आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पाशुपत क्षेत्र, अक्षय तृतीया र वनकाली जात्रा

आइतबार, १० वैशाख २०८०, ११ : ३६
आइतबार, १० वैशाख २०८०

ज्ञान र विज्ञानको अध्ययन स्रोत अध्यात्म र अद्वैत क्षेत्रका रूपमा रहेको प्राचीन एवं पुरातन सभ्यता जोडिएको क्षेत्र हो पशुपति क्षेत्र । यस क्षेत्रको अवस्थिति भगवान् श्री रामको समय त्रेता युग श्री कृष्णको समय द्वापर युग अनि कलि युगमा समेत श्री पशुपतिनाथ र पाशुपत क्षेत्रको व्यापक महत्त्व रहेको छ ।

मानव सभ्यताको सुरुवात नदी, समुद्र, खोलानाला निकट नै भएका प्रमाणहरू हामी विभिन्न पुरातात्त्विक अन्वेषण अनि अनुसन्धानबाट पाउँछौ तर पशुपतिनाथका कारणले सबै सभ्यताको सुरुवात भएको समेत पशुपति पुराण शिव महापुराणजस्ता गन्थले प्रकाश पार्दछ । पशुपतिनाथ पाशुपत क्षेत्र वैदिक तान्त्रिक जैन बौद्घमार्गीलगायत विभिन्न सम्प्रदायको समेत उपासना क्षेत्र हो भने गाणपत्य सौर्य वैष्णव एवं शाक्तको समेत प्रमुख क्षेत्र हो । 

पशुपतिनाथ र पाशुपत क्षेत्र गोपालवंश, महिषपाल वंश, गुप्त, आभिर, किरात, लिच्छवी, मल्लदेखि आधुनिक कालसम्म पनि श्री पशुपतिनाथसँग तत्कालीन राष्ट्र नगरप्रमुख जनताहरूको आरध्यदेवकै रूपामा पुजिएका प्रमुख देवता भगवान् श्री पशुपतिनाथ नै हुन् र रहनेछन् । 

माथि उल्लेख गरेझैँ इसाको आरम्भका चैैत्य, मूर्ति, धारा, पोखरी, कुण्ड मन्दिरजस्ता वस्तु अनि कलावस्तुका प्रामाणिक सङ्ग्रह पशुपति क्षेत्रमा हामी पाउँछौँ । पशुपति क्षेत्रमा वैष्णवहरूको राम, कृष्णका मन्दिर, गाणपत्यका गणेशको मूर्ति, बौद्धमार्गीका चैत्य बुद्धमूर्ति अनि सौर्य सम्प्रदायका विभिन्न सूर्यका मूर्ति र मन्दिर पाइन्छन् भने शाक्तको पनि आफ्mनै विशिष्ट स्थान छ । वर्तमान पशुपतिनाथको मूर्तिको अध्ययन गर्ने हो भने पनि विभिन्न मालाले अलङ्कृत दुवै ओठमा लाली लगाउने र शिरमा श्रीखण्ड चन्दनको श्री यन्त्रमा मध्यमा फुस्रो सिन्दुर लगाउनाले पनि पशुपतिनाथ शिवको मात्र नभई माता शिवाको समेत मन्दिर हो । चारै ढोका आठवटा सिंह छन् । यी देवीका वाहन हुन् । त्यसैले पशुपतिनाथ शाक्तहरूको समेत महत्त्वपूर्ण आदि पीठका रूपमा रहेको पाइन्छ । 

नेपालका सबै देवीको मन्दिरका पुजारी र श्रीका पुजारीहरूले पूजा गर्दा लााउने पोसाकसमेत एकै रूपका हुनु, पशुपतिनाथको मन्दिर स्वयंं माता श्री अम्बेको पनी मन्दिर हो भन्ने कुरा स्वतः नै प्रष्ट हुन्छ । तसर्थ पाशुपत क्षेत्रमा रहेको प्रमुख शक्ति पीठहरूले संरक्षित पशुपतिनाथ मन्दिरमा शाक्तहरूको मुख्य आराधनाको समेत क्षेत्र हो । यसरी संरक्षित पीठमध्ये वनकालीको स्थिति, वनकाली जात्रा र शिवपावर्ती विवाहोत्सव पर्व अर्थात अक्षय तृतीयाको बेग्लै महत्त्व छ ।

वनकाली 

पाशुपत क्षेत्रको दक्षिणपश्चिम, गौशालाबाट पूर्व, वनकाली जङ्गलको दक्षिणी छेउमा अवस्थित छ । वनमा रहेकी काली भएकाले यिनलाई वनकाली भनिएको हो । गौशालाको छेउमा रहेको काली परिसरमा अनेक प्रकारका कलाकृति पाइन्छन् । यहाँ वनकाली, गणेश, गोरखनाथ र अन्य केही देवीदेवताका सामान्य मन्दिरहरू छन् ।

 वनकाली  भेगका देवालयमा मुख्य वनकालीको मन्दिर, मन्दिर हालको स्वरूप राजा महेन्द्रले २०१५ सालमा मर्मतसम्भार गर्ने क्रममा बनेको हो । त्यसबापत प्राङ्गण र सत्तल पनि त्यही बेला जीर्णोद्धार भएको थियो । पछि पुनः २०७२ सालको भूकम्पका कारण यहाँका वास्तुहरू ठूलो सङ्ख्यामा ध्वस्त भएपछि तिनीहरूलाई हालसालै जीर्णोद्धार गरिएको छ । यो पीठको छाना खुला छ । आकाशलाई नै छाना मानेर यसको छाना नबनाइएको हो । यसको वरिपरि पर्खाल लगाएर मात्र यसलाई मन्दिरको स्वरूप दिइएको छ ।

वनकाली  मन्दिरमा हाल मूल ढोकाबाट भित्रतिर दायाँ भैरवको प्रतिमा राखिएको देखिन्छ । यहाँका भैरव छवटा बाहुका छन् । यिनले बाहुहरूमा खड्ग, खेटक, कपालपात्र र त्रिशूल लिएको देखिन्छ । यिनको बायाँतिर भने गणेशको प्रतिमा छ । यहाँका गणेश चार बाहुका छन् । यिनले बाहुहरूमा परशु र पात्र आदि वस्तु लिएको देखिन्छ । यी २ मूर्तिहरू यहाँ २०६१ सालमा राखिएका हुन् भन्ने कुरा त्यहीँको अभिलेखले प्रस्ट गर्दछ । वनकाली मन्दिरको गर्भगृहको दुई तहका प्राचीन खम्बासहितको तोरणमा दायाँ गणेश बायाँ कुमारको आकृति अति गरिएका देखिन्छन् ।

दुर्गाका विभिन्न नामहरूमध्ये काली एक हो । सामान्य शब्दार्थमा कालीको अर्थ कालो रङ्ग भएकी भन्ने हुन्छ । चित्र र मूर्तिकलामा उनलाई हातमा खड्ग लिएकी, मुख बाएकी र जिब्रोबाट रगतको थोपा चुहिएक अवस्थामा देखाइन्छ । तिनले नरभक्षण गरेको लक्षणका रूपमा मुखबाट रगत चुहिँदै गरेको देखाउने गरिएक हो । प्राचीन वैदिक साहित्यमा कालीको अस्तित्व देखिँदैन । पछि शाक्त सम्प्रदायको विकास भएपछि अग्निक प्रतीकका रूपमा कालीको पनि उद्गम भएको मानिन्छ । संस्कृत साहित्यका विभिन्न ग्रन्थहरूमा कालीको चर्चा गरिएको पाइन्छ । यिनको पूजाआजा आदिवासी र प्रायः धेरै सम्प्रदायमा, जनजातिमा र विभिन्न समुदाय पनि प्रचलित छ ।

पौराणिक कालदेखि मातृकाहरूको पूजाआजा गर्ने परम्पराको विकास हुँदै गएको मानिन्छ । तसर्थ कालीको पूजाआजा गर्ने परम्पराको ज्यादा विकास पनि पौराणिक कालमा नै भएको हो । कालीलाई सिक देवगणहरू शुम्भ र निशुम्भ नामक दानवबाट पीडित भएपछि देवीको स्तुति गर्न थालेछन्, जसबाट उग्र रूप भैरव वा महाकालकी शक्तिका रूपमा चिनिन्छ । मार्कण्डेय पुराणमा पाइने एक कथाअनुसार पार्वतीबाट अम्बिकाको उत्पत्ति भएछ । यिनै अम्बिका कृष्ण वर्णकी भएकाले यिनको नाम काली रहन गएको हो ।

विभिन्न पुराणमध्ये कालिका पुराणमा कालीको चर्चा गर्दै यिनलाई पार्वती मानिएको छ । यसै गरी लिङ्गपुराणमा चाहिँ कालीलाई दुर्गाबाट उत्पन्न भएकी मूर्तिमा सुतिरहेका शिवमाथि उभिएको देखाइनुपर्छ भनिएको छ । तर पशुपतिनाथ बेतालमाथि नृत्य मुद्रामा उभिएको स्वरूपमा छन् । आठ बाहु भएकी मेखलाधारी यी देवील दायाँतिर डमरु र कपालपात्र लिएर अर्को बाहुले पताका मुद्रा प्रस्तुत गरेको देखिन्छ । यिनका त्रिशूल र नरमुण्डमाला लिएर अर्कोले पताका मुद्रा प्रस्तुत गरेको देखाइएको छ । यिनका र घण्ट आदि आयुध लिएको स्वरूप निर्माण गरिएको छ ।

वनकालीलाई प्रतिमामा बेताल (घोप्टो परेर सुतेको, जसको पैतालामाथि फर्किएको पारेर केश बाहिर निकालेको) माथि नाचिरहेकी अवस्थामा देखाइएको छ । प्रतिमामा देवीको वा पेट, झोलिएको स्तन, कङ्काल स्वरूप हात खुट्टा र अनुहार तथा टोड्कोजस्ता नेत्र देखाइएका छन् । ऊ वनकाली  देवी चामुण्डा स्वरूपकी देखिन्छिन् । प्रतिमामा देवीले पाउमा लगाएको सर्पको कल्लीमा सप्त घाँटी पारेको देखिन्छ । यता देवी नाच्दा दुई घुँडा फारेकाले तिनको लुगा जामाजस्तो फिँजारिएको छ । यसरी चामुण्डादेवी वनमास्थित भएकाले यिनलाई वनकाली भनिएको हो । 

वनकाली प्रतिमाको पादपीठमा एउटा अभिलेख देखिन्छ । जसमा.. ‘सान्य सोमोम्वचः दतनीति,’ लेखिएको छ (वज्राचार्य, २०५३ ः ५९७) । यहाँ देवीलाई दुई तहले स्थापित गरिएको देखिन्छ । देवी उभिएको पादपठीको अंशुवर्माकालीन अभिलेखले वनकालीको स्थापना लिच्छविकालमा भएको प्रष्ट हुन्छ । जीर्णोद्धार गर्ने क्रममा वनकालीको प्राचीन देवलबाहिर नै थपिएकाले यसमा दुई तहको तोरण छ । यसैगरी हालको मन्दिरको स्वरूप अझ बाहिरतिर पनि लगाई सुरक्षित गरिएको छ । यसबाट वनकाली देवी चार तहको घेराभित्र स्थापित रहेकी छन् ।

वनकाली मन्दिरभित्र छेपुसहितको सानो तोरणको मुनि देवीको प्रतिमा स्थापना गरिएको कर्माचार्यहरूबाट नित्य रूपमा तान्त्रिक पूजा गरिने यी देवीलाई उग्रदेवीका रूपमा विधिपूर्वक विशेष र पर्वको अवसरमा विशेष किसिमले पूजा गरिन्छ । खासगरी नेवारी समुदायले यी देवीलाई विशेष पूजाआजा गर्ने गरेका छन् । 

स्कन्दपुराणमा पाइने एक कथाअनुसार दक्षप्रजापतिले सतीदेवी र ज्वाइँ महादेवलाई आफूले आयोजना गरेको यज्ञमा नबोलाएकाले सतीदेवीले बाबु दक्षसित कोधित भई शिवको आराधना र दक्षको घमण्ड दमन गर्न आफ्नो नाक घर्षण गरी कालीको उत्पत्ति गरिछन् । फलतः दक्षको यज्ञ ध्वस्त भयो भनिएको पाइन्छ । देवीमहात्म्यमा पनि कालीका व्यापक चर्चा गरिएको देखिन्छ ।

नेपालमा शिवका साथमा कालीको पूजाआजा गर्ने परम्परा छ । त्यस्तै गरी यिनै वनकाली  अक्षय तृतीयाको दिन वनकाली  जात्रासमेत मनाउने परम्परा रहेको छ । 

वनकाली जात्रा

वैशाख शुक्लतृतीया या अक्षय तृतीयाका दिन पशुपतिनाथको दक्षिण पश्चिम दिशामा रहेकी वनकाली देवीको जात्रा सञ्चालन गर्ने गरिएको छ । उक्त जात्राको एक दिनअघि अर्थात् द्वितीयाका दिन छोयला बु भनी सबै गुठीयार मिलेर सगुन खाई जात्राको तयारी गर्छन् । भोलिपल्ट तृतीयाको दिन बिहानै भुवनेश्वरी मन्दिरमा अवस्थित वनकालीको प्रतिमूर्तिलाई वनकालीमा लगेर राखिन्छ । केही वर्षअघिसम्म उक्त दिन काठमाडौँको गुठी संस्थानअन्तर्गतका अड्डाहरू जस्तो त्रिपुरेश्वर केन्द्रीय गुठी कार्यालय, गुठी गोश्वारा पशुपति र भद्रकाली गुठी कार्यालयका अधिकारीहरू वनकाली जात्रामा उपस्थित हुने चलन थियो । हाल पशुपति गुठी गोश्वाराको उपस्थिति हुने गरे पनि अन्य गुठी कार्यालयबाट अधिकारीहरू आउने परम्परा बन्द भइसकेको छ । पहिले वनकाली जात्रामा कर्माचार्य, स्थानीय खड्गी र कपाली आदिलाई वर्ष दिनभरी वनकाली माईको सेवा गरेबापत भोज खुवाउने चलन थियो । उक्त चलन पनि हराएर गएको छ ।

वनकाली जात्रा निकै वर्षसम्म रोकिएकोमा विसं २०५८ सालमा एक पटक मनाइयो । वनकाली  जात्राका अवसरमा पहिलो दिन दुनियाँ पूजा हुने गथ्र्यो । वनकाली जात्राको सञ्चालनका निम्ति पशुपति गुठी गोश्वाराले आवश्यक सामग्री उपलब्ध गराउने गरेको छ । उक्त दिन पशुपति गुठी गोश्वाराबाट बलिसहित पूजा गराउने चलन रहेको छ । पूजा समापन भएपछि वनकालीमा अवस्थित खटमा भुवनेश्वरीमा ल्याइएको वनकालीको प्रतिमूर्तिलाई विराजमान गराई बाजागाजासहित खटजात्रा गरिन्छ । देवीको खटज गर्दा भुवनेश्वरी, इँटापाखा, जयवागेश्वरी, ताम्रेश्वर र पाँचु गणेश हुँदै पुनः भुवनेश्वरीमा ल्याई समापन चलन थियो । हाल भने खटजात्रा गर्ने चलन हराएर गएको छ । यस अवसरमा भुवनेश्वरीबाट ल्याई प्रतिमूर्ति वनकाली मन्दिरमा दिनभर राखी पूजा गर्ने तथा साँझपख खट फिर्ता गर्ने चलन छ । परम्परागत रूपमा रूपमा चल्दै आएको वनकालीको धार्मिक तथा सांस्कृतिक जात्रा लामो समयदेखि बन्द भएकोमा यो वर्ष पशुपति क्षेत्र विकास कोष कामपा ८ र ज्यापु पुच पशुपतिको नेतृत्वमा २०८० वैशाख १० गते आइतबार मनाइँदै छ । वनकालीको दिव्यभावको खटयात्रामा सहभागी बनौँ, पुण्य कमाआँै ।

शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजा सामान तयार पारी सङ्कल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ । पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सक्खर र मिश्री मिसाएर सर्वत बनाई घडा र जौको सातु दान गर्ने वैदिक सनातनी परम्परा छ । यस दिन गरेको स्नान, दान, ध्यान, जपलगायत पुण्यकर्म कहिल्यै नाश नहुने कुरा विभिन्न पुराणमा वर्णन गरिएको छ । जौँको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान हुने भएकाले दान गर्ने र आफूले पनि खाने वैदिककालदेखिको परम्परा हो ।

गर्मीबाट शरीरलाई बचाउन दुवै चिजले सहयोग गर्ने र यसबाट शक्तिसमेत प्राप्त हुने धर्मशास्त्रविद् एवं नेपाल पाञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतम बताउँछन् । शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि यसले सहयोग गर्ने जनाइएको छ । 

वैशाख शुक्ल तृतीयाका दिन थोरै दान गरे पनि धेरै फल प्राप्त हुने र यो अक्षय अर्थात् कहिल्यै नाश नहुने भएकाले आजको दिनलाई अक्षय तृतीया भनिएको हो । ‘शरीरमाद्यं खलु धर्मसाधनम्’ अर्थात् पहिले शरीरको रक्षा गर अनि मात्र धर्मको साधना गर भन्ने उक्तिलाई पनि यसले चरितार्थ गर्छ’, उनले भने ।

आजको दिन दान गरिने घडालाई धर्मघटादि दान पनि भनिन्छ । आज बुढाबुढीलाई छाता, लौरो र कपडाका जुत्ता दान गर्ने तथा गच्छे भए गाई, जमिन, अन्न र सुन पनि सत्पात्र ब्राह्मणलाई दान दिने चलन छ । यस्तो दान असहाय एवं विपन्न वर्गलाई पनि गरिन्छ ।

सत्य युगमा आजकै दिन आराध्यदेव महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ । यसैले विवाहका लागि आज लग्न तथा साइत हेर्नु नपर्ने मान्यता पनि छ । त्रेतायुगको प्रारम्भ पनि आजकै दिनदेखि भएको शास्त्रीय वचन छ । यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो ।

परशुराम हयग्रिव जयन्ती

अक्षय तृतीयाकै दिन जन्मनुभएका परशुराम ऋषिको जन्मजयन्ती पनि आजै मनाइन्छ । अष्टचिरञ्जीवीमध्येका एक परशुराम तृतीयाका दिन बेलुकी जन्मिएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ । परशुराम भगवान् विष्णुको छैटौँ अवतारका रूपमा जन्मेका हुन् । ऋषि जमदग्नि र रेणुकाका पुत्र परशुरामले पिता जमदग्निको आदेशमा माता रेणुकाको हत्या गरेको समेत ती ग्रन्थमा व्याख्या गरिएको छ । पिता जमदग्निले परशुरामलाई वर माग भनेपछि मातालाई जीवित गरी मारेको कुरा अरूले थाहा नपाऊन् भनी मागेको उल्लेख गरिएको छ ।

अष्टचिरञ्जीवीमध्येका एक परशुरामले पिता जमदग्निको हत्या भएपछि २१ पटक ब्रह्माण्ड घुमी विश्वभरका क्षेत्रीको हत्या गरेका थिए । क्षेत्रीयमा अहङ्कार बढ्न थालेपछि साधुको रक्षा गरी दुर्जनलाई मार्नकै लागि भगवान् विष्णुको छैटौँ अवतारका रूपमा उनले जन्म लिएको वर्णन पनि पौराणिक ग्रन्थमा गरिएको धर्मशास्त्रविद् गौतम बताउँछन् । राजा कार्तवीर्यका सबै छोराको हत्या परशुरामले नै गरेका थिए ।

हयग्रीव भगवान् विष्णुकै एक अवतार हो । मानव शरीर र घोडाको शिर, चम्किलो सेतो रङ्ग, सेतो वस्त्र र सेतो कमलमा विराजमान भएका उहाँलाई ज्ञान र बुद्धिको देवताको रूपमा पूजा गरिन्छ। प्रतीकात्मक रूपमा, कथाले शुद्ध ज्ञानको विजयलाई प्रतिनिधित्व गर्दछ । 

हयग्रीव भगवानका चार हात छन् । एउटामा ज्ञान प्रदान गर्ने मोडमा; अर्कोमा बुद्धिका पुस्तक र अरू दुईवटामा शङ्ख र डिस्कस छन् । उनको सुन्दरता, ताजा कट स्फटिक जस्तै, एक शुभ प्रकाशित हो, जुन कहिल्यै क्षय हुँदैन । 

हयग्रीव को थिए र भगवान् विष्णुले किन हटाए ? 

विष्णु पुराणमा अधर्मले आफ्नो कुरूप टाउको उठाएर विनाश निम्त्याउँदा प्रत्येक पटक भगवान् विष्णु पृथ्वीको भ्रमण गर्ने आफ्नो प्रतीज्ञामा बाँधिएका छन् । तसर्थ भगवान् विष्णुका विभिन्न अवतारसँग सम्बन्धित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बरुण खतिवडा
बरुण खतिवडा
लेखकबाट थप