आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
विकास निर्माण

५ पटक म्याद थप्दा पनि हुलाकी सडक अधुरै

बिहीबार, ०७ वैशाख २०८०, १२ : २३
बिहीबार, ०७ वैशाख २०८०

धनगढी । ठेकेदार कम्पनीको चरम लापरवाहीले कञ्चनपुर जिल्लामा निर्माणाधीन हुलाकी राजमार्ग निर्माण कार्य अधुरै रहन पुगेको छ । तोकिएको समय गुज्रेपछि पटक–पटक थपिएको म्यादमा पनि निर्माण कार्य सम्पन्न हुन नसकेको हो ।

अनेकन बहाना बनाएर निर्माण कम्पनीले तोकिएको समयमा काम गर्न नसक्दा सडक अधुरै छ । जिल्लाको डोकेबजारदेखि बेदकोटको दैजीसम्मको ६२ किलोमिटर हुलाकी सडक निर्माणका लागि २०७३ फागुनमा सम्झौता भएको थियो ।

अझै २६ किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ । निर्माण सुरु भएको ६ वर्षसम्म ७० प्रतिशतमात्र काम भएको छ । हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका सूचना अधिकारी दीपक सुनारले निर्माणमा ढिलासुस्ती हुँदै आएको बताए ।

उनले भने, ‘कोरोना महामारी, निकुञ्ज क्षेत्रमा स्वीकृति लिनुपर्नेलगायत कारणले काममा ढिलाइ भयो ।’

हुलाकी सडक निर्माणका लागि सम्झौतामा उल्लेखित समय गुज्रिएपछि पाँच पटक म्याद थप गरिए पनि अझै पूरा हुन सकेको छैन । हुलाकी सडकको ६२ किलोमिटर सडक ३ प्याकेजमा ठेक्का दिएर काम थालिएको थियो । डोकेबजारदेखि बेलौरीसम्मको पहिलो प्याकेजको २० किलोमिटरमा ९० प्रतिशत काम सम्पन्न भएको छ । अन्य दुई प्याकेजमा काम अधुरै छ ।

‘पहिलो प्याकेज ३६ करोड ४७ लाखमा शर्मा–राजेन्द्र जेभीले निर्माणको जिम्मा पाएको थियो । पहिलो प्याकेजको काम अन्तिमतिर छ,’ इन्जिनियर सुनारले भने, ‘तेस्रो प्याकेजमा काम भइरहेको छ, दोस्रोमा स्थगनजस्तै छ ।’

Hulaki sadak1

बेलौरीदेखि बेल्डाडीसम्मको २० किलोमिटर प्याकेजको लागत ४१ करोड ४१ लाख रुपैयाँ छ । उक्त प्याकेजमा हालसम्म साढे नौ किलोमिटर सडकमात्र कालोपत्र भएको छ । सोही प्याकेजको चुँइ क्षेत्रमा भारतीय पक्षको अवरोधका कारण काममा अवरोध भएको छ । भारतीय सीमा सुरक्षा बलले सडक भारतमा पर्ने दाबी गर्दै कालोपत्रमा अवरोध गर्दै आएको छ ।

दोस्रो प्याकेज निर्माणको जिम्मा पाएको बाबा हंस–सिद्धिसाई जेभीले पाँच पटक म्याद थप भइसक्दा मुस्किलले ५० प्रतिशत काम सकेको छ । त्यसैगरी हुलाकी सडकको अन्तिम प्याकेज (बेल्डाडी–दैजी) २२ किलोमिटर सडकमा ६ वर्षको अवधिमा साढे आठ किलोमिटर सडकमात्रै कालोपत्र भएको इन्जिनियर सुनारले बताए ।

‘दोस्रो र तेस्रो प्याकेजको काम सक्ने समय आगामी असार मसान्तसम्म तोकिएको छ,’ उनले भने, ‘६ वर्षको अवधिमा जम्मा ३८ किलोमिटरमात्रै सडक कालोपत्र भयो ।’

निर्माण व्यवसायीले सम्झौता अनुसार निर्धारित समयभित्रै कार्य पूरा नगर्दा सडक निर्माणमा ढिलाइ भएको हो । निर्माणाधीन सडकमा पर्ने स्थानीय पालिका र स्थानीयवासीले समयमा काम सक्न पटक–पटक दबाब दिँदै आएका छन् ।

पहुँचवाला ठेकेदार

गत असारमा चार–चार पटकको म्याद थप गर्दासमेत समयमै काम गर्न नसकेको भन्दै हुलाकी राजमार्ग आयोजनाले निर्माण कम्पनीविरुद्ध सूचना नै प्रकाशित गरेको थियो । तर शक्ति केन्द्र नजिकका ती ठेकेदारहरुको अगाडि आयोजना कार्यालय निरीह देखिएको छ ।

शर्मा राजेन्द्र जेभीका सञ्चालक भीम साउद नेपाली कांग्रेस डडेल्धुराका जिल्ला सभापति एवं परशुराम नगरपालिकाका पूर्व मेयर हुन् । बाबाहंस सिद्धिकी शाही सञ्चालक दीपेन्द्र बहादुर शाही नेपाली कांग्रेस डोल्पा जिल्ला सभापति हुन् ।

हुलाकी सडक निर्माणमा चरम लापरवाही हुन थालेपछि बेलडाँडीका स्थानीय समेत रहेका एमाले प्रचार प्रसार विभाग केन्द्रीय सदस्य रोशन खड्का नेतृत्वको टोलीले शर्मा राजेन्द्र जेभीका सञ्चालक भीम साउदलाई भेटेर शीघ्र कालोपत्रे गर्न दबाब दिएका थिए । एमाले प्रचार विभाग सदस्य खड्काको टोलीसँग ठेकेदार साउदले वर्षा सकिएलगत्तै काम गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

कञ्चनपुर र कैलालीका सदरमुकाम जोड्ने उक्त सडक कालोपत्रे भए दक्षिणी क्षेत्रका स्थानीयको हरेक गतिविधिमा सहजता आउने छ । कैलाली र कञ्चनपुरको आर्थिक विकासमा ठूलो टेवा पुग्ने भए पनि निर्माण कम्पनीको ढिलासुस्तीले यस क्षेत्रका नागरिक सास्ती खेप्न बाध्य छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप