आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपालीलाई भुटानी शरणार्थी बनाउने हर्कतमा संलग्नलाई कारवाही गर्न माग

मङ्गलबार, २६ वैशाख २०८०, १७ : ०२
मङ्गलबार, २६ वैशाख २०८०

काठमाडौँ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने हर्कतमा संलग्नहरुलाई कारवाही गर्न सरकार समक्ष माग गरेको छ । सो पार्टीका प्रवक्ता कञ्चनले मंगलबार विज्ञप्ति जारी गर्दै सरकारको नेतृत्व गर्दै आएका पार्टीका नेताहरु, पूर्व मन्त्रीहरु तथा सरकारका उच्चपदस्थ कर्मचारी जोसुकै संलग्न भएपनि उनीहरु कारवाहीको भागीदार हुनुपर्ने जनाएका छन् ।

‘आर्थिक लाभका निमित्त आफ्नो देशका नागरिकलाई अर्कै देशको शरणार्थी बनाउने र तेस्रो देशमा पठाउने काममा सरकार नै संलग्न हुनु नेपालको इतिहासमा आजसम्मकै सबैभन्दा लज्जास्पद परिघटना हो’, विज्ञप्तिमा भनिएको छ, ‘यो आर्थिक अपराध मात्र होइन गम्भीर राष्ट्रघात तथा जनघात पनि हो । यस घटनामा संलग्न अपराधीहरु जो कोही भएपनि तिनलाई कडाभन्दा कडा कार्बाहीको भागी बनाउन हाम्रो पार्टी सरकारसँग जोडदार माग गर्दछ ।’

सो पार्टीले सत्तासिनहरुको आपसी भागबन्डा नमिलेको र तिनका बीचको अन्तर्विरोध चर्केका कारण यसपटक यो घटना बाहिर आएको भन्दै यस्ता काण्डहरु हिजो पनि भएका र यो व्यवस्था रहेसम्म भोलि पनि दोहोरिँदै जाने कुरा निश्चित भएको जनाएको छ । ‘यस प्रकारको बेथितिबाट मुक्ति पाउने एकमात्र उपाय भनेको नोकरशाही तथा दलाल पुँजीवादी सत्ता तथा व्यवस्थाको अन्त्य र त्यसको स्थानमा नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना हो’, सो पार्टीले भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप