आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

माओवादी विद्रोहीको आक्रमणमा दश भारतीय प्रहरीको मृत्यु

बुधबार, १३ वैशाख २०८०, २० : ३२
बुधबार, १३ वैशाख २०८०

भारत । भारतको मध्य छत्तीसगढ राज्यमा बुधबार प्रहरीको गाडीले जमिनमुनि विछ्र्याइएको विस्फोटक पदार्थलाई ठक्कर दिँदा त्यसमा सवार १० जना प्रहरी र गाडी चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले उक्त घटनालाई सन् १९६० को दशकमा सुरु भएको माओवादी विद्रोहीको सम्लग्नताको आशङ्का गरेको छ ।

भारतमा सन् १९६० देखि चलेको माओवादी सशस्त्र आन्दोलनका कारण त्यसपछिका दशकहरूमा हजारौं मानिसको ज्यान गएको भएपनि हालैका वर्षहरूमा हिंसामा उल्लेखनीय कमी आएको बताउने गरिएको छ । 

दन्तेवाडा जिल्लामा विद्रोहीको गतिविधिको अनुसन्धान गर्ने मिसनबाट फर्केका प्रहरी समूहको ज्यान गएको र बुधबारको मृत्यु सुरक्षा बलका लागि दुई वर्षयताकै सबैभन्दा ठूलो क्षति हो । 

छत्तीसगढका वरिष्ठ प्रहरी अधिकारी विवेकानन्दले एएफपीसँग भने,“उनीहरू नियमित कामबाट फर्कंदै गर्दा उनीहरूको गाडीलाई लक्षित गरी विस्फोट भएको थियो ।”

एनडिटिभीमा प्रसारित फुटेजमा जमिनमा कैयौँ फिट सम्म फैलिएको एउटा खाल्डो र सुरक्षा बलले विष्फोटका कारण छरिएर रहेका सवारी साधनका पार्टपुर्जाको निरीक्षण गरिरहेको देखिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमा लेखेका छन्, “आक्रमणमा ज्यान गुमाएका वीर सैनिकहरूप्रति म श्रद्धाञ्जलि अर्पण गर्दछु । तिनीहरूको बलिदान सधैं स्मरणीय रहनेछ ।”

छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेलले पत्रकारसँग भने,“यो आक्रमण ‘अत्यन्त दुःखद’ छ र उहाँले राज्यका नक्सलवादीहरूविरुद्ध लड्नका लागि दुई गुणा प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।” 

उनले भने, “यो लडाइँ अन्तिम चरणमा छ र हामी कुनै पनि नक्सलवादीलाई छोड्ने छैनौं र हामी नक्सलवादलाई सफाया गर्न उचित योजना बनाउनेछौं ।” 

अहिलेसम्म कुनै पनि विद्रोही समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।-(रासस/एएफपी)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप