आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
१० शीर्ष समाचार

रातोपाटी ब्रिफिङ : टोपबहादुर जोगाउन ओलीको दौडधुप, रास्वपासँग प्रधानमन्त्रीको वार्ता

बिहीबार, २१ वैशाख २०८०, २३ : ०६
बिहीबार, २१ वैशाख २०८०

आज मिति २०८० साल वैशाख महिनाको २१ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ–
१. टोपबहादुर बचाउन ओलीको दौडधुप
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सचिव टोपबहादुर रायमाझीलाई जोगाउन दौडधुप थालेका छन् । बिहीबार भैरहवाबाट प्रहरीको नियन्त्रणमा आएका रायमाझीलाई जोगाउन ओलीले दौडधुप थालेका हुन् । सोहीअनुसार बिहीबार दिउँसो सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेका उनले यसबारे लामो संवाद गरेका छन् । तर, प्रचण्डले दोषीलाई कुनै हालतमा नछाड्ने जवाफ ओलीलाई फर्काएका थिए । 
रायमाझी प्रहरी नियन्त्रणमै रहेपनि प्रहरी अधिकारीले औपचारिक जानकारी गराएको छैन । 

२. प्रधानमन्त्रीको एक्सन
राजनीतिक नेतृत्वमा इच्छाशक्ति भएमा ठुलाले पनि भ्रष्टाचारका सम्बन्धमा छानबिनको दायरामा तानिनु पर्ने र कानुनी कारबाहीको भागिदार बन्नुपर्ने रहेछ भन्नेमा हालैका घटनाक्रम उदाहरणीय बनेर स्थापित भइरहेका छन् ।
त्यसो त, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व लिँदा भनेका थिए, ‘मेरा प्रमुख तीन प्राथमिकता छन् । पहिलो सामाजिक न्याय, दोस्रो सुशासन र तेस्रो समृद्धि ।’
यो उनको प्रधानमन्त्रीमा तेस्रो कार्यकाल हो । यो कार्यकालमा नराम्रो नगर्ने र राम्रोमात्र गर्ने उनको संकल्प छ । प्रधानमन्त्री प्रचण्डले गरेका संकल्पलाई दृढ राख्न बुधबारको घटनाले पनि थप बल पुगेको छ ।


प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गैरकानुनी रुपमा आर्थिक अनियमितता गर्ने भ्रष्टाचारीलाई नछाड्ने बताएका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको अनौपचारिक पदाधिकारी बैठकमा प्रचण्डले सरकारले भ्रष्टाचार, अनियमितता र गैरकानुनी काम गर्नेलाई नछाड्ने बताएका हुन् ।


यसैगरी नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि रास्वपालाई सरकारमा ल्याउनुपर्ने बताएका छन् ।  

३. सन्दीपलाई ३ दिन हिरासतमा राख्न अनुमति
जिल्ला अदालत काठमाडौँले पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । 
प्रहरीले सन्दीपलाई बिहीबार अदालतमा उपस्थित गराएर ३ दिनको म्याद दिएको हो । नेपालीलाई भुटानी नागरिक बनाएर अमेरिका पठाउने कार्यमा संलग्नताको आरोपमा प्रहरीले सन्दीपलाई बुधबार बुटवलबाट पक्राउ गरेको थियो ।

४. रास्वपासँग प्रधानमन्त्रीको वार्ता
रास्वपाका सभापति रवि लामिछानेसँग प्रधानमन्त्री प्रचण्डले बुधबार पनि वार्ता गरेका छन् । सो क्रममा लामिछानले आफू सुशासनका सवालमा प्रतिबद्ध रहेको भन्दै सरकारमा सहभागी हुन आग्रह गरेको बालुवाटार स्रोतले बताएको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले रविसँग वार्ता गर्न प्रधानमन्त्रीलाई नै जिम्मा दिएको थियो । 
रविले छलफलका क्रममा शुक्रबार बस्ने पार्टीको बैठकले यसबारेमा निर्णय लिने बताएका थिए ।
यस्तै माओवादी पदाधिकारीको बिहीबारको अनौपचारिक बैठकमा पनि रास्वपालाई सरकारमा सहभागी गराउनुपर्ने राय आएको छ । 

५. कांग्रेसमा असन्तुष्टि
मन्त्री सिफारिसका सन्दर्भमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आलोचना भएको छ । बिहीबार देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा सहमहामन्त्री जीवन परियारले मन्त्री छनोट समावेशी नभएको भन्दै सभापति देउवामाथि प्रश्न उठाएका हुन् ।

६. मन्त्रीको शपथ
नवनियुक्त तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले धनराज गुरुङलाई कानुन, न्याय तथा संसदीय मामिला, मोहन बहादुर बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीको शपथ खुवाएका छन् ।

७. मध्य वैशाखमा चिसो
जाडोयाम सकिएसँगै कतिपय सर्वसाधारणले थन्क्याएर राखिएका बाक्ला ज्याकेट, स्वेटर झिकेर फेरि लगाउन थालेका छन् । गर्मी हुने वैशाखको मध्य समयमा पनि मौसममा आएको परिवर्तनले चिसो महसुस गराएको छ । 
अरब सागरबाट आएको जलवाष्पयुक्त बायु र स्थानीय बायुको प्रभावका कारण विगत ३ दिनदेखि देशैभर हल्कादेखि मध्यमस्तरको वर्षा भइरहेको छ । वर्षासँगै तापक्रममा पनि फेरबदल भएको हो ।

८. गण्डकीका मुख्यमन्त्रीले पाए विश्वासको मत
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । बिहीबार प्रदेशसभाको बैठकमा उनले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो ।

९. सेयर बजार
लामो समयको अन्तरालपछि बिहीबार नेप्से सूचक १२ अंकमाथिले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको अन्तिम कारोबार दिन समेत रहेको आज नेप्से सूचक १२.७३ अंकले बढ्दै १८ सय ६९.७३ अंकको विन्दुमा उक्लिएको हो ।

१०. यो पनि ...
परराष्ट्रमन्त्री एनपी साउद संयुक्त अधिराज्य बेलायत प्रस्थान गरेका छन् । बेलायतका  राजा चाल्र्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन उनी आज बिहान त्यसतर्फ प्रस्थान गरेका हुन्  ।

सङ्घीय निजामती सेवा ऐनमा आफ्ना सुझाव सरकारले नमानेको भन्दै विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका विभिन्न कर्मचारी ट्रेड युनियनहरू विभाजित भएका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्री डा।बेदुराम भुसाल आज आफ्नै कार्यकक्षमा बस्न पाएनन् । नेपाल कृषि अनुसन्धान परिषद्का अध्यक्षसमेत रहेका मन्त्री भुसाल आज बिहान साढे १० बजे नै खुमलटारस्थित नार्कको कार्यालय पुगेका थिए । तर त्यहाँ रहेको उनको कार्यकक्षमा ताल्चा लागेको थियो ।

नेपाली कांग्रेसले पार्टीका महासमिति सदस्य तथा पोल्ट्री व्यवसायी शंकर कँडेलको मृत्यु प्रकरणको यथार्थ छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप