आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

कर्णालीमा मन्त्रिपरिषद्ले पायो पूर्णता : यस्तो छ मुख्यमन्त्री शर्माको टिम

बिहीबार, ०७ वैशाख २०८०, १४ : ४२
बिहीबार, ०७ वैशाख २०८०

सुर्खेत । कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ । बिहीबार नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।

प्रदेश सरकारमा सत्ता गठबन्धनबीचको भागबण्डा अनुसार मुख्यमन्त्री र ४ मन्त्रालय माओवादीले पाएको छ भने नेपाली कांग्रेसले तीन मन्त्रालय पाएको छ । माओवादीबाट भौतिक पूर्वाधार मन्त्रीमा माओवादीका मंगलबहादुर शाही, भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा भीमप्रकाश शर्मा, आन्तरिक मामिला तथा कानुनमन्त्रीमा कृष्णबहादुर जिसी र जलस्रोत तथा ऊर्जा विकासमा उर्मिला विश्वकर्मा छन् । जसमध्ये विश्वकर्मा बाहेकका तीन जना ११ माघमै मन्त्री बनिसकेका थिए ।

यस्तै कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा बेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्गबहादुर पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार बिसी छन् । कांग्रेसभित्र बिसी संस्थापन इतर पक्षको प्रतिनिधित्व गर्दछन् भने सिंह र पोखरेल संस्थापन पक्षका हुन् ।

२७ पुसमा नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका शर्माले ११ माघमा मन्त्रिपरिषदलाई पूर्णता दिएका थिए ।

तीन मन्त्रालयसहित सरकारमा सहभागी भएको एमाले राष्ट्रिय राजनीतिमा समीकरण बदलिएसँगै २६ चैतमा सरकारबाट बाहिरिएको थियो । अब कांग्रेस, माओवादी र एकीकृत समाजवादीको सहकार्यमा सरकार अघि बढ्ने छ । अढाई वर्षपछि कांग्रेसले सरकारको नेतृत्व लिने गरी सहमति भएको बताइएको छ ।

प्रदेशमा कांग्रेसका १४, माओवादीका १३ र एकीकृत समाजवादीका १ जना सांसद छन् । १० पुसको समीकरण अनुसार झण्डै ७५ दिन सरकारमा रहेको नेकपा एमाले हाल प्रमुख प्रतिपक्षको भूमिकामा छ ।

यसअघि माघ ६ र  १७ चैत्रमा गरी दुई पटक विश्वासको मत लिएका मुख्यमन्त्री राजकुमार शर्माले अब तेस्रो पटक विश्वासको मत लिने भएका छन् । एमालेले समर्थन फिर्ता लिएसँगै उनले तेस्रो पटक विश्वासको मत लिनुपर्ने अवस्था आएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप