आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
चलचित्र

धमाधम फिल्म निर्देशनमा ‘कमब्याक’ गर्दै पुराना निर्देशक

शनिबार, २३ वैशाख २०८०, १७ : ०५
शनिबार, २३ वैशाख २०८०

काठमाडौँ । पछिल्लो समय फिल्म निर्माणमा नयाँ नयाँ कथाको खोज भएको छ, जसको श्रेय पछिल्लो समय उदाएका निर्देशकहरूलाई पनि जान्छ । कथामा विविधता भित्रिए पनि फिल्मको व्यवसाय भने दिन प्रतिदिन गिर्दो छ । यसको कारण हिट फिल्म दिएका पुराना र राम्रा फिल्म निर्देशक हराउनु पनि एक रहेको धेरैको ठम्याई छ । 

यसै क्रममा पुराना निर्देशक पनि कोही निर्देशनमा फर्किएका छन् भने केही फर्किने तयारीमा छन् । हिट फिल्म दिएका निर्देशक को के गर्दैछन् त ? रातोपाटीले केही निर्देशकको खोजीनिती गरेको छ ।

युवराज लामा 

कलाकार, निर्माता, निर्देशक युवराज लामा पछिल्लो धेरै समय विभिन्न खेलकुदसम्बन्धी कार्यक्रममा व्यस्त छन् । राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवसमेत भएका उनी अहिले नेपाल कराँते महासंघका अध्यक्ष पनि हुन् ।

लामाले फिल्म निर्देशन नगरेको १५ वर्ष भइसक्यो । २०६५ मा आएको ‘धर्मात्मा’पछि उनले कुनै पनि फिल्म निर्देशन गरेका छैनन् । 

देश परदेश, खेलौना, धर्मपुत्र, प्रतिज्ञा, देउराली, देवदूत, मुस्कान लगायत १७ फिल्म निर्देशन गरेका लामा निर्देशनमा फर्किने तयारीमा छन् । 

तर उनी फिल्म निर्देशनको सम्पूर्ण तयारी गरेर पनि रोकिएका छन् । बजार राम्रो नभएकोले केही समय पर्खिएको अवस्था रहेको उनले बताए । छिट्टै फिल्मको छायाङ्कनमा जाने अनि फिल्मको विस्तृत जानकारी औपचारिक कार्यक्रम गरेरै सार्वजनिक गर्ने तरखरमा छन् उनी । 

तुलसी घिमिरे 

तुलसी घिमिरेको निर्देशन रहेको फिल्म नआएका करिब ७ वर्ष भयो । २०७३ मा निर्माण गरेको ‘दर्पण छाया २’ पछि उनको कुनै फिल्म आएको छैन । 

बाँसुरीबाट निर्देशनमा देखिएका घिमिरेले कुसुमे रुमाल, अन्याय, लाहुरे, चिनो, दुई थापा आँसु, कोसेली, दक्षिणा, देउता, दर्पण छाया लगायतका करिब २ दर्जन फिल्म निर्देशन गरेका छन् । घिमिरेका थुप्रै फिल्मले प्रदर्शनको ५१ औँ र १००औँ दिन मनाउन सफल छ । 

पछिल्लो समय केही वृत्तचित्र निर्माणमा गरिरहेका उनी पनि एक फिल्म निर्देशन तयारी  गरिरहेको बताउँछन् ।

नारायण पुरी 

शङ्कर, सौता, महादेवी, सान्नानी, रगत जस्ता एक समय एकपछि अर्को गर्दै थुप्रै हिट फिल्म दिएका निर्देशक नारायण पुरीको पनि ‘अल्पविराम’ पछि कुनै पनि फिल्म आएको छैन । 

उनको पनि निर्देशनमा धेरै समय ग्याप भएको छ । अहिलेसम्म २९ फिल्म निर्देशन गरेका पुरीका थुप्रै फिल्मले प्रदर्शनको ५१ औँ दिन मनाउन सफल छन् । 

थुप्रै टेलिसिरियल, ८० भन्दा बढी डकुमेन्ट्री बनाएका पुरीको केही समय अमेरिका बसाइँ, वृत्तचित्र निर्माण र केही टेलिभिजनसँग सहकार्यको कारण निर्देशनमा ग्याप भएको हो । 

पुरी अहिले भने फिल्मको तयारीमा छन् । उनको एक फिल्म अन्तर्राष्ट्रिय फेस्टिभल लक्षित छ भने अर्को कमर्सियल । फिल्मको भदौबाट फिल्म सुटिङ गर्ने तयारीमा छन् उनी । साथै, सरकारसँग मिलेर पर्यटन प्रवर्द्धन गर्ने फिल्म फेस्टिभल पनि गर्ने तयारी उनको छ । 

नरेश पौड्याल 

नरेश पौड्याल पछिल्लो समय फिल्म निर्देशनभन्दा पनि अभिनयमा व्यस्त छन् । अहिले ‘आउट ल’ फिल्म अभिनय तरखरमा रहेका उनको अभिनय रहेको फिल्म गत वर्ष प्रेमगञ्ज, महापुरुष, ह्यारीकी प्यारी थिए ।

अपराध, धर्म, चुनौती, हिरो, कस्तो साइनो, यस्तै रहेछ जिन्दगी, धड्कन, अभिमन्यु, दीपशिखा जस्ता फिल्म निर्देशन गरेका पौडेल १३ वर्षदेखि फिल्म निर्देशनबाट बाहिर छन् ।

अहिले उनी ‘धड्कन २’ मार्फत निर्देशनमा फर्किने तयारीमा छन् । फिल्मको लेखन र गीतसंगीतको काम भइरहेको छ । भदौ, असोजमा फिल्म फ्लोरमा लैजाने योजना रहेको उनले सुनाए ।

दयाराम दाहाल 

निर्देशक दयाराम दाहालको पनि फिल्म नआएको ६ वर्ष भयो । ‘रानी’ पछि उनको कुनै पनि फिल्म आएको छैन । 

‘भरिया’ बाट फिल्म निर्देशनमा होमिएका उनले ‘दौँतरी, ठूल्दाइ, चाँदनी, जंगे, ढुकढुकी, तँ त साह्रै बिग्रिस् नि बद्री, भरिया, दाइजो, जेठ कान्छो, अग्निज्वाला, भाग्यविधाता, दोबाटोलगायत थुप्रै हिट फिल्म दिए ।

४० फिल्म निर्देशन गरेका उनी चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष हुन् । केही वर्ष चलचित्र विकास बोर्ड, केही पुस्तक लेखन र केही आन्तरिक काममा अल्झिएकोले फिल्म निर्देशनमा ग्याप भएको उनी बताउँछन् ।

‘पहिलेदेखि नै एक फिल्मको काम गरिरहेको थिएँ । त्यो आगामी भदौ, असोजबाट फ्लोरमा लैजाने तयारी छ,’ उनले भने ।

मदन घिमिरे 

निर्देशक मदन घिमिरे अहिले जापानमा छन् । पारिवारिक भेटघाट र घुमघामको उद्देश्यले उनी केही महिनाअघि जापान पुगेका हुन् ।

‘डन’, ‘दादागिरी’, ‘मिस्टर डन’ लगायत थुप्रै हिट फिल्म दिएका घिमिरे पछिल्लो समय ‘आँधी तुफान २’ मा देखिए । उनी अहिले फिल्म ‘दौड’ निर्माणमा जुटेका छन् । जुन चलचित्र विकास बोर्डमा दर्तासमेत गरिएको छ ।

हरेक मानिसले दैनिक जीवन जिउने क्रममा केही न केही दौड गरिरहेको हुन्छ । त्यही विषयलाई सिम्पल तवरबाट उनले फिल्ममा पस्किन लागेका हुन् । जापानबाट फर्किएपछि यो फिल्मको काम अगाडि बढ्ने उनले बताए ।

ज्ञानेन्द्र देउजा 

निर्देशक ज्ञानेन्द्र देउजा अहिले केही फिल्म निर्देशन गर्ने तयारीमा छन् । गत वर्ष रिलिज भएको हिट फिल्म ‘झिँगे दाउ’ मार्फत १२ वर्षपछि निर्देशनमा फर्किएका देउजासँग तीन फिल्म हातमा छ । 

अभिनेत्री रेखा थापाले निर्माण गर्ने एक फिल्म, ‘हिफाजत २’ र ‘जेलब्रेकर’ उनका आगामी तीन फिल्म हुन् । रेखाको फिल्मको लेखनकार्य भइरहेको छ । ‘हिफाजत २’ उनको हिट फिल्म ‘हिफाजत’को सिक्वेल हो । ‘जेलब्रेकर’ छविराज ओझाले बनाउन लागेका हुन् ।

गोर्खाली, कुरुक्षेत्र, मुनामदन, देवरबाबु, हिफाजत जस्ता हिट फिल्म दिएका देउजा तीनै फिल्म छिट्टै गर्ने बताउँछन् ।

राजेन्द्र उप्रेती 

सिलसिला, गिरफ्तार, भरोसा, जय शिव शङ्कर, निगरानी, मनमनै मनपराएँ जस्ता थुप्रै हिट फिल्म दिएका छन् निर्देशक राजेन्द्र उप्रेतीले । उनी पनि निर्देशनमा फर्किने तरखरमा छन् । 

सुरेश हमालले बनाउन लागेको एक फिल्म उनले छिट्टै निर्देशन गर्दैछन् । गीत तथा कथाको काम भइरहेको फिल्मको नाम भने अहिले गोप्य राखिएको छ । फिल्मको छायाङ्कन असोजबाट गर्ने सोच उनको छ । 

उनी फिल्म निर्देशनबाट ग्यापको समय एसटिसी अटो नामक अटोमोबाइलको व्यवसायमा आबद्ध छन् । उनी १२ वर्षपछि निर्देशनमा देखिन लागेका हुन् ।

दीपक श्रेष्ठ 

दीपक श्रेष्ठ केही समय अगाडि मात्र ‘घिन्ताङ’मार्फत निर्देशनमा फर्किएका छन् । ‘घिन्ताङ’ ९ वर्षपछि उनले निर्देशन गरेका हुन् । ‘घिन्ताङ’ मार्फत उनले अन्तरजातीय प्रेमकथा पस्किएका छन् । फिल्म प्रदर्शनको तयारीमा छ । अब नियमित फिल्म निर्देशन गर्ने उनको सोच छ ।

गाउँले, दुःख, जीवनसाथी, राम–लक्ष्मण, पापी मान्छे, पर्खी बसेँ, हिम्मत, वाचा जस्ता थुप्रै हिट फिल्म दिएका श्रेष्ठ सञ्चारकर्मी पनि हुन् । 

रमेश बुढाथोकी 

रमेश बुढाथोकी पनि करिब ७ वर्षदेखि फिल्म निर्देशन बाहिर छन् । अभिनयमा भने उनको सक्रियता बढ्दो छ । उनको पछिल्लो समय ‘ग्याम्लर एक जुहाडे’ आएको थियो ।

दर्जन फिल्म निर्देशन गरेका बुढाथोकीले कोरोना सुरु हुनु अगाडि एक फिल्म फ्लोरमा लैजानै लागेको थिए । कोरोनाको कारणले त्यो समय फिल्म छायाङ्कन हुन सकेन । त्यसपछि विषय पुराना भएकोले नयाँ विषयको खोजीमा लागे ।

राम्रो विषय र कथा पाए फिल्म गरिहाल्ने बुढाथोकीको सोच छ । उनले ३ सय हाराहारी सिरियलसमेत निर्देशन गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप