आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कविता

तिमी को हौ ?

शनिबार, १६ वैशाख २०८०, ०५ : ५०
शनिबार, १६ वैशाख २०८०

मैले जवाफ दिइरहनुपर्छ 
एउटै प्रश्नको 
‘तिमी को हौ ?’
आफ्नै परिवारलाई 
प्रत्येक चाडवाडमा भेटिने आफन्तलाई
कतिपय अवस्थामा एकान्तमा आफैँलाई
एक पटक हैन, दुई पटक हैन, बारम्बार 
मैले मलाई अर्थ्याउनुपर्छ, चिनाउनु पर्छ
सधैँजसो अपरिचितहरूलाई 
तर कतिपय भेटहरूमा 
उही चिरपरिचित अनुहारहरूलाई
कहिलेकाहीँ मानवहरूबिच त 
कहिलेकाहीँ अमानवहरूका बीच पनि
अर्थ्याउनुपर्छ, चिनाउनु पर्छ, मैले मलाई

तर,
म सधैँ एउटै रहन्न ।
पागल नठान मलाई 
र ,सजग हौ तिमी
फरक व्यक्ति, समय र प्रसङ्गअनुसार 
मेरा जवाफहरू फरक फरक पाउनेछौ तिमी,
मानिसको तौल जोख्ने मेसिनको लागि 
म ६० किलोको मासुको डल्लो ।
मेरो देशको सरकारहरूका लागि म, 
जसप्रति उ कत्ति पनि उत्तरदायी छैन, 
एउटा भोट सग्लो
परिवारको लागि म वंश अघि बढाउने सार
परम्परागत अन्धभक्ति विरुद्ध उभिने म कुलाङ्गार
क्रान्ति चाहनेका लागि म आशा हुँ भने 
सो नचाहनेका लागि निराशा पनि म नै हुँ 
आस्तिकहरूका लागि म नास्तिक 

अनि, 
नास्तिकहरूका लागि म आस्तिक
किनकि मेरो लागि कोही भगवान् छैन यहाँ
शिक्षाको व्यवसाय गर्दै रहेकाहरूका लागि 
म एउटा वस्तु हुँ 
उनीहरूको आम्दानीको स्रोत हुँ
काम गराउन चाहनेहरूका लागि 
म एउटा कर्मचारी
माया गर्न चाहनेका लागि म एउटा मायालु
घृणा गर्न चाहनेहरूका लागि 
म भन्दा उत्तम पात्र छैन अरू कोही 
रुने अनि रुवाउने पनि म हुँ उही
अब तिमी नै भन 
म के हुँ, 
के होइन ?
मलाई नै सोध्छौ भने– 
म सब थोक हुँ
म माया अनि घृणा हुँ 
म आम्दानी अनि खर्च हुँ 
आस्तिक अनि नास्तिक पनि म नै हुँ 
हो म भोट पनि हुँ 
अनि भोट दिएको प्रति शोक पनि  
म आफैँमा एउटा संसार हुँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णप्रसाद शर्मा
कृष्णप्रसाद शर्मा
लेखकबाट थप