आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बारामा सङ्घ र प्रदेश सरकारको लगानीमा करोडौँका सिँचाइ योजना कार्यान्वयनमा

योजना सम्पन्न भए चैते धान, मकै, गहुँ उत्पादन गर्ने कृषक सबैभन्दा धेरै लाभान्वित हुने
मङ्गलबार, १९ वैशाख २०८०, १० : ०४
मङ्गलबार, १९ वैशाख २०८०

बारा । ‘खेत–खेतमा पानी हात–हातमा रोजगारी’ भन्ने  प्रदेश सरकारको नारा ६ वर्षपछि लागु भएको छ । सिँचाइ र किसानलाई रोजगारीसँग जोडेर प्रदेश सरकारले पहिलो पटक बारामा करिब ३५ करोडमा ४ वटा योजनाहरू कार्यान्वयनमा ल्याएको छ । बाराको कोल्हवी नगरपालिका, करैयामाई, आर्दशकोतवाल र बारागढी गाउँपालिकामा प्रदेश सरकारको लगानीमा पहिलो पटक सिँचाइ योजनाहरू कार्यान्वयनमा आएका छन् ।

जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बारा, कलैयाका प्रमुख हसमत अन्सारीले प्रदेश सरकार गठन भएको ५ वर्षपछि बारामा पहिलो पटक सिँचाइ क्षेत्रमा काम सुरु भएको बताएका । ‘बजेट त पहिला पनि विनियोजन थियो तर काम सुरु हुन सकेको थिएन । म आएपछि सबै ठाउँमा धमाधम काम सुरु भएको छ, केही योजनाहरू चालु आर्थिक वर्षको अन्तसम्म सम्पन्न गर्ने हाम्रो योजना नै छ’ सिँचाइ कार्यालय बाराका प्रमुख अन्सारीले भने ।

प्रदेश सरकारको ६ करोड लगानीमा कोल्हवी नगरपालिकामा ‘बभनी’ सिँचाइ योजनाको काम सुरु गरेको छ । त्यस्तै बारागढी नगरपालिकामा ६ करोड ५० लाखको लगानीमा ‘गेह्रकाई’ सिँचाइ योजना, आदर्श कोतवाल गाउँपालिकामा ७ करोड ५० लाखमा ‘अरुवा’ सिँचाइ योजनामा कार्यान्वयनमा ल्याएको छ । साथै सङ्घीय सरकार र मधेस प्रदेश सरकारको समपूरक अनुदानमा १५ करोड लगानीमा करैयाँमाई गाउँपालिकामा पनि सिँचाइको काम भइरहेको सिँचाइ कार्यालय प्रमुख अन्सारीले बताएका छन् । यी सबै योजनाहरू ठेक्का पक्रियाबाट काम भइरहेको  अन्सारीले बताएका छन् ।

s144

प्रदेश सरकारको लगानीमा कोल्हवी नगरपालिका वडा नं २ मा २ सय हेक्टर भन्दा बढी कृषि योग्य भूमिलाई सिँचाइ हुने गरी निमार्णको काम धमाधम निवर्तमान नगरप्रमुख भरत भण्डारीले जनाएका छन् ।

बभनी सिँचाइ योजनाको काम सम्पन्न भए कोल्हवी नगरपालिका वडा नं २ र ९ का बभनी, मठवा,बटुलिया लगायतका गाउँका कृषकहरू लाभान्वित हुनेछन् ।

सो सिँचाइ योजनाका लागि राष्ट्रिय वन क्षेत्रभित्र रहेको पातालगंगा (सिमसार) को पानीलाई एकमिटर गहिराइमा ४ हेक्टरको तलाउ निमार्ण गरेर जम्मा गरिएको छ । तलाउमा जम्मा भएको पानीलाई आवश्यकता अनुसार नहरको माध्यमबाट किसानको खेतसम्म पुर्याइने निवर्तमान नगरप्रमुख भण्डारीले जनाएका छन् । सो क्षेत्रमा हाल पक्की नहर, तलाउ बनाउने काम धमाधम भइरहेको छ  ।

सो तलाउको पानीले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा कोल्हवी नगरपालिका भित्रका सयौँ हेक्टर कृषियोग्य जमिन सिँचाइ गर्न सकिने छ ।  यसबाट चैते धान, गहुँ मकै, तरकारी खेती गर्ने कृषकहरू सबैभन्दा बढी लाभान्वित हुने र उत्पादन समेत बढ्ने भण्डारीको दाबी छ ।

s16

बहुबर्षिय योजना अन्तर्गतको काम भए पनि चालु आवको अन्तसम्म सम्पूर्ण काम सकिने जनाइएको छ । ‘बर्खे धान रोप्ने बेलामा त पानी प्रशस्त हुन्छ तर चैते धान रोप्ने मौसममा पानीको समस्या हुँदा यो सिँचाइले धेरै फाइदा पुर्याउछ’ निवर्तमान नगरप्रमुख भण्डारीले भने ‘यो योजनामा लगभग ७० प्रतिशत काम भइसकेको छ’ पक्की नहर बनाएर सिँचाइ गर्दा बर्सेनि बाढी आएर बाँध भत्काएर लैजाने समस्या रोकिने र सुख्खा मौसममा सिँचाइको कोहल्वी नगरपालिका नगरप्रमुख रामप्रसाद चौधरीले बताएका छन् ।

‘ताल निमार्ण गर्दा बाह्रैमहिना त्यसले सिंचाईमा धेरै महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ र उत्पादन समेत बढाउँछ’ नगरप्रमुख चौधरीले भने । कोल्हवी नगरपालिकाले पछिल्लो समय पातालगंगाको प्राकृतिक पानीको श्रोतलाई ताल निमार्ण गरेर सिँचाइको साथसाथै पर्यटनलाई समेत प्रवर्द्धन गर्नेगरी काम गरिरहेको नगरप्रमुख चौधरीले जनाएका छन् ।

यता बारागढी गाउँपालिका निमार्ण भइरहेको गेह्रकाई सिँचाइ योजना सम्पन्न भए १० देखि १५ हजार हेक्टरमा कृषि योग्य भूमिमा सिँचाइ सहज ढङ्गले गर्न सकिने बारागढी नगरपालिका नगरप्रमुख अशोककुमार जैशवालले  बताएका छन् । ‘गेह्रकाई सिँचाइ योजना सम्पन्न भए बारागढीको ३÷४ वटा गाँउ र आर्दशकोतवाल गाँउपालिकाको केही वडा लाभान्वित हुने देखिन्छ’ गाउँपालिका प्रमुख जैशवालले भने । 

s15

बारामा ६९ हजार ५१६ हेक्टर कृषियोग्य भूमि रहेकोमा ४६ हजार १४३ हेक्टरमा मात्रै खेती हुने गरेको छ । जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बाराको तथ्याकं अनुसार हाल जिल्लाभरमा ४६ हजार १४३ हेक्टर भूमि कुलो,नहर,पोखरी,बोरी र थोपा विधिबाट सिञ्चित भएको जनाएको छ ।

पछिल्लो समय स्थानीय तहहरूले कृषकहरूलाई अनुदानमा साना सिँचाइ योजनामा लगानी गरेको छ । सिँचाइ कार्यालय बाराका प्रमुख हसमत अन्सारीले मधेस प्रदेशका ८ जिल्लामा मध्ये खोलानाला र प्राकृतिक पानीको श्रोतमा सबैभन्दा धनी बारा जिल्ला भएकोले थोरै लगानीमा पनि सिँचाइ क्षेत्रमा धेरै काम गर्न सकिने बताएका छन् ।

s9

हालसम्म मधेस प्रदेशका ८ जिल्लामा ५ लाख हेक्टरमा सिँचाइको भएको तथ्याकं भए पनि  फिल्डमा भने ३ लाख हेक्टरमा मात्रै सिँचाइ भएको अन्सारीले बताएका छन् । प्राकृतिक रूपमा बाह्रै महिना पानी हुने पुराना कुलोहरू मर्मतसम्भार र अतिक्रमणको चपेटामा परेका कारण पनि कृषि उत्पादन र किसानहरू मर्कामा परेका अन्सारीले बताएका छन् ।

s4

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप