वित्तीय संस्थाको बढ्दो खराब कर्जाप्रति गभर्नर अधिकारीको चिन्ता
काठमाडौँ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको बढ्दो खराब कर्जा (एनपील) प्रति गभर्नर महाप्रसाद अधिकारीले चिन्ता व्यक्त गरेका छन् । बिहीबार आयोजित राष्ट्र बैंककाे ६८ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले ऋण असुलीमा दबाब परेको बताए ।
आर्थिक चापकाबीच आन्तरिक तथा बाह्य क्षेत्र प्रभावित हुँदा बैङ्किङ क्षेत्र समेत प्रभावित हुन पुगेको उनले बताए ।
फागुन मसान्तसम्म बैक तथा वित्तीय क्षेत्रको खराब कर्जाको दर २.०६ प्रतिशत रहेको बताउँदै गभर्नर अधिकारीले पछिल्लो समय यस्तो दर थप वृद्धि भएको बताए ।
तर, पछिल्लो समय बढ्दो निक्षेपदर, घट्दो अन्तर बैंकिङ ब्याजदर र तरलता सहजताले कर्जाको ब्याजदर समेत घट्दो क्रममा रहेको उनले बताए ।
सोही अवसरमा गभर्नर अधिकारीले वर्ष २०७९ आर्थिक दृष्टिकोणले निकै चुनौतीपूर्ण रहेको बताउँदै यसका बाबजुद पनि राष्ट्र बैंकको नीतिले विकराल अवस्था आउन नपाएको बताए ।