आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अर्थमन्त्री महत भन्छन्–अर्थतन्त्रमा देखिएका समस्याको समाधान गर्न सत्तापक्ष र प्रतिपक्ष मिल्नुपर्छ

बुधबार, १३ वैशाख २०८०, १६ : ३४
बुधबार, १३ वैशाख २०८०

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महत वर्तमान अर्थतन्त्रमा देखिएका समस्या र चुनौती सत्तापक्ष र प्रतिपक्ष मिलेर समाधान गर्न आवश्यक रहेको बताएका छन् । 

बुधवार राष्ट्रिय सभामा पेस भएको वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्त्वको प्रस्तावमा भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री महतले अर्थतन्त्रमा कसरी समस्या देखियो र समाधानका उपायहरूको विषयमा अनुसन्धान गरी सबै पक्ष मिलेर सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए ।  

उनले मुलुकको अर्थतन्त्रलाई गतिदिनको लागि सत्ता पक्ष र विपक्ष मिलेर साझा दृष्टिकोण बनाएर अगाडि बढ्ने विषयमा सहमत रहेको बताए ।   

अर्थमन्त्री महतले अर्थतन्त्र सुधारको लागि सबै मिलेर समाधान गर्ने विषयमा उच्च नेतृत्वतहमा छलफल भइरहेको पनि दाबी गरे । उनले सदनमा सदस्यहरूले भनेको जस्तो अर्थतन्त्र कहाली लाग्दो अवस्थामा नभएको भन्दै सरकारले अर्थतन्त्र सुधार उन्मुख गराउन सक्ने अवस्थामा रहेको बताए ।   

अर्थमन्त्री महतले अर्थतन्त्रमा देखिएका समस्या र चुनौती समाधान गर्ने ठोस प्रतिबद्धता सरकारसँग रहेको बताए । उनले अर्थतन्त्रमा समस्याहरुका चाङहरु रहेको स्वीकार गर्दै समस्या समाधान गर्न केही समय लाग्ने उल्लेख गरे ।   

अर्थमन्त्री महतले अर्थतन्त्र सुधारको लागि सबैले धैर्यता गर्न आवश्यकता पर्ने बताए । उनले शिथिलतामा पुगेको अवस्थालाई चलायमान बनाउन आज बोलेर तत्काल चमत्कार हुने विषय नभएको जिकिर गरे । 

अर्थमन्त्री डा.महतले अर्थमन्त्री भएर आएको एक महिना भएकाले भन्दै तत्काल अर्थतन्त्रका सबै समस्या समाधान गर्छु भन्न नसक्ने बताए । उनले सबैको सहयोगमा सकेसम्म अर्थतन्त्रलाई चलायमान बनाउनेतर्फ सम्पूर्ण ध्यान केन्द्रित हुने प्रतिबद्धता जनाए । उनले अर्थतन्त्रमा बाह्य दबाब बढ्दै जाँदा राष्ट्र बैंकले मौद्रिक नीति मार्फत कडाई गर्दा बैंकको ब्याजदर वृद्धि,मूल्यवृद्धि,आयात प्रतिबन्ध लगाउँदा अर्थतन्त्रमा समस्या आएको बताए ।  

अर्थमन्त्री डा. महतले मौद्रिक नीति राष्ट्र बैंकको क्षेत्राधिकार भित्र भएकाले सहज बनाउन सरकारले अनुरोध गरिरहेको बताए । उनले बजार संकुचनको अवस्थामा रहेकाले चलायमान बनाउनु पर्ने अवस्था रहेको बताए । उनले अब अर्थतन्त्रमा सुधार गर्नुपर्ने समय आएकाले बैंकको ब्याजदरमा बैंकहरुले पुनः विचार गर्ने र मौद्रिक नीतिका यन्त्रहरु प्रयोग गरी शेयर बजार,अर्थतन्त्रलाई चलायमान बनाउने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप