आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फखरको उत्कृष्ट ब्याटिङमा पाकिस्तानको रेकर्ड ‘रन चेस’

आइतबार, १७ वैशाख २०८०, ०९ : ४६
आइतबार, १७ वैशाख २०८०

रावलपिन्डी । फखर जमानको १ सय ८० रनको मद्दतले पाकिस्तानले न्युजिल्याण्डमाथि ७ विकेटको शानदार जीत हासिल गरेको छ । न्युजिल्याण्डले प्रस्तुत गरेको ३ सय ३७ रनको लक्ष्य पाकिस्तानले १० बल बाँकी छँदै ३ विकेटको क्षतिमा पछ्यायो । एकदिवसीय क्रिकेटमा पाकिस्तानले पछ्याएको दोस्रो ठुलो लक्ष्य हो । यसअघि सन् २०२२ मा पाकिस्तानले अस्ट्रेलियाविरुद्ध लाहोरमा ३ सय ४९ को लक्ष्य पछ्याएको थियो ।

लगातार तेस्रो शतक हिर्काएका जमानले मात्र १ सय ४४ बलमा १ सय ८० रनको बनाएका थिए । उनले यसक्रममा ६ छक्का र १७ चौका हिर्काए । उनलाई कप्तान बाबर आजमले ६५ रन तथा मोहमद रिजवानले ५४ रन बनाउँदै राम्रो साथ दिए । न्युजिल्याण्डका लागि म्याट हेनरी, हेनरी सिप्ले र इस सोधीले एक–एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङमा उत्रेको न्युजिल्याण्डले डार्यल मिचेलको शतकको मद्दतले ५ विकेटको क्षतिमा ३ सय ३६ रन बनाएको थियो । मिचेलले १२९ बनाए । त्यस्तै कप्तान टम ल्याथम ९८ रन बनाएर शतक बनाउन मात्र २ रनले चुकेका थिए । च्याड बोवेसले ५१ रनको योगदान दिए । पाकिस्तानका ह्यारिस राउफले ४ विकेट तथा नसिम साहले १ विकेट लिए । ५ खेलको शृङ्खलामा पाकिस्तानले २–० को अग्रता बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप