आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विभागले ताला लगाएको फार्मेसीबाट खुलेआम औषधि बिक्री

मङ्गलबार, ०५ वैशाख २०८०, २२ : १२
मङ्गलबार, ०५ वैशाख २०८०

सोलुखुम्बु । औषधि व्यवस्था विभाग विराटनगरले ताला लगाएको सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा सञ्चालित एक औषधि पसलले खुलेआम औषधि बिक्री गरिरहेको पाइएको छ । 

विभागले गत चैत २३ गते गरेको अनुगमनका क्रममा विभिन्न कमजोरी औँलयाई तत्काललाई औषधि बिक्री गर्न रोक लगाउँदै ताला लगाएको थियो । उक्त फार्मेसीले अहिले निर्वाधरूपमा औषधि बिक्री गरिरहेको पाइएको हो ।

अनुगमनका क्रममा करिब चार वर्षदेखि फार्मेसी नवीकरण नगरेको तथा औषधि पसलबाटै निर्माण सामग्रीदेखि किराना सामान राखेर बिक्री गरेको पाइएकाले औषधि पसलमा विभागले ताला लगाएको थियो । सबै सामग्री एकै ठाउँमा राखेर बिक्री गर्न नपाउने प्रावधान भए पनि सल्लेरी मेडिकल हलले त्यसको पटकपटक अवज्ञा गर्दै एकै स्थानबाट सबै सामग्री बिक्री गरिरहेको पाइएको विभागले जनाएको छ । 

उक्त कमजोरी सुधार गर्न पटकपटक समय दिँदासमेत अटेर गरेकाले विभागमा नै उपस्थित हुन सात दिने अल्टिमेटमसहित चैत २६ गते औषधि पसलतर्फको द्वारमा ताला लगाइएको फार्मेसी निरीक्षक दीपेन्द्र खड्काले बताए । 

उक्त फार्मेसीले विसं २०७५ पछि दर्ता नवीकरण नगरेको पाइएको विभागले जनाएको छ । औषधि पसलतर्फको ढोकामा ताला लगाए पनि अर्को तर्फको ढोका प्रयोग गरी उक्त फार्मेसीले औषधि बिक्री गरिरहेको पाइएको हो । 

विभागले भने उक्त फार्मेसी सम्पर्कमा नआएको बताएको छ । फार्मेसीको नवीकरण फेल भइसकेको र आफूले पसल सञ्चालक भगवती गुरुङ (बज्राचार्य) लाई पटकपटक ताकेता गर्दा सम्पर्कमा नआएको औषधि व्यवस्था विभागका प्रमुख टेकेन्द्र मिश्रले बताए । नागरिकको स्वास्थ्यमाथि खेलबाड गर्ने छुट कसैलाई नभएको भन्दै प्रहरीको सहायता लिएर सञ्चालकलाई नै पक्राउ गर्न लगाउनुको विकल्प नरहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप