आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
बन्यजन्तु

चित्रसेनकलीले पाँच वर्षको अन्तरालमा जन्माइन् दोस्रो सन्तान

आफ्नो सन्तान हेर्न चितवन राष्ट्रिय निकुञ्जबाट २२ महिनापछि गोविन्दे प्रतापपुरमा
बिहीबार, २१ वैशाख २०८०, १० : ४५
बिहीबार, २१ वैशाख २०८०

बारा । चितवन राष्ट्रिय निकुञ्जबाट छावा (सन्तान) को मुख हेर्न गोविन्दे मत्ता (भाले हात्ती) एकसाता अघि पर्सा राष्ट्रिय निकुञ्जको मनहरी, प्रतापपुरमा आइपुगेको छ ।

चित्रसेनकली ढोई (पोथी हात्ती) लाई २२ महिनाअघि गर्भधारण गराएको गोविन्दे आफ्नो सन्तान जन्मनु एक दिन अघि मात्रै पर्सा राष्ट्रिय निकुञ्ज आइपुगेको हो । चित्रसेनकलीले गत शनिबार भाले छावालाई जन्म दिएकी छिन् ।

यो उनको दोश्रो बेत हो । चित्रसेनकलीले पहिलो सन्तानको रूपमा ५ वर्षअघि पर्सा राष्ट्रिय निकुञ्ज हात्तीसारमा भिमाकलीलाई जन्माएकी  थिइन्  ।

हात्ती विज्ञ डा. अशोक रामले मत्तालाई यो ढोईको गर्भमा आफ्नो बच्चा छ भन्ने ज्ञान हुने भएकाले जहाँ भए पनि बच्चा जन्मने समयमै टुप्लुक्क आइपुग्ने बताए ।

‘गोविन्देलाई चित्रसेनकलीको गर्भमा आफ्नो  बच्चा छ भन्ने पहिले नै थाहा थियो र यतिबेला जन्मिछ भन्ने पनि ज्ञान भएकोले बच्चा जन्माउनु एक दिन अघि नै गोविन्दे प्रतापपुरमा आइपुगेको हो’ हात्ती विज्ञ डा. अशोक रामले भने ‘हात्तीको धेरै स्वभाव मानिसको जस्तै हुन्छ । हात्तीले जुनसुकै कारणले आफ्नो साथी वा परिवारका सदस्यहरूको मृत्यु भएमा मृत्यु भएको ठाउँसम्म पुगेर सतगत पनि गर्दछ ।’ सम्भवतः प्राणी जाती (विशेष गरी भाले प्रजाति) मा मानिसपछि आफ्नो सन्तानलाई चिन्ने हात्ती नै भएको पनि उनले बताए ।   ।

आगामी बुधवार  १२ औँ दिनको दिन चित्रसेनकलीको दोस्रो सन्तानको न्वारन र नामकरण गर्ने कार्यक्रम रहेको निकुञ्जले जनाएको छ । पर्सा राष्ट्रिय निकुञ्जभित्र हाल भिमाकली र उनको नवजात भाइसहित १३ वटा हात्ती छन् ।

निकुञ्जकी पशु चिकित्सक डा. चन्द्रकला रानाले ढोई र छावा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको बताएकी छिन् । ‘सुत्केरी ढोई र उसको छावालाई अन्य हात्तीले आक्रमण नगरोस् भनेर सुरक्षित ढङ्गले घेराबारा गरेर राखिएको छ भने ढोईको खानपानमा पनि विशेष ध्यान पु-याइएको छ,’ पशु चिकित्सक डा. रानाले भनिन् ।

सामान्यतया ढोईले गर्भधारण भएको २२ देखि २४ महिनामा छावा जन्माउने गर्छिन् । गर्भवती ढोईलाई बच्चा जन्माउने ३-४ महिनाअघिदेखि नै विशेष स्याहारसुसार र खानपानमा ख्याल राख्ने गरिन्छ । साथै सुत्केरी भएको एक वर्षसम्म निकुञ्जले निगरानी राख्ने पशु चिकित्सक डा. रानाले जनाएकी छिन् ।

‘ढोई सुत्केरी हुन ३-४ महिनाअघिदेखि नै बेलुका करिब २ केजी चना भिजाएर बिहान दानामा मिलाएर खुवाइन्छ भने सुत्केरी भएपछि पनि ३ महिनासम्म अन्य अवस्थामा भन्दा दोब्बर खुराक खुवाउनुपर्दछ’,  सुत्केरी ढोईको स्याहारसुसारमा खटिएका एक माउतेले भने ।

सामान्य अवस्थामा हात्ती ( मत्ता / ढोई )लाई दैनिक १५ किलो धान, डेढ किलो सख्खर, २५ ग्राम नुन मौसम अनुसारको घाँस परालमा मिलाएर खुवाइन्छ । तर, सुत्केरी ढोईको हकमा भने थप ७ किलो ५ सय ग्राम चामलको खिर, थप डेढ केजी सख्खर, डेढदेखि २ केजी भिजाएको चना र २० किलो उखु खुवाउने गरिन्छ । छावालाई १ वर्षसम्म पूर्ण रूपमा आमा (ढोई )को दूध मात्रै खुवाइन्छ भने दोस्रो वर्षदेखि सामान्य ठोस् कुराहरू खुवाइने निकुञ्जले जनाएको छ ।

हात्ती दूरदर्शी प्राणी भएको र एक ठाउँमा एक प्रजातिको खाना खाएर मलमूत्रको माध्यमबाट अर्को ठाउँमा पुर्‍याएर नयाँ बिरुवाहरू उत्पादन गर्न मद्दत पुर्‍याउने भएकोले यसलाई ‘ईकोलोजिकल ईन्जिनियर’ समेत भन्ने गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप