आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आईपीएल क्रिकेट : इशान  र सूर्यकुमारको उत्कृष्ट प्रदर्शनमा मुम्बईको जित

बिहीबार, २१ वैशाख २०८०, ०६ : ३३
बिहीबार, २१ वैशाख २०८०

काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट प्रतियोगिताको बुधबार राति खेलिएको खेलमा मुम्बई इन्डियन्स विजयी भएको छ । मुम्बईले पञ्जाब किङ्सलाई ६ विकेटले हरायो । 
टस हारी पहिलो ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित ओभरमा ३ विकेट गुमाएर २ सय १४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको मुम्बईले १८.५ ओभरमा ४ विकेट गुमाएर २ सय १६ रन बनाउँदै विजयलक्ष्य पार ग¥यो ।

मुम्बईको जितमा विकेटकिपर ब्याट्सम्यान इशान किसन र सूर्यकुमार यादबले अर्धशतकीय योगदान गरे । ओपनर इशानले ७५ रन बनाए । उनले केवल ४१ बलको सामना गरी ४ छक्का र ७ चौका प्रहार गरेका थिए । उनी म्यान अफ दि म्याच पनि घोषित भए ।

सूर्यकुमारले ३१ बलको सामना गरी २ छक्का र ८ चौकाको मद्दतले ६६ रन बटुले । तिलक बर्माले अविजित २६ र क्यामरुन ग्रिनले २३ रन बनाए । टिम डेभिडले पनि टोलीको खातामा अविजित १९ रन थपेका थिए । पञ्जाबका बलर नाथन एलिसले २ तथा ऋषी धवन र अर्शदीप सिंहले १÷१ विकेट लिए ।

त्यसअघि पञ्जाबका लागि लियाम लिभिङस्टोनले अविजित ८२ रनको बनाएका थिए । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल ४२ बलको सामना गरी ४ छक्का र ७ चौका प्रहार गरेका थिए । 

विकेटकिपर ब्याट्सम्यान जितेश शर्माले पनि अविजित ४९ रनको बनाए । उनले २७ बलको सामना गरी २ छक्का र ५ चौका हिर्काए । 

कप्तान शिखर धवनले ३० र म्याथ्यु सर्टले २७ रन थपे । पञ्जाबले अतिरिक्त रुपमा १७ रन पाएको थियो । मुम्बईका बलर पियुष चावलाले २ र अर्साद खानले १ विकेट लिए । हालसम्म ९ खेलबाट १० अंक बटुलेको मुम्बई छैटौं स्थानमा छ । 

यसैगरी १० खेलबाट १० अंक जोडेको पञ्जाब भने तालिकाको सातौं स्थानमा आसिन छ । आईपीएल तालिकाको पहिलो स्थानमा आसिन गुजरात ९ खेलबाट १२ अंक बटुलेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप