आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

निर्धारित मितिभन्दा ८ महिना अगावै भवन हस्तान्तरण

सोमबार, ११ वैशाख २०८०, २० : १४
सोमबार, ११ वैशाख २०८०

सुर्खेत । कर्णाली प्रदेश लेखा नियन्त्रकको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । सोमबार सरकारका अर्थमन्त्री बेदराज सिंहले भवनको उद्घाटन गरेका हुन् । 

यो भवन प्रदेश सरकार बनिसकेपछिको पहिलो भवन हो । ५ करोड ३१ लाख ५७ हजार ९५५ रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको भवन ०७८ वैशाख ११ गते तत्कालीन अर्थमन्त्री विमला केसीले शिलान्यास गरेकी थिइन् ।

निर्माणको जिम्मा पाएको शिवशक्ति चक्रेश्वरी जेभी नयाँ बानेश्वर काठमाडौँले तोकिएको मितिभन्दा ८ महिना अगावै भवन सम्पन्न गरेर नमुनका काम गरेको छ । प्रदेशमा करोडौँ बजेटका दर्जनौँ भवनहरु ठेकेदारले अलपत्र पारिरहेको अवस्थामा शिवशक्तिले तोकिएको समयभन्दा पहिलानै भवन हस्तान्तरण गरेको हो । 

०७९ साउन ११ गते कार्यसम्पन्न गरिएको लेखा नियन्त्रक मानबहादुर बमले जानकारी दिए । चारतले उक्त भवन देशैभरका प्रदेश लेखा नियन्त्रकको कार्यालय मध्ये पहिलो भवन हो ।

उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री सिंहले ठेकेदारहरुले ठेक्काहरु समयमै नसक्ने प्रवृत्तिले विकास र परिवर्तनका क्षेत्रमा असर परिरहेको बताए । यद्यपि यो भवन निर्माणको जिम्मा पाएको कम्पनीले समयमै भवन सकेर उदाहरणीय काम गरेको भन्दै प्रशंसा समेत गरे ।

गत बिहीबार मात्र अर्थमन्त्रीको जिम्मेवारी पाएका सिंहले फरक प्रसंगमा प्रदेशमा योजना माग्नेहरुको तछाँडमछाँड रहेको कुरा उल्लेख गरेका थिए । प्रदेश सरकारको पुँजिगत बजेट कार्यान्वयनको अवस्था निराशाजनक रहेको भन्दै त्यसको समाधान खोज्नुपर्ने सिंहको भनाइ थियो । प्रदेशमा ३४ अर्बको बजेट ल्याइने तर, अन्तिममा आएर १८ अर्ब रकमान्तर गर्ने कार्य भइरहेको बताउँदै त्यसको अन्त्य हुनुपर्ने उनको तर्क थियो ।

‘योजना तर्जुमाका लागि यसअघि होटलमा छलफल भएको कुरा सुन्नामा आएका छन्, मेरो हकमा त्यो हुँदैन,’ सिंहले भने,‘ प्रदेशको हकमा अब टुक्रे योजनाको अन्त्य गरिने छ । पालिकाको तहमा हुने योजना पालिकाले बनाउँछ, संघले बनाउने संघले र प्रदेशले बनाउने योजना प्रदेशले बनाउनुपर्छ । प्रदेशको दायित्वभित्र पर्ने योजना मात्र प्रदेशले बनाउनुपर्छ ।’

साथै उनले जेठ महिना भन्दा पछाडि रकमान्तर गर्ने कुरा अब बन्द गरिने दाबी गरे । ‘बर्षभरी बजेट कार्यान्वयन नहुने अन्तिममा आएर रकमान्तर गर्ने, यो प्रवृत्ति राम्रो होइन,’ सिंहले भने,‘ अब त्यसलाई रोक्छु ।’ साथै फरक प्रसंगमा सिंहले वर्तमान अवस्थामा राजनीतिक दल र नेताप्रति जनताको बुझाइ राम्रो नभएको बताए । ‘तर, यो व्यवस्था नराम्रो चाहिँ होइन,’ उनले भने,‘ गणतन्त्रपछि मात्रै नेपाल निर्माणको चरणमा प्रवेश गरेको हो । वास्तवमा राज्य र जनताको बिचमा भेट नहुँदा जनतामा निराशा छाएको हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप