आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

भारततर्फको निर्यात खुम्चिएपछि उद्योगीले घटाउन थाले खानेतेलको मूल्य

सोमबार, १८ वैशाख २०८०, ०७ : १५
सोमबार, १८ वैशाख २०८०

काठमाडौँ । भारततर्फको निर्यात खुम्चिएपछि खानेतेलको मूल्य धमाधम घट्न थालेको छ । भारतले सन् २०२२ मे महिनामा कच्चा खानतेलको भन्सार महसुल शून्य बनाएपछि नेपालतर्फको निर्यात प्रभावित बनेको छ । यससँगै, लामो समयदेखि भारततर्फ खानेतेल निर्यात गरिरहेका व्यवसायीले स्वदेशी बजारमा मूल्य घटाउन थालेका हुन् । भारतले सन् २०२४ सम्म लागू हुने गरी कच्चा खानेतेलको भन्सार महसुल शून्यमा झार्दै गूड्स एण्ड सर्भिस ट्याक्स ५ प्रतिशत काम गरेको थियो ।

उद्योगीले रुस–युक्रेन युद्धलाई कारण देखाउँदै खानेतेलको मूल्यमा अचाक्ली वृद्धि गरेका थिए । तोरीको तेलको मूल्य बढेर प्रतिकार्टुन ३२ सय रुपैयाँसम्म पुगेको थियो । यस्तै, सूर्यमुखी र भटमास तेलको मूल्य प्रतिकार्टुन २५ सयदेखि २७ सय रुपैयाँसम्म पुगेको थियो । जुन, यति बेला निरन्तर घटेर डेढ वर्षअघिकै मूल्यमा बिक्री हुन थालेको हो ।नेपाल चामल, तेल, दाल उत्पादक संघका उपाध्यक्ष नरेश राठीले बजारमा धमाधम खानेतेलको मूल्य घट्न थालेको बताए ।

उनले यति बेला तोरीको तेलको मूल्य प्रतिकार्टुन २५ सय रुपैयाँसम्म आइपुगेको बताए । जुन, ७०० रुपैयाँ प्रति कार्टुनसम्मको गिरावट हो । यस्तै, बजारमा भटमास र सूर्यमुखी तेलको मूल्य घटेर प्रतिकार्टुन २ हजार रुपैयाँभन्दा तल आइपुगेको छ । ‘अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्नुका साथै भारतबाट समेत चोरी पैठारी हुन थालेको छ भने स्वदेशी उत्पादन समेत बजारमा आउँदा मूल्य प्रभावित बनेको छ,’ राठीले भने ।

विदेशी बजारमा भटमास र सूर्यमुखीको मूल्य प्रतिटन १८ सय डलरसम्म पुगेको थियो । जुन, यति बेला घटेर १ हजार डलरसम्म आइपुगेको छ । यस्तै, विदेशी बजारमा यसअघि, प्रतिटन ८०० डलरसम्म पुगेको कच्चा तेलको मूल्य अहिले ६६० डलरमा आइपुगेको छ । यसबीचमा प्रतिटन १४० डलरसम्म घटेको उद्योगी बताउँछन् । यसैगरी, गेडा तोरीको मूल्य १४० रुपैयाँ प्रतिकिलोसम्म पुगेकोमा हाल घटेर १०० रुपैयाँसम्म आइपुगेको छ । खासगरी, स्वदेशी उत्पादन भित्रिएसँगै आन्तरिक बजारमा तोरीको मूल्य घटेको र अन्तर्राष्ट्रिय बजारमा समेत घट्दा स्वदेशी बजार प्रभावित बनेको हो ।

यससँगै, यसअघि थोक बजारमा ३५० रुपैयाँसम्म पुगेको तोरीको तेलको मूल्य यति बेला प्रतिलिटर २५० रुपैयाँसम्म आइपुगेको छ । यस्तै, यसअघि थोक बजारमा २१० रुपैयाँदेखि २३० रुपैयाँसम्म पुगेको भटमास र सूर्यमुखी तेलको मूल्य प्रतिलिटर १९० देखि १९५ रुपैयाँ प्रतिलिटरसम्म आइपुगेको छ । यससँगै, तोरीको तेलको खुद्रा मूल्य प्रतिलिटर ३०० र भुटेको तोरीको तेलको मूल्य प्रतिलिटर ३५० रुपैयाँमै पाइन थालेको छ । यस्तै, भटमास तेलको मूल्य प्रतिलिटर २२० र सूर्यमुखी तेलको मूल्य २४० रुपैयाँ प्रतिलिटरसम्म झरेको नेपाल खुद्रा व्यापार संघले जनाएको छ ।

‘अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि नेपाली बजारमा पनि घटेको छ,’ संघका महासचिव अमूलकाजी तुलाधारले भने, ‘यसबाहेक, उद्योगीले पठाएको मूल्यमै आफूहरूले तेल बेच्ने गरेको र यति बेला घटाएर पठाएका छन् ।’ तर, उद्योगीहरूले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा स्वदेशी मूल्य प्रभावित बनेको बताए पनि निर्यात प्रभावित बन्दा मूल्य घटेको हो ।

निर्यात घटेपछि मूल्य घटाउँदै उद्योगी

भारतले गत वर्ष सन् २०२२ को मे महिनामा विदेशबाट आयात हुने कच्चा खानेतेलको भन्सार महसुल शून्य बनाउने निर्णय गरेको थियो । भारत विश्वकै सबैभन्दा ठूलो खानेतेल आयातकर्ता राष्ट्र हो । भारतले युक्रेनसँगै, ब्राजिल, अर्जेन्टिना, बोलिभिया लगायतका मुलुकबाट सूर्यमुखी र भटमासको कच्चा तेल आयात गर्छ । यस्तै, सिंगापुर, मलेसिया र इण्डोनेशियाबाट पाम तेल आयात गर्छ । तर, नेपालको न्यून भन्सार महसुलको फाइदा उठाउँदै उद्योगीले कच्चा तेल नेपाल ल्याउने र प्रशोधन गरेर भारत पठाउँदै आइरहेका थिए ।

गत आर्थिक वर्ष २०७८/७९ को ९ महिनाको अवधिमा नेपालबाट भारततर्फ २७ अर्ब रुपैयाँभन्दा बढीको पाम तेल निर्यात गरेको थियो । जबकि, चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा भारततर्फ जम्मा १८ अर्ब रुपैयाँको पाम तेल निकासी भएको छ । यस्तै, गत आर्थिक वर्षको ९ महिनामा ४३ अर्ब ३० करोड रुपैयाँको भटमास तेल र ४ अर्ब १ करोड रुपैयाँको भटमास तेल निर्यात भएको थियो । जबकि, चालू वर्षको सोही अवधिमा जम्मा ८ अर्ब ४३ करोडको भटमास तेल र २९ करोड रुपैयाँको भटमास तेल निर्यात भएको छ ।

यसले भारतको शून्य भन्सार नीतिले नेपालका उद्योग प्रभावित बनेको र मूल्य समेत प्रभावित बनेको देखाउँछ । यसअघि, भारततर्फ उच्च मात्रामा निर्यात हुँदा उद्योगीले अचाक्ली मूल्य बढाएर उपभोक्ताको ढाड सेकेको थिए । तर, भारततर्फको निर्यात प्रभावित बन्दै गएपछि स्टक सक्न समेत मूल्य घटाउनुपर्ने दबाब उद्योगीसामु छ । यसबाहेक, आर्थिक मन्दीका कारणले बजारमा माग घट्दा समेत मूल्य घटाएर बिक्री गर्न बाध्य बनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप