आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कलाकार

सानो पर्दाका चर्चित हास्य कलाकार : कोही होम प्रोडक्सनमा, कोही बेरोजगार

शनिबार, १६ वैशाख २०८०, १० : ०२
शनिबार, १६ वैशाख २०८०

काठमाडौँ । एक समय सानो पर्दा अर्थात् टेलिभिजनमा हाहीमुहाली रहेका थुप्रै कलाकार अहिले हराएका छन् । कतिपय कलाकार कामविहीन भएर टेलिभिजनबाट ओझेलमा छन् भने केही अन्य काममा अल्झिएका छन् । केही त बेरोजगार समेत छन् । 

सानो पर्दाका चर्चित हास्य कलाकार के मा व्यस्त छन् त ? रातोपाटीले केही कलाकारको खोजीनीति गरेको छ । 

केदार घिमिरे (माग्ने बूढा) :

सानो पर्दाको सिरियल ‘मेरी बास्सै’ बाट उदाएर ठूलो पर्दासम्म छाउन सफल कलाकार केदार घिमिरे अभिनयमा ‘माग्ने बूढा’को उपनामबाट चर्चित छन् । 

उनी अहिले पुरै बेरोजगर हुन् । उनको हातमा कुनै प्रोजेक्ट छैन । टेलिशृङ्खला तथा फिल्म अभिनयसमेत गर्दै आएका उनको निर्माणमा सहकार्य र अभिनय रहेको फिल्म ‘छक्का पन्जा ४’ भने आठौँ हप्तामा चलिरहेको छ ।

केही अगाडि ‘कमेडी हब’ नामक टेलिभिजन कमेडी शो सुरु गरेका उनको उक्त शो बन्द भइसकेको छ । उनी अहिले आफू पुरै बेरोजगार भएको बताउँछन् ।

किरण केसी (ए राता मकै) :

अभिनयमा ‘ए राता मकै’ थेगो बोलेको कारण चर्चित कलाकार किरण केसी पछिल्लो समय निकै व्यस्त छन् । उनी सिरियल, फिल्म भन्दा पनि म्युजिक भिडियो अभिनयमा व्यस्त छन् । 

अहिले महिनामै उनी १८/२० वटा म्युजिक भिडियो अभिनय गर्छन् । भिडियो अभिनयले सास फेर्ने फुर्सद नभएको केसी बताउँछन् । 

नियमित सिरियल तथा फिल्म निर्माण, अभिनय गर्दै आएका उनले पछिल्लो समय सिरियल तथा फिल्म पनि खेल्न भ्याएका छैनन् । म्युजिक भिडियोको अलावा व्यावसायिक विज्ञापनमा समेत उनी व्यस्त छन् ।

पल्पसा डंगोल (चम्सुरी) :

हास्य सिरियल ‘मेरी बास्सै’की चर्चित कलाकार हुन् पल्पसा डंगोल । चम्सुरी पात्रको रूपमा चर्चित उनी अहिले फुर्सदिली छिन् । 

उनको हातमा अहिले ‘मेरी बास्सै’ बाहेक कुनै प्रोजेक्ट छैन । ‘मेरी बास्सै’ सातामा एक दिन काम गरे पुग्छ । अन्य समय फुर्सद भएको उनी बताउँछिन् । 

म्युजिक भिडियोमा समेत बाक्लै देखिने उनी फुर्सदको समय सदुपयोग गर्दै आफ्नो गीत र भिडियो ल्याउने तरखरमा छिन् । उनी एक सिरियल निर्माण निर्देशनको समेत तयारी गर्दैछिन् ।

शंकर आचार्य (वरिष्ठे) :

हास्यशृङ्खला ‘भद्रगोल’मा सबैले रुचाएको पात्र ‘वरिष्ठे’को भूमिका निर्वाह गर्ने कलाकार शंकर आचार्य अहिले पुरै बेरोजगार छन् । उनले लामो समय ‘भद्रगोल’ निर्देशन पनि गरेका थिए ।

फिल्म निर्माण तथा निर्देशनसमेत गर्दै आएका आचार्यले फिल्म निर्माण तथा अभिनय गर्न ‘भद्रगोल’ छोडेका थिए । उनी बाहिरको सानो पर्दाको सिरियल अफर आए खेल्ने सुरमा छन् । तर आफै निर्देशक भएकोले बाहिरको फिल्मबाट अफर नआउने गरेको उनको गुनासो छ । 

भिडियो तथा विज्ञापन चलचित्र पनि अहिले उनको हातमा छैन । पहिले मेला, महोत्सवमा निकै व्यस्त रहने उनी अचेल त्यसमा पनि जान पाएका छैनन् ।

कुञ्जना घिमिरे (सुन्तली) :

हास्यकलाकार कुञ्जना घिमिरे ‘सुन्तली’ पनि अहिले त्यति व्यस्त छैनन् । उनी अहिले युट्युबका लागि ‘मै राम्री’ भन्ने सिरियल निर्माण, अभिनय गरिरहेकी छन् । 

‘मेरी बास्सै’मा सुन्तलीको भूमिका निर्वाह गरेर चर्चित बनेकी उनी एक समय विज्ञापन, चलचित्र र सानो पर्दामा निकै व्यस्त थिइन् । पति कलाकार सिताराम कट्टेल ‘धुर्मुस’सँग समाजसेवामा समेत सक्रिय रहँदै आएकी उनी रंगशाला निर्माण अलपत्र भएपछि विवादित बनेकी छिन् । 

सेन्टीभाइरस लगायत केही फिल्म निर्माण गरेकी उनी रंगशालाले तनाव दिइरहेको बताउँछिन् । छोटो फिल्म, म्युजिक भिडियो र मेला महोत्सवमा समेत भ्याइ नभ्याइ हुने उनी यस्ता गतिविधिबाट अहिले टाढा छिन् ।

रामचन्द्र अधिकारी (काजी साप) :

एक समय चलचित्रमा निकै व्यस्त कलाकार रामचन्द्र अधिकारी अहिले सानो पर्दाका चर्चित कलाकार हुन् । सिरियल ‘मेरी बास्सै’ बाट ‘काजी साप’ को परिचय बनाएका उनी ‘मेरी बास्सै’ र ‘कान्छी’ सिरियलमा अहिले अभिनय गरिरहेका छन् । 

त्यसको अलवा एक फिल्म पनि हातमा छ । उनी फाट्टफुट्ट म्युजिक भिडियोमा पनि देखिने गरेका छन् । हालै ‘रातो भाले’ बोलको एक म्युजिक भिडियो अभिनय सकाएका उनी केही भिडियो अभिनय गर्ने तरखरमा पनि छन् । 

उनका ‘हल्लो काशीराम’ र ‘सिर्जना’ नामक दुई फिल्म आउने तरखरमा छ । कहिलेकाहीँ मेला, महोत्सवमा समेत व्यस्त रहने उनी हाल स्कुलमा मञ्चन भइरहेको ‘दुर्व्यसनी’सम्बन्धी एक नाटकमा पनि सहभागी छन् ।

गोपाल ढकाल ‘छन्दे’ : चर्चित हास्यशृङ्खला ‘तितो सत्य’मा दीपाश्री निरौलाको भाइ, दीपकराज गिरीको सालो ‘छन्दे’को भूमिकाबाट चर्चित कलाकार गोपाल ढकालको हातमा पनि खासै काम छैन । 

उनी अहिले स्टेज शो र कलाकारकार संघको गतिविधिमा व्यस्त छन् । संघले उनलाई प्रचार प्रसार संयोजक बनाएको छ । अहिले आफ्नो एक गीत ल्याउने तरखरमा रहेका उनी  आफ्नो सिरियल ‘टेन्सन साफ’ को नयाँ शृङ्खला पनि ल्याउने तरखरमा लेखन कार्यमा छन् । 

उनी अभिनीत ‘निरमाया’ र ‘चिठ्ठी’ लगायत केही फिल्म पनि रिलिजको तयारीमा छ । 

‘तितो सत्य’को अलावा उनी शालिमार सिमेन्टको विज्ञापनबाट सबै माझ परिचित भएका थिए ।

सुरवीर पण्डित (दाह्री बा) :

हास्यशृङ्खला ‘मेरी बास्सै’बाट ‘दाह्री बा’को रूपमा चर्चित कलाकार सुरवीर पण्डितको हातमा खासै काम छैन । केही समय अगाडिसम्म निकै व्यस्त उनी ‘मेरी बास्सै’ भने नियमित अभिनय गरिरहेका छन् । 

म्युजिक भिडियो, विज्ञापन, चलचित्र समेतमा देखिदैै आएका उनी मेला महोत्सवमा पनि व्यस्त रहने गर्दथे । अहिले ‘मेरी बास्सै’ बाहेक कुनैपनि काम नरहेको उनी बताउँछन् । 

‘अहिले म फुर्सदिलो भन्दा पनि हुन्छ,’ पण्डितले भने । अहिले आफूलाई जुन प्रोजेक्टको अफर आएपनि अभिनय गर्न भ्याउने उनले बताए ।

सुलेमान शंकर ‘इकु’ :

हास्यकलाकार सुलेमान शंकर ‘इकु’ पनि अहिले बेरोजगार जस्तै छन् । उनको हातमा ‘हल्का रमाइलो’ बाहेक कुनैपनि प्रोजेक्ट छैन । 

‘हल्का रमाइलो’ सिरियल पनि उनले केही अगाडिबाट अभिनय थालेका हुन् । ‘मेरी बास्सै’ बाट जंगली पात्र इकुको परिचय बनाएका उनले इकु शृङ्खलाको केही फिल्म पनि बनाए । 

अहिले उनी नयाँ फिल्मको तयारीमा छन् । उनको हातमा अहिले मेला, महोत्सवको कार्यक्रम पनि छैन । अहिले फुर्सदको समय भएकोले कामको अफर आए अभिनय गर्ने उनले बताए ।

कुमार कट्टेल (जिग्री) :

हास्य कलाकार कुमार कट्टेल ‘जिग्री’ पनि पछिल्लो केही समयदेखि फुर्सदिलो छन् । उनको अभिनय रहँदै आएको ‘सक्की गो नि’ केही समयदेखि बन्द छ । 

‘मेरी बास्सै’ अभिनयबाट जिग्रीको परिचय बनाएका उनले ‘भद्रगोल’ हुँदै ‘सक्की गो नि’ सम्म यही भूमिका निर्वाह गर्दै आएका छन् । ‘जिग्री’ को भूमिकाबाट युवापुस्ता माझ राम्रो क्रेज बनाउन सफल उनी फेरि ‘सक्की गो नि’ ल्याउने तरखरमा छन् । 

केही अगाडि फिल्म निर्माण गर्ने समेत बताए पनि त्यो कार्य अगाडि बढेको छैन । मेला, महोत्सवमा समेत खासै व्यस्त नरहेका उनी कुञ्जना घिमिरेको सिरियल ‘मै राम्री’ पनि सघाउँदै छन् । 

मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) :

‘बल्छी धुर्बे’ को रूपमा चर्चित कलाकार मरिचमान श्रेष्ठ अहिले दुई सिरियल ‘हल्का रमाइलो’ र ‘जुठे’ अभिनय गरिरहेका छन् । यसको अलावा उनी सहकार्यमा लेखन निर्देशन समेत गर्दै आएका छन् । उनी एक फिल्म निर्माणको पनि तयारी गर्दैछन् ।

‘मेरी बास्सै’ अभिनयबाट ‘बल्छी धुर्बे’ परिचय बनाएका उनी केही अगाडिसम्म मेला, महोत्सवमा समेत निकै व्यस्त रहन्थे । 

अर्जुन घिमिरे (पाँडे) :

अभिनयमा ‘पाँडे’ नामबाट चर्चित कलाकार अर्जुन घिमिरे पनि पछिल्लो समय फुर्सदिलो छन् । उनको अभिनय निर्देशन रहँदै आएको सिरियल ‘सक्की गो नि’ केही महिना पहिले बन्द भएको कारण उनी फुर्सदिलो भएका हुन् । 

‘भद्रगोल’ सिरियलमा पाँडे नामको भूमिका निर्वाह गरेपछि चर्चित बनेका उनले ‘सक्की गो नि’ मा यही भूमिका निर्वाह गर्दै आएका छन् । अहिले उनी ‘सक्की गो नि’ सिरियल  फेरि ल्याउने तरखरमा जुटेका छन् । आफूले एक फिल्म निर्माण तयारी समेत गरिरहेको घिमिरेले बताए ।

हरि निरौला (कक्रोज) :

हास्यश्रृखला ‘भद्रगोल’ मा कक्रोज पात्रको भूमिका निर्वाह गरेपछि चर्चित बनेका कलाकार हरि निरौला पछिल्लो समय फुर्सदिलो छन् । पछिल्लो समय उनले अभिनय गर्दै आएको सिरियल ‘सक्की गो नि’ बन्द भएपछि उनी फुर्सदिलो बनेका हुन् । 

उनी अहिले फाट्टफुट्ट म्युजिक भिडियोमा अभिनय गरिरहेका छन् । अहिलेसम्म फिल्म अभिनय अवसर नपाएका उनी सिरियल बाहेकको अफर आए खेल्ने बताउँछन् । 

सागर लम्साल (बले) :

कलाकार सागर लम्साल भने ‘बले’ पछिल्लो समय म्युजिक भिडियोमा निकै देखिने गरेका छन् । 

महिनामा दर्जन हाराहारी म्युजिक भिडियो अभिनय गर्ने उनी पछिल्लो समय हास्य सिरियल ‘सक्की गो नि’ मा देखिँदै आएका थिए । करिब ३ महिना पहिले सिरियल बन्द भएपछि उनी फुर्सदिलो छन् । 

अहिले केही फिल्मको अफरसमेत उनलाई मिलेको छ । तर उनी बाहिरको भन्दा आफ्नै होम प्रोडक्सनको फिल्ममा पहिले काम गर्ने सुरमा छन् । फिल्म ‘लोफर’मा बलेको चरित्रबाट अभिनयमा भित्रिएका सागर यो चरित्रबाट चर्चित भने हास्य सिरियल ‘भद्रगोल’ बाट भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप