आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अदालतको पत्र प्राप्त भयो, अब सिंहदरबारको फोहोर उठाउछौं : बालेन

सोमबार, ११ वैशाख २०८०, १७ : ३०
सोमबार, ११ वैशाख २०८०

काठमाडौं । तीन दिनभित्र सिंहदरबारको फोहोर उठाउन सर्वोच्च अदालतले गरेको आदेशको पत्र काठमाडौं महानगरपालिका पुगेको छ। पत्र महानगरमा आएकाले अब फोहोर उठाइने मेयर बालेन साहले बताएका छन् । उनले सोमबार सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदैन भनेका छन्,‘ सिंहदरबार समेतको फोहरमैला नउठेको सम्बन्धमा सम्मानित अदालतको अन्तरिम आदेश प्राप्त गरेका छौँ ।

निश्चित क्षेत्रको फोहरमैला नउठेको बिषय अदालतमा प्रवेश पाउनु र सर्वोच्च अदालतबाट फोहरमैला उठाउन आदेश दिइनुले नागरिकको स्वच्छ र स्वस्थ ठाउँमा बस्न पाउने अधिकारको गम्भीरता थप पुष्टि हुन्छ ।’ उनले काठमाडौँ महानगरले फोहरमैला व्यवस्थापन र सरसफाइसँग सम्बन्धित बिषय प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी गराउँदै यसलाई सार्वजनिक सरोकारको बिषयकारुपमा ग्रहण गरेकोमा अदालतप्रति आभार समेत व्यक्त गरेका छन् ।

उनले लेखेका छन्,‘ सम्मानित अदालतले दिएको आदेशको परिपालना गर्ने सन्दर्भमा हामी प्रस्ट, प्रतिबद्ध र दृढ छौं । तर सम्मानित अदालतका फैसला, आदेश र निर्देशनहरु काठमाडौँ महानगरले मात्रै होइन, संघीय सरकार लगायत सबैले दृढतापूर्वक पालना गर्न आवश्यक छ ।’ मेयर साहले बागमती, बिष्णुमति र मनोहरा तथा यिनका सहायक नदिहरुको जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा तथा संरचनाहरु भत्काएर नदिको स्वच्छता कायम गराउने तथा सार्वजनिक जग्गाको संरक्षण गर्ने  सम्बन्धी २०७६ साउन २० गतेको सर्वोच्च अदालतको आदेश, स्वास्थ्य मन्त्रालय भवनको मौलिकता बिगारेर थपिएको संरचना भत्काउने सम्बन्धी २०५७ असार ९ गतेको सर्वोच्च अदालतको आदेश, तीनकुने जग्गा अधिग्रहण तथा मुअब्जासम्बन्धी २ दशक अगाडिको सर्वोच्च अदालतको आदेश लगायत आम महानगरवासीको पक्षमा सम्मानित सर्वोच्च अदालतबाट भएका विभिन्न आदेशहरुको पालना नभएको तर्फ पनि सम्बन्धित निकाय जिम्मेवारीवोध हुनुपर्ने विषय उठान गरेका छन् ।

उनले पुराना आदेशको पालना नहुँदा नागरिकको घरआँगन र सिहंदरबारको पटाङ्गिनीबिचको विभेदलाई बैधानिकरुपमा नै स्विकारेको अर्थ लाग्ने कटाक्ष पनि गरेका छन् । उनले संविधान र प्रचलित कानुनले परिकल्पना गरे बमोजिम स्थानीय सरकारसँग संघ र प्रदेश सरकारले अनिवार्यरुपमा समन्वय, सहकार्य गरि सहअस्तित्वको आधारमा नागरिकका समस्याको यथाशिघ्र समाधान गर्नु पर्ने कुरामा आफू दृढ रहेको औंल्याएका छन् ।  आजैदेखि महानगरपालिकाले सिंहदरबारको फोहोर उठाउन थालिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप