प्रेमको नजर
म हारेको छु, वसन्तदेखि
किनभने मैले रोजेको फूल
त्यो वसन्तमा कसैले टिपेछ ।
म यो वर्षासँग थकित छु
किनभने, बहेर गयो
फूलको थुङ्गा पानीमा ।
माया कस्तो छ तिम्रो
बिछोडमा टुटी जाने ?
मैले तिम्रो आकृतिसँग
मेरो कलाको मूर्ति साटे भने
अर्को कलाको जन्म हुन्छ ।
मायाको जगत ठूलो छ,
माया गरिएका हरेक शब्द
एउटा निको लाग्ने तस्बिर भएर
आँखामा कैद भएर दृष्टि भएका छन् ।
म मायामा संसार देखिरहेछु
र, संसारमा कति मायाको कमी छ
महसुस गरिरहेको छु ।
यहाँ माया गर्नेहरूले माया नपाउँदै
ऋतुहरू परिवर्तन हुन्छन्,
जमाना पनि फेरिन्छ ।
एउटा दृष्टि परिवर्तन गरेपछिको
जगत र सुन्दर मायाका लहरहरू
कलाका अन्तिम दृष्टान्तहरू हुन्
जुन धेरै पर पुग्ने छन् ।
त्यो मैले हारेको
वसन्तलाई पनि म प्रेम गर्छु
त्यो म थाकेको
वर्षासँग पनि म प्रेम गर्छु
त्यो तिम्रो बिछोडलाई पनि
मेरो प्रेमको सम्झना अर्पण छ ।
विराटनगर–१३, मोरङ