आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
प्रदेश

लुम्बिनी प्रदेश : नयाँ सरकार गठनका लागि गठबन्धन दलहरू जुटे छलफलमा

भोलि मुख्यमन्त्रीमा दाबी गर्ने तयारी
बुधबार, १३ वैशाख २०८०, १५ : ०८
बुधबार, १३ वैशाख २०८०

बुटवल । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको लागि आह्वान गरेसँगै गठबन्धन दलका नेताहरू छलफलमा जुटेका छन् । मंगलबार प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनको लागि आह्वान गरेपछि गठबन्धनका ८ दलहरु छलफलमा जुटेका हुन् । 

बुधबार नेपाली काँग्रेससहित ८ दलको बैठक भैरहवामा जारी छ ।  प्रदेश प्रमुख  शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश सरकार गठनको लागि आह्वान गरेपछि काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, लोसपा लगायतका दलहरुले  काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्ली  चौधरीलाई मुख्यमन्त्री बनाउन छलफल थालेका हुन् । 

गठबन्धनमा रहेका ५३ जना संसादहरुको हस्ताक्षरसहित बिहीबार प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी भइरहेको  कांग्रेस नेता डिल्ली चौधरीले रातोपाटीलाई बताए । उनले भने, 'मुख्यमन्त्रीमा दाबी गर्नका लागि हामी  तयारी गरिरहेका छौं । आज (बुधबार) सम्भव भएन । अब भोलि (बिहीबार) प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी गर्छौं ।' 

प्रदेश प्रमुखको कार्यालयले दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा हस्ताक्षरसहित सरकार गठनका लागि यही वैशाख १४ गते बिहीबार ४ बजेभित्र दाबी पेस गर्न समय सीमा दिएको छ  । त्यसै अनुसार सोही समयभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न गठबन्धन दलहरु तयारीमा जुटेको माओवादी लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले रातोपाटीलाई बताए । 

चैत १२ गते माओवादीसहितका दलहरूले नेकपा एमालेका मुख्यमन्त्री लीला गिरीलाई दिएको समर्थन फिर्ता लिएका थिए । लुम्बिनीमा एमाले र  राप्रपा  एउटा कित्तामा रहेका छन् भने  कांग्रेस माओवादीसहित ८ दलहरू अर्को  कित्तामा रहेका छन् । चौधरीको समर्थनमा यसअघि नै ५३ जना संसादहरु हस्ताक्षर गरिसकेका छन् । 

लुम्बिनी प्रदेशमा  बहुमत पुर्याउन ४४ सांसद आवश्यक पर्छन् । ८७ सांसदमध्ये  एमाले र राप्रपाका  ३३ सांसद रहेका छन् । मुख्यमन्त्री लीला गिरीले संसदमा विश्वास मत नपाएपछि अब कसरी जाने भन्नेमा पाटीभित्र आन्तरिक छलफल भइरहेको   एमाले लुम्बिनी प्रदेशका  प्रमुख सचेतक तुलसी चौधरीले रातोपाटीलाई बताए । .

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप