आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अर्थतन्त्र

जीडीपीमा योगदान बढाउँदै जलविद्युत क्षेत्र

तीन क्षेत्रको वृद्धिदर ऋणात्मक रहँदा जलविद्युततर्फको वृद्धि सबैभन्दा धेरै
बुधबार, २७ वैशाख २०८०, ०६ : ४०
बुधबार, २७ वैशाख २०८०

काठमाडाैँ । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशीले उत्पादन थालेपछि कूल गार्हस्थ उत्पादन (जीडीपी)मा जलविद्युत क्षेत्रको प्रभाव बढ्न थालेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीले व्यवसायिक उत्पादन थालेपछि गत वर्षदेखि नै जीडीपीमा जलविद्युतले प्रभावशाली योगदान बढ्न सुरु गरेको हो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार लगातार दोस्रो वर्षमा उद्योगतर्फ जलविद्युत क्षेत्रको सबैभन्दा उच्च वृद्धिदर भइरहेको छ । राष्ट्रिय गौरव आयोजनाहरुको सूचीमा समेटिएको माथिल्लो तामाकोशीले २०७८ असार २१ गतेदेखि उत्पादन सुरु गरेको थियो । यो आयोजनाबाट बिजुली उत्पादन सुरु भएपछि नेपालको वर्षायामको सम्पूर्ण माग धानेर भारततर्फ निर्यातसमेत गर्न पुग्ने बिजुली बनेको थियो । 

यससँगै, अन्य आयोजनाहरुबाट समेत उत्पादन सुरु भएपछि गत आर्थिक वर्ष २०७८-७९ मा नेपालको कूल जडित क्षमता २ हजार मेगावाट आसपास पुगेको थियो । गत आर्थिक वर्ष नेपालको जीडीपीमा जलविद्युत क्षेत्रले प्रभावशाली योगदान गरेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा जलविद्युत क्षेत्रको वृद्धिदर ५३.३५ प्रतिशत थियो । 

कार्यालयले सार्वजनिक गर्ने जीडीपीको तथ्याङ्कमा १८ वटा क्षेत्र छन् । त्यसमध्ये गत आर्थिक वर्ष जलविद्युत क्षेत्रको वृद्धिदर ५३ प्रतिशतभन्दा धेरै भएको थियो । 
यस्तै, चालू आर्थिक वर्षको अन्तिमसम्ममा नेपालको कूल जडित क्षमता ३ हजार मेगावाट आसपास पुग्ने नेपाल विद्युत् प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ बताउँछन् ।

माथिल्लो तामाकोशीले उत्पादन थालेसँगै अन्य आयोजनाहरुसमेत आइरहेका छन् । यससँगै, नेपालको बिजुुली उत्पादन क्षमतासमेत बढेको छ । यहीकारण, नेपाल कम्तिमा ७–८ महिना बिजुलीमा आत्मनिर्भर बन्न थालेको छ भने सोही समयमा भारततर्फ निर्यात समेत थालेको छ । 

चालू आर्थिक वर्षमा भारततर्फ ११ अर्ब रुपैयाँको बिजुली निर्यात भइसकेको छ । गत वर्षको तुलनामा बिजुली उत्पादन बढेको कारणले पनि जीडीपीको आधार मूल्यमा जलविद्युत क्षेत्रको वृद्धिदर उच्च रहने भएको हो ।

चालू आर्थिक वर्षको अन्त्यसम्म नेपालको जीडीपी ५३ खर्ब ८१ अर्ब रुपैयाँ पुग्ने कार्यालयले जनाएको छ । तर, यस्तो अवस्थामा राष्ट्रिय तथ्याङ्क कार्यालयले तय गरेका १८ वटा क्षेत्रमध्ये तीन वटा क्षेत्रको वृद्धिदर ऋणात्मक बन्नेछ । 

चालू आर्थिक वर्षको फागुन मसान्तसम्म प्राधिकरणका आयोजनाबाट १ हजार ९४४ गिगाआवर बिजुली उत्पादन भइसकेको छ । यस्तै, प्राधिकरणका सब्सिडरी कम्पनी र निजी क्षेत्रबाट ५ हजार २८६ गिगाआवर बिजुली उत्पादन भएको छ । 

यसमध्ये चालू आर्थिक वर्ष जीडीपीमा सबैभन्दा धेरै वृद्धिदर १९.३६ प्रतिशत जलविद्युततर्फको रहने छ । तथ्याङ्क कार्यालयले नेपाल विद्युत प्राधिकरणसँग बिजुली उत्पादन, आयात र खपतको तथ्याङ्क मागेर चालू आर्थिक वर्षमा कति योगदान रहने भन्ने तथ्याङ्क तयार पारेको निर्देशक ईश्वरी प्रसाद भण्डारीले बताए ।

‘विद्युत प्राधिकरणले उपलब्ध गराएको गत वर्ष र चालू वर्षको बिजुली उत्पादनको तथ्याङ्क केलाउँदा आएको तथ्याङ्क नै जीडीपीमा जलविद्युत क्षेत्रको योगदान हुने हो,’ भण्डारीले भने, ‘यहीअनुसार नै हामीले जीडीपीमा जलविद्युततर्फको योगदानको तथ्याङ्क आएको हो ।’ 

चालू आर्थिक वर्षको फागुन मसान्तसम्म प्राधिकरणका आयोजनाबाट १ हजार ९४४ गिगाआवर बिजुली उत्पादन भइसकेको छ । यस्तै, प्राधिकरणका सब्सिडरी कम्पनी र निजी क्षेत्रबाट ५ हजार २८६ गिगाआवर बिजुली उत्पादन भएको छ । 

बिजुली उत्पादन र जीडीपीमा जलविद्युत क्षेत्रले दिने योगदानसमेत वृद्धि हुँदा यसबाट प्रतयक्ष रुपमा नेपालको अर्थतन्त्रसमेत प्रभावित बन्छ । नेपालको बिजुली उत्पादन बढ्दा जीडीपीमा ८६ रुपैयाँसम्म मूल्यअभिवृद्धि हुने प्रतिवेदन रहेको ऊर्जा उद्यमी सूर्यराज अधिकारी बताउँछन्

। 

‘चालू आर्थिक वर्षको अन्त्यसम्म बिजुली उत्पादन (गिगाआवरमा) झनै बढ्छ र यो गत वर्षको तुलनामा धेरै हुन्छ,’ भण्डारीले भने, ‘यही कारण चालू आर्थिक वर्षमा जलविद्युतले दिने योगदान १९ प्रतिशतले वृद्धि हुने अपेक्षा छ ।’

बिजुली उत्पादन र जीडीपीमा जलविद्युत क्षेत्रले दिने योगदानसमेत वृद्धि हुँदा यसबाट प्रतयक्ष रुपमा नेपालको अर्थतन्त्रसमेत प्रभावित बन्छ । नेपालको बिजुली उत्पादन बढ्दा जीडीपीमा ८६ रुपैयाँसम्म मूल्यअभिवृद्धि हुने प्रतिवेदन रहेको ऊर्जा उद्यमी सूर्यराज अधिकारी बताउँछन् । 

‘सन् २००० भन्दा अघि नै एउटा विदेशी संस्थाले गरेको अध्ययन अनुसार १ यूनिट बिजुली खपत हुँदा जीडीपीमा ८६ रुपैयाँसम्मको मूल्यअभिवृद्धि हुने देखिएको थियो,’ अधिकारी भन्छन्, ‘तर, नेपाल सरकारको कुनै पनि निकायले कति बिजुली खपत हुँदा जीडीपीमा कति योगदान बढ्छ भनेर अध्ययन गरेको छैन ।’ 

यसको अर्थ नेपालमा उत्पादित जलविद्युत तर्फको वृद्धिदर बढ्दा र आयातित वस्तुको प्रतिस्थापनसँगै जीडीपीमा उच्च योगदान रहने पुष्टी हुन्छ ।

नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक सागर ज्ञवाली जलविद्युत क्षेत्र महामारीको समयमा पनि प्रभावित नबन्ने भएकाले यस वर्ष सबैभन्दा धेरै वृद्धिदर भएको हुन सक्ने बताए । 

कोभिड–१९ महामारीको समयमा पनि उत्पादन नरोकिने र बजार पाइरहेको तथा रुस–युक्रेन युद्धका कारण माग झनै बढ्न थालेको जीडीपीमा प्रभावशाली योगदान सुरु भएको हुन सक्ने ज्ञवालीले बताए । 

‘रुस–युक्रेन युद्धका कारण बिजुलीको खपत घट्ने वा माग बढ्ने भन्ने हुँदैन,’ ज्ञवाली भन्छन्, ‘यही समयमा निरन्तर उत्पादनसमेत बढिरहेको छ । यही भएर उच्च वृद्धि दर भएको हुन सक्छ ।’ 

३ क्षेत्र खुम्चिँदा जलविद्युतको सबैभन्दा धेरै वृद्धि
तथ्याङ्क कार्यालयले चालू आर्थिक वर्षमा १८ वटा क्षेत्रमा बाँडिएका विभिन्न उद्योगमध्ये ३ क्षेत्रका उद्योगको वृद्धिदर भने ऋणात्मक बन्ने देखाएको छ । 

जलविद्युत क्षेत्रको वृद्धिदर १९.३६ प्रतिशत हुँदा यसपछि फूड सर्भिस क्षेत्रको वृद्धिदर १८.५६ प्रतिशत रहनेछ । यसपछि, कृषि तथा वनजंगल क्षेत्रको वृद्धिदर २.७३ प्रतिशतले बढ्नेछ भने खानी क्षेत्रमा १.११ प्रतिशतको वृद्धिदर देखिनेछ । उत्पादनमूलक क्षेत्रको  वृद्धिदर २.०४ प्रतिशत ऋणात्मक रहने कार्यालयले जनाएको छ ।

यसैगरी, खानेपानी क्षेत्रको वृद्धिदर २.१६ प्रतिशत रहँदा निर्माण क्षेत्रको वृद्धिदर २.६२ प्रतिशतले ऋणात्मक रहने छ । होलसेल र रिटेल क्षेत्रका वृद्धिदर समेत २.९६ प्रतिशतले ऋणात्मक रहने छ भने यातायात क्षेत्रबाट जीडीपीमा योगदान १.१४ प्रतिशत रहनेछ । 

यस्तै, चालू आर्थिक वर्षमा सूचना प्रविधि क्षेत्रको वृद्धिदर ४.०७ प्रतिशत रहँदा वित्त क्षेत्रको वृद्धिदर ७.२९ प्रतिशत, रियल स्टेटको २.१७, विज्ञान तथा प्राविधि क्षेत्रको ४.३० प्रतिशत, सेवा क्षेत्रको ५.०१ प्रतिशत, रक्षा क्षेत्रको ५.३० प्रतिशत, शिक्षाको ४.०७ प्रतिशत र स्वास्थतर्फको वृद्धिदर ६.५१ प्रतिशत रहनेछ । 

यस्तै, आर्ट तथा मनोरञ्जन क्षेत्रबाट जीडीपीमा ५.२१ प्रतिशत वृद्धिदर रहँदा समग्र उद्योगतर्फको वृद्धिदर २.१६ प्रतिशत रहने कार्यालयले जनाएको छ ।
यसअनुसार चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर आधार मूल्यमा २.१६ प्रतिशत मात्रै रहने कार्यालयको तथ्याङ्क छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप