सुदूरपश्चिम प्रदेशमा माघीमा बिदा नदिइने
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले थारुहरुको सबैभन्दा ठूलो पर्व माघीमा यसवर्ष बिदा नदिने भएको छ । प्रदेश सरकार गठन भएयता माघ १ र २ गते प्रदेशभरि माघीमा सार्वजनिक बिदा दिँदै आएकोमा यसवर्ष कटौती गरेको हो ।
एक हप्ताअघि सार्वजनिक भएको प्रदेश सरकारको २०८० सालको सार्वजनिक बिदा सम्बन्धी सूचनामा प्रदेश सरकारले पाँच वटा पर्वमा बिदा दिने निर्णय गरेको उल्लेख छ । चैत २२ गते बसेको मन्त्रीपरिषद्को बैठकले प्रदेशमा मनाइने प्रमुख पर्वहरुमा बिदा दिने निर्णय गरेको सूचनामा उल्लेख छ ।
सो निर्णय अनुसार प्रदेशभर सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा हुने उल्लेख छ । प्रदेशभर भदौ १ गते ओल्के पर्व, भदौ ८ गते गौरा पर्व शनिवार परेको अवसरमा (थप एक दिन बिदा), भदौ ३१ गते थारुहरुको पर्व अटवारी, पुस २६ गते भुवा पर्व र चैत १९ गते खखडेहरा पर्वमा बिदा दिने निर्णय गरेको उल्लेख छ ।
सो राजपत्रमा भनिएको छ –‘खण्ड (क) मा तोकिए बमोजिमका बिदाको अतिरिक्त थप एक दिनको बिदा दिनुपर्ने भएमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको मन्त्रीस्तरिय निर्णयमार्फत प्रदेश राजपत्रमा सूचना प्रकाशन गरी बिदा दिने ।’