आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

गण्डकीमा अब कसको नेतृत्वमा बन्छ नयाँ सरकार ?

शनिबार, ०९ वैशाख २०८०, २० : १९
शनिबार, ०९ वैशाख २०८०

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शनिबार प्रदेश सभामा विश्वासको मत पाएनन् । प्रदेशसभामा उपस्थित भएका ५९ सदस्य मध्ये मुख्यमन्त्री अधिकारीको पक्षमा २४ र विपक्षमा ३५ मत पर्‍यो ।

यससँगै पुस २५ गते बनेको अधिकारी नेतृत्वको एमाले सरकार एक सय पाँच दिनमा ढल्न पुग्यो । 
 
अब प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन् । तर अब एमालेबाहेककाे सरकार बन्ने निश्चित रहेपनि कसको नेतृत्व रहने भन्नेमा अन्योल कायमै छ । सत्ता गठबन्धनमा आवद्ध दल नेपाली कांग्रेस र नेकपा माओवादीबाट कुन दलले पहिला सरकारको नेतृत्व गर्ने भन्नेमा सहमति भइनसकेकाले अन्योलता देखिएको हो । 

तर प्रदेश प्रमुखले १६८ (३) अनुसार नयाँ सरकार बनाउन आह्वान गरे कांग्रेको नेतृत्वमा सरकार बन्छ । जसमा संसदीय दलका नेता सुरेन्द्र पाण्डेलाई मुख्यमन्त्री बन्ने बाटो खुला हुनेछ । संविधानको धारा १६८ (२) अनुसार आह्वान भएमा मिलिजुलि सरकार बन्नेछ । जसमा कांग्रेस र माओवादीबीच नेतृत्वबारे सहमझदारी जरुरी हुन्छ । 

प्रदेशसभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले प्रदेश प्रमुखले छिटै सरकार गठनको आह्वान गर्ने र आइतबारसम्म नयाँ सरकार बन्ने बताए । ‘संविधानको कुन धाराबाट सरकार बन्छ भन्नेतिर म जान्नँ । प्रदेश प्रमुखले संविधान पढ्नुहुन्छ, उहाँले जे आह्वान गनुहुन्छ । सोही अनुसार सरकार बन्छ,’ उनले भने, ‘मलाई लाग्छ । भोलिसम्म नयाँ सरकार बन्छ ।’    

नेकपा माओवादीका संसदीय दलका नेता हरिबहादुर चुमानले अब गण्डकीमा संविधानको धारा १६८ (२) अनुसारकै सरकार बन्ने दाबी गरे ।  उनले यसअघि पनि सोही धारा अनुसार सरकार बनेकाले अब पनि उक्त धारामै सरकार बन्ने दाबी गरे ।

 ‘अबको प्रकृया विश्वासको मत प्राप्त नगरेको कुरा प्रदेश सभाले प्रदेश प्रमुख कार्यालयमा जानकारी दिन्छ,’ दलका नेता हरिबहादुर चुमानले भने, ‘ सर्वोच्च अदालतको पछिल्लो व्याख्यालाई ध्यान दिएर प्रदेश प्रमुखले संविधानको धारा १ सय ६८ को उपधारा २  अनुसार दुई वा दुई भन्दा बढी दलहरुको सरकार बनाउन आह्वान गर्नुहुन्छ । यसपछि सरकार गठन हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप