आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चितवन–२ का मतदाता भन्छन्– नेताले पैसा र कुर्सी मात्रै हेरे

आइतबार, १० वैशाख २०८०, १७ : १७
आइतबार, १० वैशाख २०८०

चितवन । चितवन २ का मतदाताहरूले नेताहरूको कमजोरीका कारण एउटै स्थानमा पटक पटक निर्वाचन हुन पुगेको भन्दै यसलाई राम्रो भन्न नमिल्ने प्रतिक्रिया दिएका छन् । 

भरतपुर महानगरपालिकाका जयराम खत्रीले आइतबार मतदानपछि भने, ‘ यसरी पटक पटक निर्वाचन हुनु राम्रो होइन, आर्थिक भार थपिनुका साथै विकासका कामहरू अवरुद्ध हुन सक्छन् । यसका साथै चितवनमा फेरि पनि निर्वाचन हुन्छ कि भन्ने आशङ्का बढेको छ ।’ उनले पटक पटकको निर्वाचनले वितृष्ण पैदा हुन थालेको समेत बताए । ‘नेतृत्वसँग सुशासन र विकासको अपेक्षा भए पनि हुन सकेन । रविले स्वटन्टाजी भन्दा केही गर्नुभएन । यो राम्रो होइन’। उनको भनाइ छ । 

त्यस्तै ८० बर्सिया दिलकुमारी पराजुलीले ठुला नेताले राम्रो काम गर्न नसकेको गुनासो गरिन् । ‘ठुला नेताले राम्रो गरेनन्, अहिलेकाले गर्छन् कि भन्ने लागेको छ । युवाहरूले नेपालमै रोजगारी पाए हुन्थ्यो भन्ने लागेको छ’, पराजुलीको भनाइ छ । 

त्यस्तै चितवनको बालकुमारी मतदान स्थलमा मतदान गर्न आएका ८६ बर्सिया भीम बहादुर पौडेलले गठबन्धनका कारण चुनावप्रति उत्साह नभएको बताए । उनले पनि नेताहरू नमिल्दा चितवन २ मा उपनिर्वाचन भएको भन्दै गठबन्धनले अप्ठेरो पारेको बताए । 

‘नेताहरू नमिलेर फेरि चुनाव भयो । षड्यन्त्र भयो । दोबारा भयो’, उनले भने, ‘पहिलाको जस्तो खुसी छैन । आफ्नो भनेर भोट हाल्न पाइएन, गठबन्धनले अप्ठेरो पार्‍यो । ’

उनले नेताहरूले जनतालाई सुविधा दिने भन्दा पनि आफू पैसा कमाउन र कुर्सीमा पुग्न मात्रै खोजेको उनको गुनासो छ । ‘नेताहरूले पैसा र कुर्सी मात्र खोजे । जनताले पाउने सहयोग कमै पाएका छन् । आसलाग्दो नेता कोही भएनन्’पौडेलको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप