आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
चितवन-२ उपनिर्वाचन

रविको जित निकाल्ने दाउ, प्रतिष्ठाको लडाइँमा कांग्रेस र एमाले

बिहीबार, ०७ वैशाख २०८०, २३ : २१
बिहीबार, ०७ वैशाख २०८०

चितवन–२ नेकपा एमालेको गढ मानिन्छ । विगतमा लगातार २  पटक सो क्षेत्रको नेतृत्व एमालेले नेतृत्व लिएको थियो । एमालेबाट सो क्षेत्रमा लगातार दुई पटक कृष्णभक्त पोखरेलले निर्वाचन जितेका थिए ।

तर, गत मंसिरमा भएको आम निर्वाचनमा सो क्षेत्रको निर्वाचन परिणाम ठुला दलको कल्पनाभन्दा फरक रह्यो । उक्त निर्वाचनमा सशक्त उपस्थित रहेको कांग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेदवार अप्रत्यासित रुपमा पराजित भए । मुख्यतः सत्ता गठबन्धनबाट सो क्षेत्रमा उम्मेदवार रहेका पूर्व मन्त्री एवम् कांग्रेस केन्द्रीय सदस्य उमेश श्रेष्ठ र एमालेका कृष्णभक्त पोखरेल पराजित भए । उनीहरुलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले करिब ३४ हजार २८१ मतान्तरसहित पराजित गरेका थिए ।

लामिछानेले ४९ हजार २६४ मत प्राप्त गर्दा सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार श्रेष्ठले १४ हजार ९८३ र एमालेका उम्मेदवार पोखरेलले १४ हजार ६४७ मत पाएका थिए । आफ्नै गढमा पनि एमालेका उम्मेदवार तेस्रो भए भने माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलहरुको साथ पाएका कांग्रेसका श्रेष्ठ दोस्रो स्थानमा रहे ।

वैशाख १० गते सो क्षेत्रमा पुनः निर्वाचन हुँदैछ । सो क्षेत्रबाट निर्वाचन जितेका लामिछाने गत पुस १० मा बनेको नयाँ समीकरणपछि केही समय उपप्रधानमन्त्रीसहित गृहमन्त्री समेत बने तर, नागरिकता विवादमा दोषी ठहर भएपछि उनको सांसद पद खारेज भयो । जसका कारण सो क्षेत्रमा उपनिर्वाचन हुँदैछ ।

चितवन–२ मा हुने उपनिर्वाचनमा राजनीतिक दल र स्वतन्त्रबाट कुल २२ जनाको उम्मेदवारी परेको छ । सबै उम्मेदवार आ–आफ्नो एजेण्डासहित चुनावी मैदानमा होमिएका छन् ।

उपनिर्वाचनका लागि कांग्रेसले निवर्तमान जिल्ला सभापति जितनारायण श्रेष्ठलाई चुनावी मैदानमा उतारेको छ भने एमालेले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको छ । यता रास्वपाका सभापति रवि लामिछाने सो क्षेत्रमा पुनः चुनाव जितेर संसद छिर्ने योजना अनुसार उम्मेदवार बनेका छन् ।

सो क्षेत्रमा लामिछाने र मुख्य दलका उम्मेदवारबीच नै प्रतिस्पर्धा हुने निश्चित छ । सो निर्वाचनका लागि कांग्रेससहितका दलहरु योजनावद्ध ढंगबाट गठबन्धनको मत दायाँबायाँ नहुने गरी चुनावी अभियानमा जुटेको छ । एक हिसाबले कांग्रेस मंसिर ४ भन्दा पहिलेको सशक्त शक्तिको रुपमा लयमा फर्किदै छ । कांग्रेस कुनै पनि अवस्थामा सो क्षेत्रमा जित निकाल्ने रणनीतिमा छ ।

चितवन–२ मा रास्वपाका सभापति लामिछानेले गत मंसिरको निर्वाचनमा अन्य दलका कार्यकर्ताको मतसमेत पाएका थिए । सोही अवस्थाको परिकल्पना सहित उपनिर्वाचनमा लामिछाने उक्त क्षेत्रमा जित दोहोर्याउन सक्रिय छन् ।

यता एमाले भने आफ्नो विरासत जोगाउन प्रयासरत छ । २ पटक नेतृत्व गरेको उक्त क्षेत्रमा आगामी निर्वाचनमा विरासत गुमाउन चाहँदैन । बलियो संगठनको साथमा एमाले सो क्षेत्रमा चुनाव जित्नका लागि विभिन्न रणनीति बनाएर अघि बढिरहेको छ ।

त्यस्तै रास्वपा भने गत निर्वाचनमा प्राप्त मत जोगाउन प्रयासरत छ । पछिल्लो समय भएका राजनीतिक घटनाक्रमबाट पार्टी र उम्मेदवारलाई क्षति नहोस् भन्ने उद्देश्य अनुसार रास्वपा रक्षात्मक रणनीतिमा अभियान चलाइरहेको छ ।

चितवन–२ अन्तर्गत ईच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र भरतपुर महानगरपालिका १० वटा वडा पर्दछन् । भरतपुरका वडा नम्बर १, २, ३, ४, ५, ७, १०, ११, १२ र २९ चितवन–२ मा पर्दछन् । गत मंसिरको निर्वाचनपछि सो क्षेत्रमा ४८० मतदाता थपिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार उपनिर्वाचनका लागि उक्त क्षेत्रमा कुल १ लाख २४ हजार ६९५ जना मतदाता छन् ।

चितवन–२ मा रास्वपाका सभापति लामिछानेले गत मंसिरको निर्वाचनमा अन्य दलका कार्यकर्ताको मतसमेत पाएका थिए । सोही अवस्थाको परिकल्पना सहित उपनिर्वाचनमा लामिछाने उक्त क्षेत्रमा जित दोहोर्याउन सक्रिय छन् ।

कांग्रेस र एमाले सो क्षेत्रमा गुमेको विरासत फर्काउन पार्टी संगठन मिलाउन र मत बाहिर जान नदिन कडिकडाउ गरिरहेका छन् । दुवै दलका लागि आगामी निर्वाचन प्रतिष्ठाको लडाइँ बनेको छ ।

चुनावी अभियान र माहोललाई विश्लेषण गर्दा विगतको तुलनामा लामिछानेको क्रेज केही हदसम्म घटेको देखिन्छ । यद्यपि अझै पनि चितवन–२ को निर्वाचन परिणाम मंसिरकै जस्तो आउने अनुमान गरिएको छ ।

लामिछानेका समर्थक गत निर्वाचनभन्दा बढी मतान्तर हुने दाबी गरिरहेका छन् । त्यसलाई परिणाममुखी बनाउन उनी आफूले गरेको काम र ठुला दलहरुले आफूमाथि घेराबन्दी गरेको भन्दै फेहरिस्त बोकेर गाउँगाउँ पसेका छन् । तर, माहोल पहिलेजस्तो छैन, बदलिएको छ ।

पछिल्लो समय सार्वजनिक भएका विभिन्न विवादका कारण आम मतदातामाझ उनको चर्चासँगै आलोचना पनि भेटिन्छ । पुराना राजनीतिक दलको कार्यशैलीप्रति असन्तुष्ट मतहरु उनको पक्षमा खस्ने देखिन्छ । उनको पार्टीप्रति केही युवा पुस्ताको आकर्षण अझै कायम छ । लामिछानेको व्यक्तित्व र कार्यशैलीका कारण केही लोकप्रिय मत उनले पाउँदा चुनावमा थप सहजता प्रदान गर्ने देखिन्छ । चुनावमा लामिछानेका लागि सार्वजनिक भएका विवादहरु घातक बन्ने देखिन्छ । आम नागरिकमा सो क्षेत्रमा फेरि पनि उपनिर्वाचन हुने शंका छ, जसले लामिछानेलाई असहज बनाउने देखिन्छ । यद्यपि विगतको भन्दा उत्साहित बनेर आम मतदाताहरुले आफूलाई चितवन–२ मा पुनः जिताउने उनी बताउँछन् । आफू अन्यायमा परेकाले न्यायका लागि जनतामाझ आएको उनको भनाइ छ ।

कांग्रेस र एमाले भने पार्टीभित्रको अन्तरविरोध मिलाउन सक्रिय छन् । उनीहरु पार्टीको संगठित मत जोगाउन सकेको खण्डमा चुनाव जित्न सहज हुने रणनीति अनुसार अभियानमा छन् ।

कांग्रेस उम्मेदवार श्रेष्ठ पार्टीभित्रको असन्तुष्ट पक्षलाई मिलाउँदै चुनावी अभियानमा जुटेका छन् । सत्ता गठबन्धनको मत बाहिर नजाओस् भन्ने उद्देश्य अनुसार उनी सत्ता साझेदार दलहरुलाई मिलाउन व्यस्त छन् । पुर्ख्यौली थलो इच्छाकामना, जन्मभूमि कालिका भएका श्रेष्ठको राजनीतिक थलो भरतपुर हो । स्थानीय उम्मेदवार भएका कारणले पनि उनलाई आगामी चुनाव केही सहज हुने देखिन्छ ।

चितवनको भूगोलले आफूलाई प्रस्ट चिनेको भन्दै यस पटक आफ्नो जित सुनिश्चित रहेको श्रेष्ठ बताउँछन् । चितवन–२ को समस्या, नागरिकहरुको अवस्थाको विषयमा आफू जानकार रहेको भन्दै ती समस्या समाधानमा आफ्नो महत्त्वपूर्ण भूमिका रहने उनको भनाइ छ ।

यसअघि कांग्रेसबाट बागी उम्मेदवार बनेका दिनेश कोइराला, पूर्वसभापति कृष्णलाल सापकोटा, पूर्वसांसद भीमबहादुर श्रेष्ठ र महासमिति सदस्य मीना खरेल अहिले श्रेष्ठको पक्षमा खुलिसकेका छन् । कांग्रेस पूर्व सभापति विकास कोइरालाको पनि कारवाही फुकुवा भएको छ । जसले श्रेष्ठलाई चुनावमा केही राहत हुने देखिन्छ । उनीहरु सबै श्रेष्ठलाई जिताउन चुनावी मैदानमा खटिएका छन् ।

कांग्रेसले श्रेष्ठलाई चुनाव जिताउन उपसभापति धनराज गुरुङ, महामन्त्रीहरू विश्वप्रकाश शर्मा, गगन कुमार थापा लगायतका केन्द्रीय नेताहरुलाई चितवन उतारेको छ ।

आफ्ना उम्मेदवार जिताउन एमालेले पनि शीर्ष नेतृत्व चितवनमा उतारेको छ । एमालेले उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराई, पोलिटव्यूरो सदस्य गोकुल बाँस्कोटा लगायतलाई चितवनमा उतारेको छ । एमालेले संगठित मत बाहिर जान नदिन राणनीतिक रुपमा तल्लो तहसम्म विभिन्न अभियान संचालन गरिरहेको छ ।

चितवनको माडीमा जन्मिएका न्यौपाने देश विकास र नागरिकको जीवनस्तर सुधार्न एमालेले प्रस्ट भिजन तयार गरेकाले अन्य उम्मेदवारभन्दा आफू सक्षम रहेको दाबी गर्छन् । भौगोलिक र राजनीतिक रुपमा आफू चितवनका नागरिकहरुको मतलाई न्याय गर्न सक्ने एजेण्डा बोकेर चुनावी मैदानमा होमिएको उनको भनाइ छ ।

गत निर्वाचनमा पुराना दलहरुको वितृष्णा मतमा पोखेका चितवन–२ का आम मतदाता यस पटक भने केही सचेत बनेको देखिन्छ । चितवन–२ मा भेटिएका केही मतदाता यस पटक विगतको जस्तो एकोहोरो शैलीमा मतदान गर्ने पक्षमा देखिँदैनन् । उनीहरु भूगोलको अपनत्व हुने गरी मतदान गर्ने पक्षमा छन् । आम नागरिकको मनोभावना बुझ्न सक्ने नेतृत्व चितवन–२ ले खोजेको भन्दै यस पटक मतमा छनौट गर्न सक्ने परिस्थिति बनेको उनीहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप