आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
प्रदेश

कृषि एम्बुलेन्स : किसानका बारीदेखि बजारसम्म

सोमबार, २५ वैशाख २०८०, १३ : २३
सोमबार, २५ वैशाख २०८०

धनगढी । एम्बुलेन्स भन्ने बित्तिकै धेरैले बिरामी अस्पताल पुर्‍याउने सवारी साधन भनेर बुझ्छन् । तर कैलालीका आम मानिसले अहिले फरक ढङ्गले बुझ्ने गरेका छन्– बिरामी बोक्ने एम्बुलेन्स र कृषि एम्बुलेन्स । 

कैलालीको पूर्वी क्षेत्रमा ‘कृषि एम्बुलेन्स’ निकै चर्चित छ । यसले स्थानीय किसानले उत्पादन गरेको तरकारी बजारसम्म पु¥याउने काम गर्दै आएको छ । कृषकका खेतबारीमा उत्पादित कृषिउपजलाई बिक्रीका लागि बजारसम्म पुर्‍याउने भएकाले यसलाई उनीहरूले ‘कृषि एम्बुलेन्स’ नाम दिएका हुन् । पेट्रोलियम पदार्थबाट सञ्चालन हुने यी ती पाङ्ग्रे साधनमा ‘कृषि एम्बुलेन्स’ लेखिएको छ ।

केही समयअघिदेखि कृषि एम्बुलेन्स चलाउन थालेका टीकापुर नगरपालिका–७, बेलुवाका गोलुराम चौधरी टीकापुर र आसपासका स्थानीय तहमा निकै चर्चित छन् । सुरुमा चौधरीले आफ्नो बारीमा उत्पादन भएको तरकारी कृषि एम्बुलेन्समा राखेर बजार लगेर बेच्थे । तर अहिले छिमेकी पालिकाका किसानले उत्पादन गरेको तरकारीसमेत जम्मा गरेर बजारसम्म ढुवानी गर्छन् । 

विगत तीन वर्षदेखि पाँच कट्ठा जमिनमा व्यावसायिक तरकारी खेती गर्दै आएका चौधरीले दुई वर्षअघिदेखि कृषि एम्बुलेन्स पनि सञ्चालन गरेका हुन् । “यो वर्ष पाँच कट्ठामा लौका मात्रै लगाएको छु,” गोलुरामले भन्छन्, “अहिले अरू किसानले उत्पादन गरेको तरकारी किनेर बजार लैजान्छु । किसानबाट लगेको तरकारी खुद्रा व्यापारीलाई बेच्छु । कहिलेकाहीँ घरघरमा गएर समेत बेच्छु । साथै हाटबजार लगेर पनि तरकारी बेच्ने गरेको छु ।”

कृषि एम्बुलेन्स सञ्चालन भएका कारण टीकापुरका किसानहरूको उत्पादनले सहज रूपमा बजार पाएको छ । घोडाघोडी नगरपालिका–८, आमफाँटाकी किसान रेखा चौधरीले कृषि एम्बुलेन्सले आफूले उत्पादन गरेको तरकारी बेच्ने गरेको बताइन् । आमफाँटाका सात किसान परिवारले उत्पादन गरेको तरकारी बारीमै खरिद गरी कृषि एम्बुलेन्सले बजार लैजाने गरेको उनले बताइन् । रेखाले प्रत्येक सिजनमा ७०  देखि ७५ हजार रुपैयाँसम्मको तरकारी घरैबाट बिक्री गर्ने गरेकी छन् । 

आमफाँटाका स्थानीय जग्गु चौधरीले सञ्चालन गरेको कृषि एम्बुलेन्सले दैनिक ५० देखि ९० किलोसम्म तरकारी बिक्री गर्छ । चौधरीले किसानसँग तरकारी खरिद गरी उपभोक्ताका घर घरमै पुर्‍याएर बिक्री गर्ने गरेको बताए । 

यस्तै घोडाघोडी नगरपालिका–२, साँडेपानीका चाँदसुरज चौधरीले पनि कृषि एम्बुलेन्स सञ्चालन गरी मनग्य आम्दानी गर्न थालेका छन् । एक वर्षदेखि यो पेसामा आबद्ध रहेका उनले मासिक ६० देखि ७० हजार रुपैयाँसम्म आम्दानी हुने बताए । खर्च कटौती गरी मासिक २०–२५ हजार रुपैयाँ नाफा हुने उनको अनुभव छ । 

कृषि उत्पादनलाई बजारीकरण गर्न कृषि एम्बुलेन्सले सहयोगी भूमिका निर्वाह गरेको छ । तर कृषि एम्बुलेन्स यातायात कार्यालयमा दर्ता गर्ने व्यवस्था नभएकाले सडकमा चलाउन गाह्रो रहेको चाँदसुरजले बताउँछन् । ट्राफिकले पटक पटक एम्बुलेन्स नलेख्नू भनेर उनलाई चेतावनी दिने गरेको बताए ।

पछिल्लो समय केही गैरसरकारी संस्थाको सहयोगमा कैलालीका करिब आठ जना युवाले कृषि एम्बुलेन्स सञ्चालन गरिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप