आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
संगीत

पहिलो प्रयासमै हिट कुशुम : यसरी भइन् सकम्बरी

फेसबुकले दियो अवसर, अब फिल्म खेल्ने सपना
मङ्गलबार, ०५ वैशाख २०८०, २२ : ३१
मङ्गलबार, ०५ वैशाख २०८०

काठमाडौँ । दर्जनौँ म्युजिक भिडियो अभिनय, सोही हाराहारी मिडिया अन्तर्वार्तामा छाउँदा पनि हिट नहुने थुप्रै व्यक्ति छन्, नेपाली कलाक्षेत्रमा । उनी भने एक म्युजिक भिडियोबाट रातारात चर्चित भएकी छन् ।

उनी अर्थात् कुशुम शर्मा, प्रकाश सपुतको बहुचर्चित सकम्बरी शीर्षक गीतकी फूलमाया । 

कुशुम अहिले फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालको चारैतिर छाएकी छन् । सानादेखि ठुला मिडियासम्मले उनलाई फलो गर्न थालेका छन् । उनको अन्तर्वार्ता राखेर च्यानल हिट पार्ने र डलर झार्ने दाउमा युट्युबरसमेत पछि लागेका छन् । उनले अन्तर्वार्ता केमा दिने, केमा नदिने सोच्न सकेकी छैनन् । अन्तर्वार्ताका लागि आउने धेरै फोनलाई ‘अहिले बाहिर छु, पछि कुरा गर्छु नि’ भन्दै टार्नुपर्ने बाध्यता आइलागेको छ उनलाई । 

यतिबेला नेपाली सङ्गीतिक क्षेत्रमा सपुतको फूलमाया बोलको गीतले तहल्का पिटेको छ । वर्ष २०८० को पहिलो दिन अर्थात् वैशाख १ गते सार्वजनिक उक्त गीतको पक्ष र विपक्षमा एकातिर चर्चा परिचर्चा छ भने अर्काेतिर युट्युबमा ट्रेन्डिङमा १ नम्बरमा छ । दैनिक दश लाख दर्शक बढ्दो छ । सम्भवतः नेपालमा यति छिटो यति धेरै भ्युज पाउने यो पहिलो गीत हो ।

गीतको चर्चाको कारण शब्द, सङ्गीत र स्वरका अतिरिक्त भिडियोसमेत बनेको छ । सपुतकै निर्देशन रहेको भिडियोमा एउटी निर्दोष फूलमायालाई गलत मानिसहरुले कसरी सकम्बरी बनाइ दिन्छन् भन्ने कथा बुनिएको छ ।

भिडियोमा फूलमाया / सकम्बरीको भूमिकामा छिन् कुशुम । आफू अहिले फूलमाया / सकम्बरीको परिचयले चिनिएकी बताउँछिन् उनी । ‘गीत सार्वजनिक भएदेखि नै मलाई सबैले सकम्बरी भनेर चर्चा गरिरहेका छन्’, उनले भनिन् ‘अहिले नाम ओझेलमा छ ।’

अभिनयबाट सकारात्मक प्रतिक्रिया आइरहेको कुशुम सुनाउँछिन् । उनले थपिन्, ‘अभिनयको बेला गीत यतिको हिट हुन्छ भनेर सोचेकै थिइन् । त्यो हिसाबले पनि बढी खुसी छु ।’

फेसबुकले दियो अवसर

कुशुमले म्युजिक भिडियोमा अभिनयको अवसर सपुतका भाइ सुनिलमार्फत हात पारेकी हुन् ।

सुनिल र उनी फेसबुक फ्रेन्डका रूपमा केही वर्ष अगाडि जोडिएका थिए । म्यासेन्जरमा कहिलेकाहिँ कुरा गर्थे । उनी फेसबुको स्टोरीमा आफ्नो भिडियो तथा फोटो अपलोड गरि रहन्थिन्। उनले अपलोड गरेको फोटो तथा भिडियोमा सुनिल लाइक कमेन्ट गर्थे ।

सुनिल आफ्ना दाइको नयाँ गीतको भिडियोका लागि उपयुक्त पात्रको खोजीमा रहेछन् । कुशुमले फेसबुकमा पछिल्लो समय हालेको एक भिडियोमा सुनिलको नजर परेछ । ‘सुनिलले भिडियोका क्यारेक्टर मिल्छ भन्दै अभिनय अफर गर्नुभयो,’ कुशुमले भनिन्, ‘भेटेर भिडियोको स्क्रिप्ट हेरेँ, आफ्नो पर्सनालिटीसँग म्याच हुने देखेर अभिनय अफर स्वीकारेँ ।’

298805724_742673637029216_6119406691342556524_n (1)

कुसुमले कहिल्यै व्यवसायिक भिडियोमा अभिनय गरेकी त थिइनन् तर म्युजिक भिडियो अभिनय गर्ने चान्स पाए केही गर्थें भन्ने अठोट भने थियो । त्यसैले उनी अवसरको खोजीमा थिइन् । ‘अफर मिल्दा धेरै एक्साइटेट थिएँ । दायाँ बायाँ केही नसोची अभिनयमा होमिएँ’ उनले थपिन् ।

भिडियो सार्वजनिक भयो तर भिडियोका कारण परिवारबाट उनलाई सुरुमा टर्चर भयो । कस्तो भिडियो अभिनय गरेको, किन गरेको लगायत अनेक प्रश्न उनीमाथि बर्सिए । गीतको चर्चा र अभिनयको प्रशंसासँगै परिवारले अभिनय बिस्तारै स्वीकारेको पनि उनले सुनाइन् ।

‘जीवनमा पहिलो पटक भिडियो अभिनय गरेको थिएँ । त्यो नै हिट भयो’, उनले खुसी साटिन्, ‘सबैले फूलमाया / सकम्बरी भनेर भिडियोको  नामबाट चिन्नुहुन्छ । प्यारी सकम्बरी, सकम्बरीले मनै जिती भनेर प्रतिक्रिया दिनुहुन्छ ।’ अभिनयको सकारात्मक प्रतिक्रियाले साँच्चै नै राम्रो काम गरेँछु भन्ने लागेको उनले सुनाइन् ।

भिडियोमा उनको अलवा लिजेन्ड कलाकार सुनीलकुमार थापा, प्रकाश सपुतलगायत धेरैको अभिनय छ । नोटिसमा भने उनी मात्र परेकी छन् । तीन दिन, तीन रात लगाएर सुटिङ गरिएको भिडियोका दृश्य देख्दा उनलाई अभिनय पक्कै सहज नभएको अनुमान गर्न सकिन्छ । रमाइलो रमाइलोमै सुटिङ सकिएको पत्तै नभएको उनी बताउँछिन् । 

‘सकम्बरी’ले ढोका खोल्यो

सानैदेखि म्युजिक भिडियो अभिनय सपना सँगालेकी उनी गाउँघर र स्कुलका साङ्गीतिक कार्यक्रममा नाच्ने, गाउने गर्थिन् । त्यसैले म्युजिक भिडियो अभिनय अवसर पाए गर्छु भन्ने उनको मनमा पहिलेदेखि नै थियो । अभिनयको औपचारिक ज्ञान कतै लिन भ्याएकी पनि थिइनन् । ‘‘सकम्बरी’ले मलाई अभिनयको ढोका खालिदियो । अब लगातर अभिनय गर्छु,’ उनले सोच सुनाइन् ।

भिडियोको चर्चा चुलिँदै जाँदा विवादसमेत बढ्दो छ । कतिले भिडियोमा नारीलाई नराम्रो देखाएको आरोप लगाएका छन् त कतिले कला क्षेत्रलाई खराब देखाएको भन्दै आलोचना गरिरहेका छन् । 

भिडियोले कसैलाई नराम्रो नदेखाएको उनको दाबी छ । एउटा निर्दोष नारी कसरी मानिसहरूको चङ्गुलबाट नचाहँदा नचाहँदै गलत बाटोमा पुग्छिन् भन्ने देखाएको छ । 

भिडियोमा उनी विभिन्न व्यक्तिको सिकार भएको देखाइएको छ । 

sakambari-1

त्यो अभिनय अप्ठ्यारो भएन ?

‘भिडियोमा देखिएको व्यक्ति म होइन, फूलामाया हो । भिडियोमार्फत फूलमायाको पीडा देखाइएको हो । त्यसैले खासै अब्ठ्यारो लागेन’, उनले अगाडि भनिन्, ‘अभिनय अगाडि पनि भिडियोको जस्तो कथा सामाजिक सञ्जालमा सुनेको र मिडियाबाट पढेकी थिएँ । त्यसैले अभिनयमार्फत जीवन्त बनाउन सकेँ ।’ रेस्टुरेन्टमा काम गर्ने दिदीबहिनीलाई कति धेरै ह्यारेस्मेन्ट हुन्छ र एजेन्टले कसरी फसाउँछन् भनेर भिडियोले प्रस्तुत गरेको उनी बताउँछिन् । भनिन्, ‘कलाक्षेत्रमा काम गर्नेका लागि नराम्रो देखाउन खोजिएको होइन । विवादको औचित्य छैन ।’

फिल्म पनि खेल्छु

‘सकम्बरी’को सफलतापछि अहिले उनको अभिनयमा मोह झन् बढेको छ । म्युजिक भिडियो मात्र होइन, अब फिल्म अभिनयसमेत गर्ने उनको सोच छ । 

‘भाग्यले कहाँ पुर्‍याउँछ भन्न सक्दिनँ । फिल्म अवसर आए मिस गर्दिनँ’, उनले अगाडि थपिन्, ‘म्युजिक भिडियो अभिनयले धेरैको मन छोयो । फिल्मको अफर अवश्य मिल्छ ।’ फिल्म अभिनय अफर जे आयो त्यो गर्ने  इच्छा होइन उनको । आफूलाई सुहाउने अफर आए, अभिनय गर्ने सोच हो । भनिन्, ‘प्रेमकथा, सामाजिक र अर्ग्यानिक कथाका फिल्म अभिनय गर्छु ।’

फिल्म पनि रुचि राख्ने उनी ‘चिसो मान्छे’, ‘बुलाली’ जस्तो अर्ग्यानिक कथा रुचाउँछिन् । फिल्म क्षेत्रमा अहिले चलेका सबै हिरो हिरोइन रुचाउने उनको फेबरेट अभिनेत्री स्वस्तिमा खड्का, आँचल शर्मा र पूजा शर्मा हुन् ।

उनलाई अभिनय आउने प्रेरणा अभिनेत्री प्रियङ्का कार्कीबाट मिलेको हो । भन्छिन्, ‘प्रियङ्का बोल्ड छिन् । अमेरिकाबाट पनि नेपालमै केही गर्न सकिन्छ भनेर आउनुभएको छ ।’ प्रियङ्कालाई उनी आफ्नो आइडलसमेत मान्छिन् ।

कलाकारितामा लाग्ने मानिसको अक्सर फेसनमा रुचि पाइन्छ । उनी भने फेसनमा खासै रुचि राख्दिनन् रे । समयअनुसार चलेको फेसन आवश्यकता हेरेर प्रयोग भने उनले गर्ने गरेकी छन् । उनलाई सुहाउने पहिरन सारी भए पनि मन पर्नेमा पोसाक भने सारी र वान पिस हो । 

घुमघाममा पनि एकदमै रुचि भएकी उनी प्रकृति प्रेमी हुन् । खानामा भने आफ्नो खासै रुचि नभएको उनले बताइन् । 

aa (1)

आमाको उपचारमा नर्स

पेसाले नर्स उनी दुम्कीबास नगरपालिका, नवलपरासीकी स्थायी बासिन्दा हुन् । बाबुआमा, दाजु भाउजू, बहिनी गरेर उनको परिवारमा ६ सदस्य छन् । 

परिवारका सदस्य सबै गाउँमा भए पनि उनी काठमाडौँमा छिन् । चितवनको कालिका मेडिकल एन्ड टेक्निकल इन्स्ट्युटबाट नर्सिङ अध्ययन सकाएकी उनी थप अध्ययनका लागि गत असारदेखि काठमाडौँमा बस्दै आएकी हुन् ।

नर्सिङमा उनको सानैदेखि रुचि भने थिएन । तीन वर्षअगाडि कोरोनाको लकडाउनमा उनकी आमा धेरै बिरामी भएकी थिइन् । आमा बिरामी हुँदा उनले केही गर्न सकिनन् । लकडाउन भएकाले सजिलै स्वास्थ्य सेवा उपलब्ध पनि भएन ।

‘आफूले केही नजानेका कारण आमा बिरामी हुँदा केही गर्न नसकेकाले नराम्रो लाग्यो’, नर्स पढ्नुको उनले कारण खोलिन्, ‘त्यही बेलादेखि नर्सिङ पढ्छु भन्ने भयो र पढेँ ।’ नर्सिङबाट आफन्तलगायत अन्य बिरामको सेवा गर्ने उनको उद्देश्य हो । 

हुन त अहिले नेपालमा नर्सिङको केही स्कोप छैन । त्यो उनले पनि बुझेकी छन् । त्यसैले उनी विदेश जाने तरखरमा पनि गर्दै थिइन् । विदेशमा पढेर फर्किएर नेपालमा आफ्नो पेसा र अभिनयमा केही गर्ने उनको सोच थियो । यही समय उनलाई भिडियो अफर आयो ।

‘विदेश नजाँदै अभिनयले हिट बनायो,’ उनले अबको सोच राखिन्, ‘अब केही समय यही अभिनय हेर्ने हो ।’ कलाकारितामा राम्रो भयो भने ठिकै छ नत्र भने फेरि विदेश उड्ने उनले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप