आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

५०० दिन गुफामा बसेर फर्किइन् महिला

मङ्गलबार, ०५ वैशाख २०८०, १३ : ४८
मङ्गलबार, ०५ वैशाख २०८०

गुफामा ५ सय दिन बिताएपछि स्पेनिस खेलाडी बाहिर आएकी छिन् । यस अवधिमा उनले बाहिरी संसारका मानिसहरूसँग सम्पर्क गरिनन् । यो एक विश्व रेकर्ड हुनसक्छ । एथलीट बेट्रिज फ्लामिनी गुफामा प्रवेश गर्दा रुसले युक्रेनमा आक्रमण गरेको थिएन र विश्व कोभिड महामारीको चपेटामा थियो ।

उनी गुफामा बस्नु एक प्रयोगको हिस्सा थियो । यस क्रममा वैज्ञानिकहरूले उनीमाथि निगरानी गरिरहेका थिए ।  गुफाबाट बाहिर आएपछि उनले भनिन्, ‘म अहिले पनि नोभेम्बर २१, २०२१ मा अड्किएकी छु । त्यसपछि विश्वमा के भयो, मलाई केही थाहा छैन ।’

५० वर्षीय फ्लेमिनी गुफामा प्रवेश गर्दा ४८ वर्षकी थिइन् । उनले आफ्नो समय ७० मिटर गहिरो गुफामा बिताइन् । गुफामा बस्दा उनी प्रायः व्यायाम गर्थिन् र ऊनीको टोपी बुन्ने काम गर्थिन् ।

गुफामा उनीसँगै ६० किताब र एक हजार लिटर पानी रहेको उनको सहयोगी टोलीले जनाएको छ । उनको अनुगमन टोलीमा मनोवैज्ञानिक, अनुसन्धानकर्ता र स्पेलियोलोजिस्टहरू थिए, तर कुनै पनि विशेषज्ञले उनीलाई सम्पर्क गरिनन् ।

spain atheleteगुफामा बस्नु कस्तो थियो ?

स्पेनिस टिविई स्टेसनको एक फुटेजमा, उनी गुफाबाट मुस्कुराउँदै निस्किन्छिन् र आफ्नो टोलीलाई अँगालो हाल्छिन् ।

गुफाबाट बाहिर निस्केको केही समयपछि उनले आफ्नो अनुभव साझा गर्दै यो निकै शानदार र अपराजेय भएको बताइन् ।

पत्रकारसँग कुरा गर्दै उनले भनिन्, ‘म डेढ वर्षदेखि मौन छु, म अरू कोहीसँग नभई आफैँसँग कुरा गरिरहेकी छु । ’

उनले बाहिर निस्किएर धेरै बोलिनन् तर पत्रकारले उनलाई आफ्नो अनुभवबारे धेरैभन्दा धेरै कुरा गर्न दबाब दिए । 

 

उनले भनिन्, ‘मैले आफ्नो सन्तुलन गुमाएकी छु । के तपाईंहरुले मलाई नुहाउन दिनुहुन्छ ? मैले डेढ वर्षदेखि पानी छोएकी छैन । म तपाईंहरुलाई केही समयपछि भेट्नेछु । यसो गर्नु तपाईंहरुका लागि ठिक होला ?’

पछि पत्रकारसँगको कुराकानीमा उनले दुई महिनापछि आफूलाई समयबारे केही थाहा नभएको बताइन् । 

उनले भनिन्, ‘एक समयपछि मैले दिन गन्न बन्द गर्नुपर्‍यो । म त १६० वा १७० दिनका लागि गुफामा थिएँ जस्तो लागेको थियो ।’

spain athelete1सबैभन्दा कठिन क्षण

सबैभन्दा कठिन क्षणबारे कुरा गर्दै, फ्लामिनीले भनिन्, ‘एक पटक मौरीले हमला गरेको थियो । मलाई जताततै मौरीले ढाकेको थियो । ’

उनले थुप्रै पटक भ्रमको पनि सामना गर्नुपर्‍यो । यसमा उनले कति पटक त्यस्ता आवाज सुन्थिन् जुन वास्तवमा हुँदैनथ्यो ।

उनले भनिन्, ‘जब तपाईं चुप बस्नुहुन्छ तब दिमागमा यस्ता खालका आवाज आफैँ बन्ने काम गर्छ र यसले भ्रमको स्थिति पैदा हुन्छ ।’

यस प्रयोगको साथ, वैज्ञानिकहरूले यसरी गुफामा एक्लै बस्ने व्यक्तिमा समयको धारणाबाट सामाजिक अलगाव र विचलनको प्रभाव के हुन्छ भनेर पत्ता लगाउन प्रयास गरिरहेका छन् ।

फ्लामिनीको सहयोगी टोलीले सबैभन्दा लामो गुफामा बस्ने विश्व कीर्तिमान तोडेको बताए पनि गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले गुफामा एक्लै बस्ने यस्तो कुनै कीर्तिमान कुनै व्यक्तिले बनाएका छन् कि छैनन् भनेर पुष्टि गरेको छैन ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डमा निश्चित रूपमा यस्ता रेकर्डहरू छन् जसमा दुर्घटनापछि लामो समयसम्म बाँचेर जीवितै बाहिर निस्किएका छन् ।

यस्तै एउटा कीर्तिमान ३३ चिली र बोलिभियन कामदारको नाममा छ । सन् २०१० मा चिलीमा तामा र सुनको खानी भत्किएपछि खानीमा काम गर्ने कामदार ६८८ मिटर गहिराइमा फसेका थिए र ६९ दिनपछि बाहिर निस्कन सफल भएका थिए ।

spain athelete2

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप