आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
बहस

प्रकाश सपुतको ‘सकम्बरी’ले उठाएको बहस

'हातमुख जोर्नकै लागि कुनै स्त्री वा पुरुष देहव्यापार गर्न बाध्य छ भने यसमा राज्यको दोष हुन्छ'
बिहीबार, ०७ वैशाख २०८०, १६ : १२
बिहीबार, ०७ वैशाख २०८०

काठमाडौँ । कलाकार प्रकाश सपुतको स्वर, शब्द, लय, कथा र निर्देशन रहेको ‘सकम्बरी’ नाम दिइएको गीतिकथाको भिडियो सामग्री यतिखेर चर्चामा छ । कलाकार सपुतले समाजको एउटा खास मुद्दालाई उठाएका छन्, तर गलत ढंगले । 

गीत र कथा अनुसार, गाउँबाट सहर आएकी एउटी युवती यौन पेसामा संलग्न हुन्छे, उसलाई पुरुष पात्रले अनेक प्रश्न गर्छ, पापको त्रास देखाउँछ । यौन बजारको दलदलमा त्यस युवती फसेको गीत र कथाले औँल्याएको छ, तर दलदल कसले बनायो ? किन बन्यो ? जहाँ सोझा युवतीहरू फस्न पुग्छन् भन्नेसम्म सर्जकको सोच पुगेको छैन । 

आखिर दलदल (यौन बजारको भास) बनाइएको छ भने त्यहाँ सोझा स्त्री मात्रै फस्दैनन्, जोसुकै फस्न सक्छन्, फसिरहेकै छन् । यौनको बजार संसारभरि नै विभिन्न रूपमा छन् । 

यस दलदलले स्त्रीलाई एउटा ‘स्तर’ दिन्छ, त्यो स्तरमा पुगेकी स्त्रीलाई हेरेर आफूलाई माथिल्लो (इज्जतिलो) स्तरमा रहेको ठान्नेहरू हाँस्छन्, दयाभाव देखाउँछन् । त्यहाँ आफू र आफ्नाहरू कुनै हालतमा पुग्न हुँदैन भन्ने भयभावका कारण यस्ता गीत सर्वसाधारणमा रुचाइन्छन् । 

त्यो दलदलमा फस्नदेखि जोगाउने र सँगसँगै त्यो दलदल नै पुर्नतिर संसारका मान्छे लाग्नुपर्नेछ । प्रश्न यो हो– पीडितलाई प्रश्न गरेर होइन, पीडकलाई संरक्षण गर्ने व्यवस्थालाई प्रश्न गरेर कला–साहित्यको सिर्जना हुन आवश्यक छ । 

यौनबजारको प्राचीनता
सभ्यताको इतिहासमा, विभिन्न समुदायले प्रकृति र समाजसँगको आफ्नो संघर्षलाई लिएर अनेक कथा बुन्दै आए । यसरी नै कला, साहित्य र इतिहासको निर्माण हुँदै आयो । खासगरी विजेता र बलशालीकै कथा र इतिहासले समाजमा चर्चा पाउँदै आएका छन् । 

आफ्ना पुर्खा वा शासक वर्गले निर्माण गरेका पौराणिक कथा र इतिहासकै जगबाट मानिस निर्देशित हुन चाहन्छ । तर सबै पौराणिक कथा र इतिहासले समाजका सबै मानिसलाई समेट्दैन । यसको मारमा स्त्रीहरू पर्दै आएका छन् । 

सिकार र युद्ध कार्यमा प्राकृतिक रूपमा पुरुष (भाले) नै अगाडि थियो, बलियो थियो । जब मानिस सामूहिक यौन सम्बन्धबाट विवाह संस्थामा आयो अर्थात् एउटा पुरुषले एक वा एकभन्दा बढी स्त्रीलाई पत्नीका रूपमा निजी सम्पत्तिजस्तै बनाउन थाल्यो, तब पुरुषका लागि भयानक चुनौती सिर्जना भयो । त्यो थियो– यौनशक्तिको वृद्धि गर्नुपर्ने बाध्यता ।

 पुरुषले सुरुमा यौनचाहना र यौनसन्तुष्टिको विषयमा सोचेको थिएन । समूहमा बस्दा र यौनमाथिको प्रतिबन्ध कडा नहुँदासम्म यौन चाहना र सन्तुष्टिको विषय पुरुष र स्त्री दुवैका लागि महत्त्वपूर्ण थिएनन् । 

जब यौनका नियमहरू कडा बन्दै गए, तब समाजका स्त्री र पुरुष दुवैले विद्रोह गर्न थाले । हिन्दू समाजमा जब चार वर्ण (ब्राह्मण, क्षत्री, वैश्य र शूद्र) बनाइयो, त्यसपछि जति पनि वर्णसङ्कर (जात)हरू जन्मेका छन्, यसो हुनुमा कि स्त्रीले विद्रोह गरे या बलात्कृत भए । कुन–कुन वर्णका स्त्री र पुरुषको सन्तानको के वर्ण हुने भन्ने मनुस्मृति लगायत ग्रन्थमा तोकिएका छन् । 

चाणक्य नीति भन्छ, ‘पुरुषमा भन्दा स्त्रीमा भोजनको इच्छा र क्षमता दुई गुना, लज्जा चार गुना, साहस ६ गुना र कामवासना आठ गुना बढी हुन्छ ।’ 

चाणक्यले यो भनाइ पनि शास्त्रहरू र समाजकै अध्ययनबाट लेखेका थिए । समागमबाट स्त्रीलाई सन्तुष्ट कसरी पार्ने ? ऊ सन्तुष्ट भइन भने अन्य पुरुषसँग सम्बन्ध राख्ने त होइन ? यो त्रास पुरुषलाई यस कारण पनि थियो कि उसलाई आफ्नै वंश वृद्धि गर्नु थियो । 

स्त्रीलाई अन्य पुरुषतिर लहसिन नदिन समाजमा सानै उमेरमा विवाह गरिदिने अभ्यास हुँदै आए । युद्ध, सिकार लगायत काममा पुरुष घरबाहिर जाने हुँदा स्त्रीलाई बाँध्ने गरी सामाजिक वा धार्मिक नियम बनाइए ।
 यस सम्बन्धमा रामायणकी पात्र सीताको एउटा प्रसंग छ । उनलाई वनमा एक्लै छाडेर जानुपर्दा लक्ष्मणले लक्ष्मणरेखा बनाएको हामीले सुनेकै वा पढेकै छौँ । यसले सांकेतिक रूपमा धार्मिक नियमहरूतर्फ औँल्याउँछ । 

धार्मिक नियम तोड्नेलाई दण्डमा अर्को त्रास थपियो– पाप ! समाज वा राज्य चलाउनका लागि मानिसलाई पापको त्रासमा राख्नु प्राचीन शासकका लागि एक प्रकारको बाध्यताजस्तै थियो । आजको मानिस हिजोको समाजले सिर्जना गरेका विभेदप्रति सजग रहनैपर्छ । 

जीवन र समाज चलाउन मान्छेको खोजमा पोसिलो भोजन र यौनसन्तुष्टि पनि पर्दै आयो । लामो समयसम्म समागम कसरी गर्ने भन्ने ज्ञानको खोजीमा पनि पुरुषहरू लागे र जन्मियो– कामसूत्र । यो कामकला वा कामसूत्रको जन्म सबै समाजमा विभिन्न किसिमले हुँदै आए । यद्यपि, पुरुषवादी समाज, जहाँ आर्थिक (अंश) रूपले स्त्री सुरक्षित थिएनन्, त्यहाँ शक्तिशाली पुरुषले स्त्रीहरू छान्न थाल्यो । 

यसपछि शृंगारकलाको विकास हुन थाल्यो । युद्धका कारण पुरुषहरूको मृत्यु हुँदा स्त्रीको संख्या बढी हुन्थ्यो, यसकारण स्त्रीहरूले सम्झौता गर्नुपथ्र्यो । जहाँ सुरक्षित नगरहरू हुन्थे, त्यहाँ नगरवधु (नगरकै पत्नी)रहने शृंखला सुरु हुन थाल्यो । सम्पत्तिमाथि स्वामित्व रहने र समाज र राज्यमा प्रभुत्व रहने पुरुष नै नगरवधुको वर (क्षणिक पति) हुने गर्थे । यसरी वेश्यावृत्ति अर्थात् धन वा आवश्यकताको वस्तु लिएर समागम गर्ने अभ्यास सुरु भयो । यसमा समाजका उच्च वर्गका पुरुष नै संलग्न रहन्थे । वेश्याले गर्ने अपराधमा राज्यले गर्ने दण्ड सजाय पनि अन्य स्त्रीको तुलनामा बढी थियो । १९१० को मुलुकी ऐनसम्मै ‘सद्धे महिलाको कपाल काटिदिए रु. ४० र वेश्याको काटिदिए रु. २० जरिवानाको व्यवस्था थियो ।’ 

हाम्रा शास्त्रहरूले अप्सराहरूको कल्पना गरेको छ । सुन्दर र कामुक स्त्रीहरूबाट नडगमगाउने गरी मन बलियो बनाउन हिजो अनेक शास्त्र र नीति लेखिए । एकातिर पुरुषहरूले कस्तो अंग–प्रत्यंग, हावभाव भएकी स्त्री कस्तो चरित्रकी हुन्छे भन्ने खोजी गरिरहे, अर्कोतिर नगरवधुहरूले पुरुषको शक्ति र कमजोरीलाई छाम्थे । यही आधारमा स्मृति, नीतिहरूमा स्त्री र पुरुषका गुण, स्वभाव वा चरित्रहरू समेटिन थाले । 

मनुस्मृति भन्छ– ‘अंगभंग नभएकी, सुन्दर नाम भएकी, हाँस वा हात्तीको जस्तो हिँडाइ भएकी, मसिना रौँ, लामो कपाल र छोटा दाँत भएकी, शरीरका अंगहरू कोमल भएकी कन्यालाई विवाह गर्नुपर्छ ।’

आज संसारले सुन्दर स्त्रीको मानक बनाएको छ अर्थात् स्त्रीको छाती, कम्मर र उचाइ नापेको छ । हिजो हिन्दू समाजमा नाचगान गरेर जीविका गर्नेहरू तल्लो जातमा पर्थे । आज नाचगान गर्ने प्रतिस्पर्धा हुन थालेको छ । 
भरतमुनिको नाट्यशास्त्रमा भनिएको छ– चार वेदहरू स्त्री र शूद्रहरूलाई सुनाउन योग्य छैनन् । त्यसैले पाँचौँ नाट्यवेदको रचना गरियो । नाटकका माध्यमबाट मानिसलाई विभिन्न ज्ञान, इतिहास, गुण, अवगुण आदि सम्झाउने प्रयास सदियौँदेखि हुँदै आएका छन् । 

आजको कला–साहित्य
यौनको विषयमाथि मानिसको ध्यान जानु, चर्चा र बहस हुनु स्वाभाविकै हो । घुमिफिरी राजनीतिमा राष्ट्रवाद र गरिबका मुद्दा बेच्ने, कला–साहित्यमा यौनको विषय ल्याउने पुरानो रोगबाट मानव समाज मुक्त हुन सकेको छैन । 

कला र साहित्यमा वास्तविकता देखाउने नाममा हिंसा, विभेद, अन्धविश्वास देखाउने हो भने समाजले त्यही सिक्छ । सतीप्रथा हटिसकेपछि त्यसको कथा फिल्ममा ल्याउँदा बेग्लै अर्थ रहन्छ, पछिल्लो समाजले पहिले यस्तो अत्याचार रहेछ भनेर बुझ्छ, अन्य प्रकृतिका अत्याचारप्रति सोच्न बाध्य हुन्छ ।

 तर समाजमा जस्तो विभेद भइरहेको छ, त्यसैलाई कला–साहित्यमा देखाइयो भने त्यस समाजलाई स्वाभाविक लाग्छ, त्यसै गर्नुपर्छ भन्ने समाजले ठान्छ । सपुतको गीतबाट श्रोता–दर्शकले पीडितलाई नै प्रश्न गर्न सिक्ने ? 

कला–साहित्यका माध्यमबाट समाजलाई केही दिने वा केही दिन नसके कसैको चित्त नदुखाई मनोरञ्जन दिने भन्नेमा आज हामी आइपुगेका छौँ । एकातिर, कला क्षेत्रलाई सभ्य बनाउनुछ । अर्कोतिर, प्राचीनकालदेखि हुँदै आएका असमानता र विभेदलाई मेटाउने पनि हाम्रो उत्तरदायित्व रहन्छ ।
मानिसले बाल्यकालमा विभिन्न जिज्ञासा राख्छ, क्रमशः ऊ हुर्किएसँगै प्राकृतिक हर्मोनका कारण उसमा यौन जिज्ञासा आउन थाल्छन् । आजका बालबालिका वा स्त्री–पुरुषलाई सही यौनशिक्षा आवश्यक छ । संसारमा यौनसँग जोडिएर अनेक घटना भइरहेका छन् । हामीले पाप, धर्म र चरित्रभन्दा माथि उठेर समाजका विविध पक्षमा बहस गर्नुपर्नेछ । 

हिजो पापको त्रास देखाएर धेरै विभेद भएका छन् । हिजो धर्मका लागि स्त्रीहरू सती जाने, सानै उमेरमा विधवा भए पनि दोस्रो विवाह नगर्ने, कुलदेवता रिसाउँछन् भनेर दलितलाई छुवाछुत गर्ने अभ्यास हुँदै आयो । पाप भनेको मिथ हो, झुटो कुरा हो । आज हामीले पापको होइन, कानुनको डर मान्नुपर्छ, धर्मलाई होइन, कानुनलाई बुझ्नुपर्छ । 

हातमुख जोर्नकै लागि कुनै स्त्री वा पुरुष देहव्यापार गर्न बाध्य छ भने यसमा राज्यको दोष हुन्छ, राज्यले कुनै रोजगारी वा सामाजिक सुरक्षाको प्रत्याभूति गराउन सक्नुपर्छ । 

कसैलाई वेश्यावृत्तिको कुलत छ भने उसको सुधार गर्न राज्यले परामर्श वा कानुनको सहारा लिन सक्छ । उमेर पुगेकाबीच आपसी सहमतिमा हुने यौन सम्बन्धलाई राज्यले त्यति कस्नु हुँदैन ।

 रोजगारी वा अध्ययन विशेषले घरदेखि बाहिर रहेका पति–पत्नी र प्रेमी–प्रेमिकालाई भेट्ने वातावरण मिलाउन विश्वले नै पहल गर्नुपर्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप