आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौं महानगरले रोक लगायो बाह्य विज्ञापन

शुक्रबार, १५ वैशाख २०८०, २१ : ३४
शुक्रबार, १५ वैशाख २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहरको सुन्दरता कायम गर्न र सर्वसाधारणलाई सुरक्षा दिन आफ्नो क्षेत्रभित्रका कुनै पनि स्थानमा बाह्य विज्ञापन नगर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । त्यस्तै सडक पेटी वा सार्वजनिक प्रयोगका संरचना, विद्युत् तथा टेलिफोनका खम्बा, सवारी आवागमनमा असर हुने गरी कुनै पनि ठाउँमा बाह्य विज्ञापन नगर्न कामपाले भनेको छ । २०७९ चैत ३० गते प्रकाशन भएको स्थानीय राजपत्रमा समावेश ‘कामपाको  वाह्य विज्ञापन नियमन निर्देशिका–२०७९’ मा यस सम्बन्धी व्यवस्था गरिएको कामपाको सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए ।    

अधिकारी आचार्यका अनुसार निर्देशिकामा विज्ञापन गर्न निषेध, विज्ञापन गर्न नहुने, ग्राह्य नहुने विषय, निषेधित क्षेत्र घोषणा गर्न सक्ने, विज्ञापन बोर्ड, परिचय पाटी, नियमन समिति गठनलगायत व्यवस्था छन् । नियमन समितिको काम कर्तव्य र अधिकार, विज्ञापन करसम्बन्धी व्यवस्था, स्थानान्तरणसम्बन्धी व्यवस्था, विज्ञापन कल्याण कोष सञ्चालन, बाह्य विज्ञापनका लागि अनुमति दिन नसकिने, विज्ञापन खारेज, वातावरणमैत्री विज्ञापनको प्रवद्र्धन, प्रोत्साहनलगायत प्रबन्ध छन् । 

निर्देशिकाको प्रतिकूल हुने गरी निषेधित स्थानमा राखे रु एक लाखसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ । कामपा क्षेत्रभित्र विज्ञापन गर्ने प्रयोजनका लागि कुनै पनि स्थानमा द्वार तथा स्टल निर्माण गर्ने, स्टिकर टास्ने, वाल पेन्टिङ, पोष्टरिङ, पम्प्लेटिङ, पर्चा वितरण, व्यानर टास्ने माध्यमलाई अनुमति दिइने छैन ।  

सङ्घीय र प्रदेश कानुन विपरीत हुने, धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिकस्थल, विश्व सम्पदा क्षेत्रमा सूचीकृत मौलिक संरचना वा संस्कृतिमा प्रतिकूल असर हुने विज्ञापन गर्न पाइँदैन । विज्ञापन राख्ने ठाउँ १२ फिटभन्दा कम उचाइमा रहेमा, नक्सापास नभएको संरचनामा, प्राविधिक रुपमा सवल नभएको भवनमा, बाहिरी रुपमा रङ रोगन नगरिएको भवनमा, हेर्दा दुरुस्त नदेखिने भवनमा विज्ञापन बोर्ड राख्न पाइँदैन । 

पुरातात्विक महत्वका क्षेत्र, प्रशासनिक क्षेत्र, सम्पदा क्षेत्र, कूटनीतिक क्षेत्रमा र त्यसको एक सय मिटरभित्रको दुरीमा बोर्ड राख्न पाइँदैन ।  विज्ञापन गर्न नमिल्ले विषयहरुमा प्रयोग गर्न निषेध गरेका वस्तु, पदार्थ तथा सेवा, कामपाको स्थानीय कानुन विपरीतका सेवा, संरचना र विषयवस्तु रहेका छन् । कानुनले अश्लील मानेका विषय, सामाजिक रुपमा भ्रम र विकृति फैलाउने, अन्धविश्वाशलाई प्रोत्साहन गर्ने, चिकित्सकको सिफारिसमा मात्र बिक्री वितरण गर्नुपर्ने औषधिको विज्ञापन गर्न पाइँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप