त्रिविका आंशिक शिक्षक ललित विष्ट निलम्बित
मङ्गलबार, २६ वैशाख २०८०, १८ : ४३
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आंशिक शिक्षक ललित विष्ट निलम्बनमा परेका छन् । त्रिवि समाजशास्त्र विभागका प्रमुख युवराज लुइँटेलमाथि आक्रमण गर्ने विष्टलाई मंगलबार निलम्बन गरिएको हो ।
आफूलाई करार शिक्षकमा नियुक्त नगरेको भन्दै विष्टले आक्रमण गरेको विभागीय प्रमुख लुइँटेलले बताएका थिए ।
आंशिक शिक्षकहरूलाई करारमा लैजान मिल्ने गरी केही समय अगाडि आंशिक शिक्षक व्यवस्थापन कार्यविधि बनेको थियो । त्यही अनुसार अहिले तीन जना शिक्षकलाई करारमा लैजाने प्रक्रिया सुरु भएको थियो ।
तर, विष्टले आफूलाई करारमा लैजानुपर्ने भन्दै दबाब दिनुका साथै आक्रमण गरेको लुइँटेलले आरोप लगाएका थिए । लुइँटेलले प्रहरीमा विष्टविरुद्ध किटानी जाहेरी दिएका थिए ।