आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपालको गतिलो आम्दानीको स्रोत ऊर्जा नै हो : अर्थमन्त्री डा.महत

बुधबार, ०६ वैशाख २०८०, १५ : ५८
बुधबार, ०६ वैशाख २०८०

काठमाडौँ । ऊर्जा उत्पादन क्षेत्रमा निजी क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । ऊर्जा सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै डा. महतले ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदानबारे चर्चा गरेका हुन् । सम्मेलन हिजो मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका थिए ।

सम्मेलनमा डा. महतले भने, ‘९० को दशकभन्दा अगाडि एक दुई मेगावट विद्युत् उत्पादन हुन्थ्यो । जब निजी क्षेत्र विद्युत् उत्पादनमा संलग्न भयो, त्यसपछि राष्ट्रिय प्रसारणमा विद्युत् थपियो । जसले गर्दा माग पूर्ति गर्न ठूलो सहयोग पुग्यो । ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको छ ।’ 

‘ऊर्जाको सम्भावना देखेर नै निजी क्षेत्रका लगानीकर्ता हाइड्रोमा आकर्षित भएका हुन् । निजी क्षेत्रबाट ऊर्जा उत्पादनले नेपाल आत्मनिर्भर मात्र बनेको छैन, विदेशमा विद्युत् निर्यात गर्न थालेको छ । यो हाम्रा लागि खुसीको खबर हो । यसले ऊर्जामा लगानीकर्तालाई आकर्षित समेत गरेको मन्त्री डा. महतको भनाइ थियो ।

मन्त्री डा. महतले भने, ‘नेपालमा ऊर्जामा लगानी गर्न राष्ट्रिय अन्तर्राष्ट्रिय लगानीकर्तालाई आव्हान गर्दछु । लगानीकर्तालाई सहयोग गर्न सरकार तयार छ । सरकारले लगानीको प्राथमिकतामा ऊर्जालाई लिएको हुनाले नेपालमा लगानीकर्तामा आएका समस्या समाधान गर्न सरकार तयार छ । लगानीकर्तालाई इन्सेन्टिभ दिन तयार छौं । निजी क्षेत्रले पछिल्लो समय गरेको लगानीले ऊर्जामा राम्रो भएको छ । नेपालको गतिलो आम्दानीको स्रोत ऊर्जा नै हो ।’

उनले भने, ‘सरकारले विद्युत् भारत निर्यात गर्ने संयन्त्र बनाउने छ । विद्युतका लागि बंगलादेश अर्को ठूलो बजार हो । बंगलादेशसँग विद्युत् व्यापार सम्झौतापछि त्यसतर्फ निर्यात गर्न सकिने छ । विश्व बैंकजस्ता ठूला लगानीकर्ताहरु समेत नेपालका ऊर्जा क्षेत्रमा लगानी गर्न इच्छुक छन् । विद्युत् उत्पादनमा लगानी गर्न इच्छुक अन्य धेरै कम्पनीहरु पाइपलाइनमा रहेको डा. महतले बताए । उनीहरु मध्यम खालका परियोजनामा चासो देखाएको मैले बुझेको छु ।’ 

विद्युतीय खपतमा पनि हामी त्यत्तिकै हुन जरुरी रहेको मन्त्री डा. महतले बताए । यातायातको क्षेत्रलाई विद्युतीकरण गर्नुपर्छ । घरयासी प्रयोजनलगायत अन्य क्षेत्रबाट विद्युत् खपत बढाउन सकिने डा. महतको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप