आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कलाकार

‘दयाहाङसँग अभिनय अवसर करियरकै एचिभमेन्ट हो’

अफर आए पल शाहसँग काम गर्न तयार छु : नायिका प्रकृति श्रेष्ठ
मङ्गलबार, ०५ वैशाख २०८०

काठमाडौँ । नायिका प्रकृति श्रेष्ठ करिब ८ वर्षपछि फिल्ममा फर्किएकी छन् । गत शुक्रबारबाट प्रदर्शनमा आएको ‘बिहे पास’मार्फत् उनको फिल्ममा कमब्याक भएको हो । 

फिल्ममा लामो समयपछि फर्किदा उनी दंग त छिन् नै । तर, फिल्म क्षेत्र अझै व्यावसायिक नभएका देख्दा उनलाई दुःख लागेको छ ।  ‘फिल्म क्षेत्रमा अझै समयको पर्बाह छैन, भइहाल्छ नि, गरिहालिन्छ नि भन्ने सोच हामी हुने प्रवृत्ति हटेको छैन’, उनले भनिन् ‘महिला कलाकारलाई हिजो पनि चाँडै मूल्याङ्कन गर्ने गरिन्थ्यो, आज पनि त्यही शैली रहेछ ।’ फिल्म क्षेत्रमा धेरै उथलपुथल भयो होला भन्ने सोचेकी उनले खासै परिवर्तन नपाएको सुनाइन् । 

प्रकृति लामो समयदेखि अस्ट्रेलिया बस्दै आएकी छन् । त्यहाँ उनी डेन्टल नर्सिङ गर्दैछिन् भने उनको आफ्नो गहनाको अनलाइन व्यवसाय पनि छ । फिल्म रिलिजका लागि एक साता अगाडि काठमाडौं आएकी उनलाई केही दिन फिल्मको प्रमोसनले भ्याइ नभ्याई भयो । अहिले फिल्म रिलिजपछि भने बल्ल के सुस्ताउन पाएकी छिन् ।                  

‘शुक्रबार र शनिबार फिल्मको प्रतिक्रिया लिन केही हलमा दर्शकमाझ पुगेकी थिएँ’, उनले भनिन्, ‘फिल्मको साथै मेरो अभिनयको पनि राम्रो प्रतिक्रिया पाएँ ।’

‘होस्टेल’ बाट अभिनयमा डेब्यु गरेकी श्रेष्ठको ‘बिहे पास’ तेस्रो फिचर फिल्म हो । होस्टल’मा उनले राम्रो चर्चा पाएकी थिइन् । यस अगाडि उनी ‘उत्सव’ फिल्ममा देखिएकी थिइन् । 

‘होस्टेल’झैं ‘बिहे पास’ फिल्मबाट पनि अभिनयको चर्चा र व्यावसायिक सफलता दुवै उनले आस गरेकी छन् ।

prakriti shrestha (1)

महिलालाई धेरै अवसर 

सन् २००९ मा सुदीप न्यौपानेसँग भेटिएकी प्रकृति केही वर्षको प्रेमपछि परिवारिक सहमतिमा २०१२ मा विवाह बन्धनमा बाँधिइन् । विवाहपछि दम्पती अस्ट्रेलिया उडे । त्यसपछि अभिनयमा ग्याप भयो । 

‘श्रीमान्ले फिल्म खेल्न नदिएको भन्दा पनि निर्माता र निर्देशकबाट विवाहपछि फिल्मबाट प्रस्ताव आउन छाड्यो’, उनले भनिन् ‘प्रस्ताव आएका केही फिल्म राम्रो लागेन । त्यसकारण पनि ग्याप भयो ।’ 

आफ्नो व्यक्तिगत जीवनलाई लिएर धेरै अनुमान गरिएको कारण पनि अफर कम आएको उनको धारणा छ । ‘बिहेपास’ सुटिङको समयमा भने प्रकृतिलाई एकदमै कठिन भएको थियो । कोरोनाको लकडाउन समय सुटिङ भएकाले निश्चित मापदण्ड पूरा गरेर उनी अस्ट्रेलियाबाट आउनुपथ्र्यो । 

कथाबस्तु र टिम राम्रो भएको कारण उनले दुःख झेलेर अभिनय गरेकी थिइन् । ‘अब पनि राम्रो कथावस्तु र टिम पाएमा फिल्ममा निरन्तरता दिन कुनै समस्या छैन,’ उनले थपिन् ‘अस्ट्रेलियामा फिल्म धेरै मिस गर्छु । त्यही भएर पनि धेरै ग्यापपछि जोस जाँगर लिएर नेपाल आएकी छु ।’

उनले अस्ट्रेलियामा अभिनय गर्न नसक्ने होइन । केही फिल्म अभिनय अफर पनि आएका थिए । त्यहाँ अभिनय गर्न र टिम मिलाउन च्यालेन्ज भएकोले आफूले त्यहाँ अभिनयबारे नसोचेको उनले सुनाइन् ।

स्पेन्स थ्रिलर, रोमान्टिक, कमेडी फिल्म हेर्न रुचाउने उनी नेपाली फिल्ममा पुरुषको तुलनामा महिलाका लागि धेरै अवसर धेरै रहेको उनले पाएकी छन् । तर सेक्युरिटीको हिसाबले भने धेरै च्यालेन्जिङ रहेको उनको भनाई छ ।

दयाहाङको जोडी 

‘बिहे पास’ रोमान्टिक कमेडी फ्यामेली ड्रामाको फिल्म हो । फिल्ममा श्रेष्ठ अभिनेता दयाहाङ राईको पत्नीको भूमिकामा छिन् ।  फिल्ममा उनको सरकारी अधिकृतको रोल छ भने दयाहाङ सरकारी जागिरको खोजीमा रहेको केटाको भूमिकामा छन् । फिल्मले सरकारी जागिर मानिसको जीवनमा कतिको महत्त्वपूर्ण छ भन्ने पनि देखाएको उनी बताउँछिन् ।

उनी फिल्मलाई एउटा साधारण परिवारको कथासमेत मान्छिन् । ‘‘बिहे पास’ साधारण परिवारको कथा हो । 

श्रीमती लोकसेवा पास गरेर नगरपालिकाको शाखा अधिकृत भएर काममा छिन् । केटाले भने विवाहको समयदेखि नै श्रीमतीलगायत सबैलाई इन्सुरेन्समा जागिर छ भनेर ढाँटेको हुन्छ’, उनले फिल्मको कथा खोलिन् ‘त्यो झुट पक्रिने क्रममा उसलाई ससुराले सरकारी जागिर खाएर देखाउन च्यालेन्ज दिन्छ । त्यो च्यालेन्ज स्वीकार्ने क्रममा आउने उतार चढाव नै फिल्मको गुदी हो ।’

कहिलेकाहीँ कलाकारले अभिनय गरेको फिल्म स्वयम् उसको जीवनसँग पनि मेल खाँदो रहेछ । यो फिल्मको भूमिका आफ्नो जीवनसँग पनि केही मेल खाने उनी बताउँछिन् । 

‘रियल लाइफमा सरकारी जागिर त गरिन । तर चाहेर नचाहेर डकुमेन्ट तयार गर्ने सिलसिलामा चक्कर भने काटियो’, उनले सुनाइन्, ‘श्रीमान्लाई माया गर्ने स्वभावकी मान्छे हुँ म । श्रीमान्लाई नराम्रो भनेको मनपर्दैन ।’ फिल्ममा पनि आफ्नो यस्तै भूमिकामा रहेको उनले खुलाइन् । 

दयाहाङसँग जब फिल्म ‘बिहे पास’ अफर आयो । त्यो समय उनी एकदमै एक्साइटेड थिइन् । किनभने २०१० देखि चिनेपनि उनले दयाहाङसँग स्क्रिन शेयर गर्न पाएकी थिइनन् । भनिन्, ‘दयाहाङसँग फिल्म गर्न पाउनु मेरो करियरको राम्रो एचिभमेन्ट हो ।’

prakriti shrestha (2)

च्यालेन्ज मनपर्छ

‘बिहे पास’मार्फत् प्रकृति लामो समयपछि अभिनयमा देखिएकी हुन् । त्यसैले, फिल्ममार्फत् दर्शकले रुचाउने उनको अपेक्षा थियो । सो अपेक्षा केही हदसम्म पुरा भएको छ । ‘फिल्ममा दर्शकले माया दिइ रहनुभएको छ । अभिनयका राम्रो प्रतिक्रिया पाइरहेकी छु’ उनले दंग हुँदै भनिन्, ‘लामो समयको ग्यापपछि आउँदा दर्शकको माया पाइन्छ कि पाइँदैन भन्ने डर थियो ।’

हुन त प्रकृति फिल्मभन्दा बढी म्युजिक भिडियोमा रुचाइएकी मोडल हुन् । फिल्म ग्याप भएपनि उनको म्युजिक भिडियो भने बेला बेलामा आइरहेको थियो । सोही कारण पनि दर्शकले उनलाई बिर्सिएका थिएनन् । 

म्युजिक भिडियोले चर्चा दिलाउने र फिल्मले करियर बनाउने उनी बताउँछिन् । ‘बिहेपास’मा लामो समयको ग्यापपछि अभिनय गरेपनि अब भने अभिनयमा निरन्तरता दिने सोचमा छिन् उनी । अहिलेसम्म नगरेको भूमिकामा अभिनय गर्ने उनको इच्छा छ । ‘जुन कुरोमा च्यालेन्जिङ छ । त्यो गर्न मज्जा आउँछ,’ उनले भनिन् ।

‘बिहे पास’ दयाहाङसँगको अभिनयको कारण अहिले चर्चामा रहेपनि उनको जोडी भने म्युजिक भिडियोमा अभिनेता पल शाहसँग धेरैले रुचाएका थिए । 

अभिनेता पल शाह अहिले पुनः अभिनयमा फर्किसकेका छन् । पल शाहसँग काम गर्ने अफर आयो भने के गर्नुहुन्छ ? प्रश्न राख्न नपाउँदै उनले जवाफ फर्काइन्, ‘पल शाह फेरि सबै कुरो छाडेर अगाडि बढ्दै हुनुहुन्छ । त्यसमा सबैले सकारात्मक सोच राख्नुपर्छ । पल शाहसँग काम गर्ने अफर आए नस्वीकार्ने कुरै छैन । उहाँसँग काम गर्न तयार छु ।’ 

सबै हिरोसँग काम गर्ने इच्छुक रहेको जनाउँदै उनले भनिन्, ‘यो हिरोसँग अभिनय गर्छु । त्यो गर्दिन भन्ने पोजिसनमा म अहिले पुगेकी छैन ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया