आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भरिया बन्न गएका सरोज अनुपम खेर बने

शनिबार, ०९ वैशाख २०८०, १६ : ५४
शनिबार, ०९ वैशाख २०८०

काठमाडौं । कोभिड–१९ महामारीका कारण गरिएको ‘लकडाउन’ले हरेक क्षेत्र प्रभावित भयो । ‘लकडाउन’ को समय र त्यसपछि पनि धेरैलाई रोजगारीको समस्या थियो । त्यसबाट अछुतो थिएनन् चित्रकार सरोज लामिछाने । कोभिडपछि पेन्टिङको खासै बजार नभएपछि उनी अरु विकल्पको खोजीमा निस्केका थिए । यस क्रममा उनी फिल्ममा अभिनयका लागि ‘अडिसन’ दिन हिँडे ।

त्यतिबेलामा नेपालमा हिन्दी फिल्म बहादुर, सरप्राइज र उचाइको सुटिङ हुने चर्चा थियो । लामिछानेले तीनवटै फिल्ममा जुनसुकै रोलका लागि अडिसन दिन तयार भए । बहादुर र सरप्राइजको सुटिङ नै भएन तर उचाइ बन्ने भयो ।

लामिछाने भन्छन्, ‘भरियाको रोलका लागि म उचाइ फिल्ममा अडिसन दिन गएँ, मेरो अभिनयको धेरैले तारिफ पनि गरे । तर त्यहाँ लाइन प्रोड्युसरले मलाई निकै घुरेर हेरिरहनु भएको थियो, त्यो कुराको महसुस मैले त्यतिबेला नै गरेको थिएँ ।’

भरियाको अभियन राम्रो गरेको कारण आफू पास भए पनि थेप्चे नाक, मङ्गोलियन अनुहार नभएको कारण छाँटिएको उनले सुनाए । त्यसपछि आफू निराश भएर एक कुनामा उभिएको उनले बताए । लामिछाने भन्छन्, ‘तर अघिदेखि मलाई जसले घुरेर हेरिरहनु भएको थियो, त्यो मेरो छेउमा आएर भन्नुभयो– जाने से पहले एकबार मुझ से मिलना (जानु भन्दा पहिले एकपटक मलाई भेट्नु होला) ।’

त्यसपछि आफूले पक्कै केही होला भन्ने अनुमान गरेर त्यो समयको प्रतीक्षा गरेको उनको भनाइ छ । ‘किनभने उहाँले मलाई अघिदेखि निकै वाच गरिरहनु भएको थियो,’ उनले भने । लामिछाने साँझसम्म पर्खेर भए पनि ती प्रोड्युसरलाई भेटे । लामिछानेका अनुसार भेटमा ती प्रोड्युसरले भनेका थिए, ‘तपाई ठ्याक्कै अनुपम खेरजस्तो देखिनु भएको छ । तपाईले अनुपम खेरको अभिनय गर्नुपर्छ । तपाईको फोटो अघि नै पठाइसकेको थिएँ । तपाईको फोटो हेरेर सबैजना चकित हुनुभएको छ, तपाई ठ्याक्कै अनुपम खेर जस्तो देखिनु भएको छ ।’

लामिछानेले तत्कालै उक्त प्रस्ताव स्वीकार गरे । अनुपम खेरको ‘बडी डबल’ खेल्न तयार भए उनी । अनुपम खेर पनि लामिछानेलाई आफ्नो ‘बडी डबल’ बनाएर अभिनय गराउन राजी भएका थिए । विकट हिमाली क्षेत्रमा सुटिङ हुने भएकाले बलिउडका कलाकार अनुपम खेरलाई त्यहाँ अभियन गर्न गाह्रो थियो । त्यही भएर सरोज लामिछानेले अनुपम खेर बनेर अभिनय गरेका छन् ।

anupam-kher (1)

लामिछाने भन्छन्, ‘उचाइ फिल्ममा अनुपम खेरले नेपालमा अभिनय गरेकोमध्ये ८० प्रतिशत हिस्सा मैले नै अभिनय गरेको छु, नजिकबाट मेरो फेस देखाइएको छैन, उहाँकै रुपमा मैले अभिनय गर्नु परेका कारण मेरो सिन टाढा टाढाबाट खिचिएको छ, नजिकबाट देखाइएको छैन ।’ गोरेटो बाटो हिँड्दा जहाँ नजिकबाट फेस देखाउनु पर्थ्यो, त्यहाँ अनुपम खेरलाई राखिन्थ्यो । बाँकी जोखिमपूर्ण सुटिङमा अनुपम खेरको भूमिका लामिछानेले नै अभियन गरेका हुन् ।

अनुपम खेरले पनि सरोज लामिछानेको अभिनयलाई तारिफ गरेका थिए । उनको अभिनयलाई तारिफ गर्दै अनुपम खेरले भनेका थिए, ‘सरोजजी तपाई अनुपम खेर भएर होइन, सरोज लामिछाने भएर अगाडि बढ्नुस्, तपाईमा निकै सम्भावना छ, क्षमता पनि छ तपाई पेन्टिङलाई पनि निरन्तरता दिनु र अभिनयमा पनि आउनुस् ।’

बलिउड कलाकार वोमन इरानीले पनि लामिछानेको अभिनयलाई तारिफ गरेका थिए । भारतबाट आएका सबै कलाकारले सरोजलाई अनुपम खेरकै नामले बोलाउँथे । इरानीले आफूसँग सरोजलाई राखेर ३० सेकेण्डको एउटा भिडियो बनाएका छन् र उनले आफ्नो फेसबुकमा पोस्ट गरेका छन् । त्यसले गर्दा बलिउडमा पनि सरोजको डिमाण्ड बढेको छ ।

अनुपम खेरले पनि आफूलाई बडी डबलको आवश्यकता परेमा सरोजलाई नै सम्पर्क गर्ने आश्वासन दिँदै आफ्नो मेकअप म्यानको सम्पर्कमा बस्नसमेत भनेका थिए । सरोज अहिले अनुपम खेरका मेकअप म्यानको निरन्तर सम्पर्कमा छन् । परिणाम स्वरुप उनले बलिउडमा केही काम पनि पाएका छन् । एउटा साउथ इण्डियन फिल्मको सुटिङ नेपालमा हुन गइरहेको छ । त्यसमा पनि सरोजले अभिनय गर्ने मौका पाउने भएका छन् । अरु फिल्मका लागि पनि उनले अडिसन दिइरहेका छन् ।

anupam-kher (3)

अनुपम खेरको ‘बडी डबल’ बनेर उचाइमा अभिनय गरेका सरोजले राम्रो पारिश्रमिक पाएका थिए । उनी भन्छन्, ‘नेपालका फिल्महरुमा जति पाउँथे, त्यो भन्दा धेरै राम्रो रकम पाएको थिएँ तर पैसाभन्दा ठूलो कुरा मैले नेपालको पर्यटन क्षेत्रमा योगदान पु¥याएको छु, त्यसले नै मलाई खुसी लाग्छ ।’ अनुपम खेरको ‘बडी डबल’ बनेर अभिनय गरेपछि आफूले अन्य फिल्ममा पनि काम पाउन थालेको उनले सुनाए । नेपालमै पनि ‘महापुरुष’ जस्ता फिल्म खेलेको र अझै केही फिल्म आउनै बाँकी रहेको उनले बताए ।

नेपाली तथा बलिउड फिल्मका लागि सरोजको नेटवर्क विस्तार भइरहेको छ । तर सरोज भन्छन्, ‘म फिल्ममा सक्रिय भए पनि आफ्नो चित्रकला पेसा कहिल्यै छाड्दिनँ ।’ नेपालमा उचाइ फिल्मको सुटिङ २०७८ कात्तिकमा सकिएको थियो । नेपालमा उक्त फिल्मको सुटिङ २५ दिन भएको थियो । २५ दिनमध्ये दुई दिन काठमाडौं र बाँकी समय हिमाली जिल्लाहरुमा सुटिङ भएको थियो ।

खोटाङको नाम्चेदेखि मनाङको विभिन्न स्थानमा सुटिङ भएको सरोज बताउँछन् । राजश्री प्रोडक्सनले निर्माण गरेको यो फिल्मको निर्देशन सुरज बडजात्याले गरेका छन् । फिल्ममा अनुपम खेर, वोमन इरानी, निना गुप्ता, सारिका हसन, परिणिती चोपडालगायतका कलाकार छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप