रमन्त्रीका चुनौती ?

परराष्ट्रमन्त्री साउदलाई भूराजनीतिक सन्तुलन, भौगोलिक अखण्डताको रक्षा र वैदेशिक लगानी भित्र्याउनुपर्ने चुनौती छ । नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले नयाँ परराष्ट्रमन्त्रीका लागि बाह्य र आन्तरिक दुवै चुनौती रहेको बताए ।

‘परराष्ट्र क्षेत्रमा बाह्य, आन्तरिक दुवै हिसाबले चुनौती बढेको अवस्था छ । हाम्रो परराष्ट्र नीति र हामीले अगाडि सार्नुपर्ने विषयहरु धेरै जटिल बनिरहेका छन् । परराष्ट्रमन्त्रीले काम गर्नेभन्दा पनि प्रधानमन्त्री र गठबन्धन कसरी जान्छ भन्ने कुरा हो ।’

उनका अनुसार अन्तर्राष्ट्रिय राजनीति तानातानको अवस्थामा छ । ‘संसार बहुध्रुवतिर केन्द्रित भइरहेको छ । यस्तो अवस्थामा पुराना सम्बन्ध भएका र प्रभाव राखेका मुलुकहरु आफ्नो प्रभाव यथावत राख्न कोसिस गरिरहेको देखिन्छ । नयाँ उदाउँदा शक्ति राष्ट्रहरु आफ्नो प्रभाव विस्तारमा लागिरहेका छन्,’ भट्टराई भन्छन् ।

np saud

नेपाल समवेदनशील भूराजनीति अवस्थितिमा रहेको भन्दै सबैलाई सन्तुलनमा राखेर जानुपर्ने उनको भनाइ छ । नेपालको भौगोलिक अखण्डता र डुबानको समस्यामा परराष्ट्रमन्त्री साउदलाई खरो रुपमा उत्रिन उनको सुझाव छ ।

‘हाम्रो भौगोलिक अखण्डताको कुरा छ । हाम्रो भूभागमा विदेशी सेना बसिरहेको छ । हामीले हाम्रो भूभाग फिर्ता ल्याउने एजेण्डा अगाडि लिएर जानुपर्ने छ,’ भट्टराई भन्छन्, ‘वर्षैपिच्छे हाम्रो डुबानको समस्या छ । उता (भारत) पट्टी संरचना बन्दा यता (नेपाल) मा डुबान हुन्छन् । यसमा खरो उत्रिनु सक्नुप¥यो ।’

उनले आन्तरिक समस्यामा रहेको आर्थिक क्षेत्र सुधारका लागि पनि पराष्ट्रमन्त्रीबाट विशेष पहलकदमीको आवश्यकता औंल्याए । ‘व्यापार घाटा चरमचुलीमा पुगेको छ । वैदेशिक लगानीको कुरा छ । हाम्रो सामान्य कमाइले हाम्रो खर्च धान्न नसक्ने स्थितिमा मुलुक पुगिरहेको छ । व्यवस्था बदलिए पनि अवस्था बदलिएन भन्ने जनगुनासो छ । विकास र समृद्धिको एजेण्डालाई प्राथमिकतामा राखेर जानुपर्छ,’ उनले भने ।

समृद्धिका लागि हामीसँग भएको साधन र स्रोतले मात्र नहुने भन्दै उनले वैदेशिक लगानी र वैदेशिक सहयोग भित्र्याउनुपर्ने बताए । उनले भने, ‘त्यसका लागि लगानीमैत्री वातावारण बनाउनुप¥यो । यो काम एउटा सक्षम परराष्ट्रमन्त्रीले गर्न सक्छ । त्यसका लागि प्रधानमन्त्री र सिंगो सरकार त्यसमा उभिनुपर्छ ।’

यस्तै पूर्वराजदूत लोकराज बरालले मुलुकको साझा परराष्ट्र नीति बनाएर जानुपर्ने बताए । उनले भने, ‘हाम्रो परराष्ट्र नीतिमा समस्या छ । पहिलो, साझा परराष्ट्र नीति बनाउनुपर्छ । दल र नेतापिच्छेको परराष्ट्र नीतिबाट हामी बाहिर आउनुपर्छ ।’

राजनीतिक दलले एउटा परिभाषा नबनाउँदा मुलुकको परराष्ट्र नीति अस्तव्यस्त अवस्थामा रहेको बरालको टिप्पणी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप