आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पार्टी एकतापछि अध्यक्षको हैसियतामा किरणले भने– जनसंघर्षको नेतृत्व गर्न प्रतिबद्ध छौं

सोमबार, १८ वैशाख २०८०, १४ : ४२
सोमबार, १८ वैशाख २०८०

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य ‘किरण’ले आफ्नो पार्टी राष्ट्रियता, प्रजातन्त्र, जनतन्त्र र जनजीविकाका समस्याको अन्तिम समाधानका लागि जनसंघर्षको नेतृत्व गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

मजदुर दिवसकै अवसर पारेर सोमबार विज्ञप्ति जारी गर्दै उनले नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का बीच एकता भई क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल गठन भएको जनाएका छन् । सोही दलको अध्यक्षका हैसियतमा किरणले जारी गरेको विज्ञप्तिमा दुई पार्टीबीच ‘मालेमावादी सिद्धान्त’ मा आधारित रहेर एकता बताएको प्रस्ट पारेका छन् ।

उनले मालेमावादलाई मार्गनिर्देशक सिद्धान्त बनाइएको उल्लेख गर्दै आम कार्यक्रम नयाँ जनवाद तथा आधारभूत कार्यक्रमका रुपमा वैज्ञानिक समाजवाद र साम्यवाद, क्रान्तिमा बल प्रयोगको भूमिका, सर्वाहारा अन्तर्राष्ट्रियतावाद, जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्त, विद्यमान बहुलवादी संसदीय व्यवस्थाको अन्त्य र संघीय जनगणतन्त्र नेपालको स्थापनालाई क्रान्तिकारी कार्यदिशा बनाइएको प्रस्ट पारेका छन् ।

‘अर्थ–सामाजिक हिसाबले अर्ध–औपनिवेशिक, अर्ध–सामन्ती र मुख्यतः नव–औपनिवेशिक, वर्ग विश्लेषणका हिसाबले बचेखुचेको सामन्तवाद, नोकरशाही पुँजीवाद, दलाल पुँजीवाद मुख्यतः दलाल पुँजीवाद दुश्मन शक्ति र मजदुर, किसान, सिपाही, सुकुमबासी, राष्ट्रिय पुँजीपति लगायतको मित्रशक्ति रहेको अवस्थामा दलाल तथा नोकरशाही पुँजीवादी राज्य सत्ता र समग्र नेपाली उत्पीडित जनताका बीचको अन्तरर्विरोध नै प्रधान अन्तरविरोध रहेको छ,’ विज्ञप्तिमा उनले भनेका छन् । यसको समाधान तथा नयाँ जनवादी क्रान्ति गर्दै पुगिने वैज्ञानिक समाजवादी व्यवस्था हो भन्ने कुरामा आफ्नो पार्टी प्रतिबद्ध रहेको पनि उनले जनाएका छन् ।

उनले विभिन्न संसदीय संशोधनवादी दलहरुको भ्रममा परेका क्रान्तिकारीहरु, छरिएर रहेका स–साना समूह र व्यक्तिहरुलाई पनि एकता प्रक्रियामा ध्रुवीकृत र एकीकृत हुन पनि आह्वान गरेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप